कनकाई उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको शपथ ग्रहण

0
457

सुरुङ्गा।

झापाको कनकाई उद्योग बाणिज्य संघले नयाँ कार्य समितिलाई शपथ ग्रहण तथा पदहस्तान्तरण गरेको छ ।

नयाँ कार्य समितिलाई बिहीवार संघका निवर्तमान अध्यक्ष त्रिलोचन चिमरियाले शपथ ग्रहण गराएका हुन् । निवर्तमान अध्यक्ष चिमरियाले अध्यक्ष तुलसी बिमलीलाई शपथ ग्रहण गराएपछि अध्यक्ष बिमलीले अन्य पदाधिकारी तथा कार्य समितिलाई शपथ ग्रहण गराएको पत्रकार भेटघाट गरी जानकारी दिइएको हो ।

गत २०७८ चैत ३ गते संघको सर्वसम्मत् नेतृत्व चयन पश्चात स्थानीय तहको निर्वाचन शुरु भएको थियो । स्थानीय तहको निर्वाचनपछि निर्वाचन समितिले संघको बिधान अनुसार ४५ दिन कटेको भन्दै केहीदिन अघि समितिलाई सपथ ग्रहण नगराई राजीनामा दिएको थियो ।

तर निर्वाचन समितिले राजिनामा दिइसकेको हुनाले संघको विधान ६९को उपदफा (क) बाधा अड्काउ फुकाउ अनुसार नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएको अध्यक्ष विमलीले बताए ।

बाधा अड्काउ फुकाउ मा भनिएको छ– ‘संघको बिधानको परिपालन गर्न/गराउन कुनै बाधा अड्काउ परेमा बिधानको सो बाधा अड्काउ फुकाउन कार्य समितिले बिशेष निर्णय गर्न सक्नेछ । बाधा अड्काउ फुकाउने बिशेष निर्णय त्यसपछि लगत्तै बस्ने साधारण सभाबाट अनुमोदन गराउनुपर्नेछ ।’ उपदफा (क) अनुसारको निर्णय साधारणसभाले अनुमोदन नगरेमा सो निर्णय शून्य प्रभावी हुनेछ ।’

त्यस्तै बिधान ७० (क) असल नियतले गरेको काममा भनिएको छ‘ संघको हित चिताई असल नियतले गरेको कामका लागि संघका कुनै पदाधिकारी, सदस्य वा कर्मचारी उपर कुनै कारवाही हुने छैन ।’ तर, उक्त कार्य असफल नियतले गरेको हो भन्ने प्रमाणित गर्ने भार सम्बन्धित पक्षको हुनेछ ।’

संघको बिधान ४५ निर्वाचन प्रक्रिया (क) मा भनिएको छ– ‘साधारणसभा भई निर्वाचन समिति गठन भइसकेको कम्तीमा ४५ दिनभित्र निर्वाचन समितिले निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । ४५ कै (झ) मा भनिएको छ– ‘निर्वाचनको सम्पूर्ण कार्य समाप्त भएपछि अध्यक्षको शपथ ग्रहण निर्वाचन प्रमुखबाट गराई अन्य पदाधिकारी एवम् सदस्यहरुलाई अध्यक्षबाट सपथ ख्वाउन लगाई पुरानो तथा नयाँ कार्य समितिको वैठक पश्चात निर्वाचन समिति स्वतः समाप्त भएको मानिने छ ।’

संघको गत चैत्रमा भएको सर्वसम्मत नेतृत्व चयनबाट अध्यक्षमा तुलसी बिमली, बरिष्ठ उपाध्यक्षमा जनक कार्की, बाणिज्य उपाध्यक्षमा जबिन तिम्सिना, उद्योग उपाध्यक्षमा डिल्लीराम पाठक, महासचिवमा सरोज सिटौला, बाणिज्य सचिवमा अनिता मैनाली, उद्योग सचिवमा टीकाराम बराल र कोषाध्यक्षमा गोमादेबी कार्की चयन भएका थिए ।

त्यस्तै सदस्यमा भविन्द्र भण्डारी, उत्सव बास्तोला, हरिकुमार कार्की, कमल श्रेष्ठ, बिन्दुराज दाहाल, तारानाथ प्रसाई, चन्द्रा बुढाथोकी, रुना श्रेष्ठ र चन्द्रकला भेटवाल सर्वसम्मत चयन भएका थिए । अध्यक्ष विमलीले निर्वाचन प्रक्रिया सर्वसम्मत भएको भन्दै निर्वाचनमा हुने खर्च कटौती भएकोले ५ लाख एक हजार रुपैयाँ संघलाई दिने घोषणा समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here