नेपालको संविधानको धारा ९ को (३) मा नेपालको राष्ट्रिय जनावर गाई भन्ने देखिएको छ । वैदिक सनातन धर्म, संस्कृति र परम्परामा ‘गाईलाई लक्ष्मी मानेर तिहारको लक्ष्मी पूजामा पूजा गरिन्छ भने गोवद्र्धन पूजामा गोरुलाई पूजा गरिन्छ । त्यहीकारण गैर धर्म र परम्परा मान्नेले पनि गाई–गोरुको संरक्षण गर्नुपर्छ’ भन्ने संविधानको निर्देशन विपरीत नेपालमा हिजोआज गोवंशको हत्या गर्ने गरेका घटना बढ्दै गएका छन् । विगतमा सर्वोच्च अदालतमा परेको उजुरीको फैसला गर्दै उसले– ‘नेपालमा जन्मिएका वा रहेका सम्पूर्ण गाईहरु नेपालको संविधानले चिनेको जनावर हो । हामी प्रत्येक नेपालीको धार्मिक तथा सांस्कृतिक भावनासँग जोडिएको छ । यस्तो अवस्थामा विपक्षहरुले पनि गाई तथा गोवंशकै संरक्षण, व्यवस्थापन, आदर र सत्कार गर्नुपर्ने दायित्व रहन्छ’ भनेको छ ।
गाईको दूध धार्मिक, व्यावसायिक तथा व्यक्तिगत रुपमा प्रयोग गरिरहेका छौं । परम्परादेखि नै गाईलाई माता मान्ने गाईको गउँत पूजाआजा गर्दा वा शुद्ध हुने प्रयोजनमा पनि प्रयोग गर्छौं । त्यहीकारण गाईलाई गोडाले छुनु हुँदैन, मार्नु हुँदैन र काटेर मासुका रुपमा प्रयोग गर्नुहुँदैन भनेर सनातनदेखि नै हिन्दू परम्परा अनुसार सम्मान गर्दै आएका छौं । त्यहीकारण गाईगोरुलाई काट्न कानूनले नै प्रतिबन्ध लगाएको छ । त्यसैले गाईगोरु कानूनतः संरक्षित पशु हो भन्ने सिद्धान्त स्थापित छ । तर, पनि देशलाई धर्म निरपेक्ष बनाइएपछि संविधानद्वारा वर्जित, प्रतिबन्धित तथा विभिन्न सन्दर्भमा सर्वोच्चद्वारा स्थापित फैसलाको विपरीत गोवंशको हत्या गर्नेक्रम बढेको छ । अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने निकाय, सरकार यसतर्फ गम्भीर नहुँदा अपराध बढिरहेको छ । अपराधीहरुप्रति निर्मम हुनुपर्ने सरकार केबल सत्ता र शक्ति सञ्चयमा केन्द्रित छ ।
गो वंशको हत्याका पछि कुन व्यक्ति, संस्था वा शक्ति जिम्मेवार छ र तिनलाई कानूनको दायरामा ल्याएर के–कति र कसरी दण्डित गरियो त्यो खोजीको विषय हो । हामीकहाँ एउटा भनाइ प्रचलित छ– ‘सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ ।’ यसको आशय पनि प्रष्ट नै छ कि सानो गल्तीमै दण्डित गरिएन भने उसको गल्ती अपराधमा बदलिन्छ । त्यसकै उदाहरण हो झापाको दमकमा भदौ १८ गते गोठमा बाँधिएको गर्भिणी गाईलाई चोरेर एकान्त स्थलमा पु¥याएर विभत्स हत्या गरेको घटना । सो अपराधमा संलग्न चार जना पक्राउ परेका छन् र उनीहरुले हत्यामा प्रयोग गरेका हतियारसहितका सामग्री प्रहरीले बरामद पनि गरेको छ । उक्त अपराध सार्वजनिक भएलगत्तै छिमेकी जिल्ला मोरङमा पनि गोरु काटेको घटना सार्वजनिक भएको छ । सुन्दरहरैंचा–९ मुस्लिम टोलभित्रै गोरु काट्ने घरधनी ताजकेरा खातुनलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।
खातुन र गाई हत्यामा संलग्न दमकका प्रेमबहादुर बिष्ट, खगेन्द्र दुलाल र विधान थापा भुटानी शरणार्थी र अर्की महिला दमककी गीता श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् । संविधानले नै प्रतिबन्ध गरेको गो वंशको विभत्स हत्या गर्ने दोषीहरु कति अझै फरार छन् । ती सबैलाई मुलुक अपराध संहिता ०७४ को दफा २८९ ले गरेको व्यवस्था अनुसार कठोर सजायको व्यवस्था गर्नुपर्छ । होइन भने गोवंश हत्याको श्रृंखला धार्मिक हिंसामा बद्लिन सक्छ । त्यतिखेर राज्यसँग त्यसलाई रोक्ने र नियन्त्रण गर्ने सामथ्र्य रहने छैन । त्यसैले देश फेरि दुर्घटनामा पर्नेछ जो सबैका लागि पीडादायी हुनेछ ।