ठूला सपना नबाँड

0
562

अन्तिम हप्तामा प्रवेश गरेको स्थानीय तहको निर्वाचनमा सहभागी दल तथा उम्मेदवारहरु मतदातालाई सपना बाँड्न व्यस्त छन् । त्यसो त बहुदलीय व्यवस्थामा उम्मेदवारभन्दा दलको सपना प्रमुख हुन्छ, तर स्थानीय आवश्यकताका आधारमा सबै उम्मेदवार तथा एउटै दलको पनि फरक–फरक घोषणा पत्र हुन्छन् । त्यसैलाई प्रतिबद्धतापत्र पनि भनिएको छ, जसमा दल वा उम्मेदवारले आफूले जिते आफ्ना प्रमुख प्राथमिकताका विवरण प्रस्तुत गरिएका हुन्छन् । प्रजातन्त्रको सौन्दर्य भन्ने गरिन्छ निर्वाचनलाई, जो सचेत मतदाता र जिम्मेवार राजनीतिक दलहरुको विशेषता नै हो । तर, हामीकहाँ राजनीतिक दलहरु नै उत्तरदायीपूर्ण देखिएका छैनन् भने मतदातालाई सचेत गराउने शिक्षाकै खाँचो छ । त्यहीकारण विगतमा गरिएका प्रतिबद्धता कति कार्यान्वयन भए त्यसको लेखाजोखा राख्ने गरिएको छैन र फेरि पनि त्यस्तै सपना साँचेर मतदान गर्ने मानसिकता बनाइन्छ ।

महादान भनिन्छ मतदानलाई । निर्वाचित जनप्रतिनिधि मतदाताका लागि मात्र होइन सबै स्थानीयबासीका साझा सेवक हुनुपर्छ । तर, हामी कहाँ निर्वाचित प्रतिनिधि ‘मालिक’ बन्ने संस्कृति हुर्किएको छ । त्यसैले निर्वाचन जसरी पनि जित्ने होड चल्छ र पवित्र निर्वाचनको संस्कृति विकृत बन्दै जाँदैछ । यही समय हो जनप्रतिनिधि बन्न खोज्ने व्यक्ति वा दलले स्थानीयबासीको दैन्दिनी सहज बनाउने घोषणा मात्र होइन ‘भाकल’ नै गर्नुपर्ने बेला । खानेपानी, विद्यालय, स्वास्थ्य, शौचालय, सरसफाईदेखि रोजगारीसम्मका विषय प्राथमिकतामा पर्नुपर्ने हो । प्रकृतिले निःशुल्क प्रदान गरेको हावा, पानी र पृथ्वीमाथिको अतिक्रमण र दोहन रोकेर सम्पूर्ण प्राणी र वनस्पति जगतको रक्षा गर्ने प्रतिबद्धता धरातलीय आवश्यकता हो ।

जथाभावी प्रकृति विनास भइरहेको छ, जंगल मासिएको छ । पानीका मुहान सुकेका छन्, उर्वर जमिन बञ्जरभूमिमा परिणत हुँदै गएका छन् । सक्षम जनशक्ति विदेश पलायन भएका छन् । भएका उद्योगधन्दा बन्द छन्, सक्षम युवा वेरोजगार छन्, भुइँमान्छेहरुलाई हात–मुख कै संकट छ । यी सबै अभाव, बेथिति र आवश्यकतालाई सम्बोधन गर्न सक्ने दृष्टिकोणसहितको कार्ययोजना चाहिएको छ स्थानीय तहलाई । त्यसैले उम्मेदवारबाट पानी, सरसफाई, शौचालय, सहज सेवा, स्वास्थ्यसेवा र शिक्षाको पहुँचको अपेक्षा गरिएको छ । योसँगै दिगो विकास, पर्यावरणीय सन्तुलन, रोजगारीको अवसर, सुशासन र सुरक्षाको प्रत्याभूति स्थानीय तहका उम्मेदवारले दिउन्, जनताको जीवन सुरक्षित र सहज होस् यति मात्रैले पनि स्थानीयबासीको मुहार उज्यालिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here