सुरुङ्गा, कात्तिक १ । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक प्राध्यापक एवम् झापा मेरिगोल्ड अंग्रेजी मा.वि.कनकाई–४ का भाइस प्रिन्सिपल शेरबहादुर बानियालाई पितृशोक परेको छ । बानियाका पिता ओमप्रकाश बानियाको ७० वर्षको उमेरमा कात्तिक १ गते बिहान ४ः३० बजे बिर्तामोड–८ सूर्यनगरस्थित निजी निवासमा निधन भएको हो ।
माता मनमाया र पिता सहवीरबाट २००२ साल पौष ३ गते पाँचथर फलैचा–१ सेरेजामा जन्मेका स्व. बानिया २०५९ सालबाट बसाइँ सरी सपरिवार विर्तामोडमा बस्दै आएका थिए । दार्जिलिङ्गबाट कक्षा ८ सम्मको औपचारिक शिक्षा लिएका स्व. बानियाले च्याङ्गथापु, फलैंचा, ओयाम लगायतका विद्यालयहरुमा लामो समयसम्म शिक्षण गरेका थिए भने सेरेजाको इन्द्रावती प्रा.वि.को स्थापनामा मुख्य भुमिका निभाएका थिए । पञ्चायत तथा प्रजातन्त्रकालमा १५ वर्षसम्म वडा अध्यक्षमा निर्वाचित भएका स्व. बानिया बाटोघाटो, पुल तथा चौतारा निर्माणमा सदैव अग्रसर हुने समाजसेवी व्यक्तित्व थिए । सेरेजाको स्थानीय तीनखोले बगाने सामुदायिक वनको संस्थापक अध्यक्ष समेत रहेका स्व. बानियाले बुद्ध मा.वि. नाम्रेक, चोत्रोक, विष्णु मा.वि. च्याङ्गथापु, वारेबुङ, च्याङ्गथापुगढी लगायतका विद्यालयको विकास र विस्तारमा विशेष भूमिका खेलेका थिए । नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका उनी लोकतन्त्रका लागि विशेष रुपमा सक्रिय हुने कुशल नेतृत्वकर्ता मानिन्थे । स्वर्गीय बानिया केही समयदेखि प्रोस्टेड ग्ल्याण्डको क्यान्सरबाट पीडित थिए । अन्तिम समयमा आएर उनका दुवै मिर्गौला तथा कलेजोमा समेत समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई परिवारजनले भरतपुरस्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा सिलिगुढी भारतमा उपचार गराएका थिए, तर रोगले धेरै गाँजेका कारण उनलाई बचाउन सकिएन । स्व.बानियाका पत्नी टीकामाया, ४ छोराहरु शेरबहादुर, चन्द्रकुमार, धनकुमार र रमेश, बुहारीहरु मेनुका, कुमारी, लीला र सुनिता, ३ छोरीहरु सावित्रा, निर्मला र पवित्रा र १३ नातिनातिनाहरु रहेका छन् । उनको कनकाईमाई स्थित कनकाई आर्यघाटमा शनिवार नै वैदिक सनातन परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।