सन्थाल जातिको अन्तर्राष्ट्रिय माझ्ही प्रगाना सम्मेलन रतुवामाईमा
सुरुङ्गा।

सन्थाली ‘ओल चिकी’ लिपि सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी झापाको सुरुङ्गामा सम्पन्न भएको छ ।
एक दिने गोष्ठीमा नेपाल र भारतका ओल चिकी लिपिसँग सम्बन्धित विज्ञ र खोजकर्मीहरु गरी ६० जनाको सहभागिता थियो । रिलोमाला सन्थाली अखडा नेपालको आयोजना र नेपाली सन्थाल आदिवासी उत्थानसँग रतुवा माई नगरपालिका मोरङको सहकार्यमा ‘सम्पूर्ण माझ्ही पारगाना एक जुट बनौं, सन्थाली भाषा लिपिको संरक्षण गरौं’ भन्ने नाराका साथ गोष्ठी सम्पन्न भएको हो ।
सांसद तथा माओवादी केन्द्रकी नेतृ धर्मशीला चापागाँईको प्रमुख आतिथ्य र चुन्डा टुडूको अध्यक्षतामा भएको कार्यक्रममा विश्व भारती शान्ति निकेतन विश्व विद्यालय सन्थाली भाषाविद् विभाग प्रमुख डा. घनेश्वर माझ्ही हस्दा, प्रोफेसर डा. रामु हेमरम, सन्थाली लिपिकाविज्ञ रवि हेमरम, नेपाल सन्थाल आदिवासी उत्थान संघका बाजुन मुर्मू तथा बुद्धिलाल सोरेन लगायतले मन्तव्य राखेका थिए ।
ओल चिकी लिपिका लेखक (लिपिक) पं. रघुनाथ मुर्मूले सन्थाल समुदायको धर्म संस्कार र लिपिका बारेमा चर्चा गरेका थिए । रिमिल श्यामसुन्दर बेस्राले गोष्ठी आयोजनाको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा झापा र मोरङका विभिन्न पालिका तथा भारतबाट सहभागी थिए । कार्यक्रमको सञ्चालन शिवु मुर्मूले गरेका थिए ।
उक्त संस्थाले आज शनिवार मोरङको रतुवा माईमा सन्थाल जातिको अन्तर्राष्ट्रिय माझ्ही प्रगाना सम्मेलनको आयोजना गरेको छ । नेपाल र भारतका उल्लेख्य संख्यामा सन्थाल समुदायको सहभागिता रहने सम्मेलनमा सन्थाली संस्कृति संरक्षणमा जोड दिने रिमिल श्याम सुन्दर वेस्राले बताए ।
नेपालमा सन्थाल समुदायबीच आफ्नो पहिचानका सन्दर्भमा देखिएको फरक मत सन्थाल, संताल र सान्ताडमध्ये एक लेख्ने गरी एकरुपता ल्याउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।
सरकारी कामकाजको भाषा तथा कागजातमा ‘सतार’ लेखिँदा आफूहरुमाथि अपमान र अन्याय भएको भन्दै सन्थाल समुदायले आवाज उठाउँदै यक्त शब्दको सट्टामा आफ्नो समुदायलाई बुझाउने शब्द चयनमा एक रुपता र समुदायबीचको एकताबद्ध भूमिका निर्वाह गर्न सम्मेलन महत्वपूर्ण हुने बताइएको छ ।
विश्वमा एक करोडभन्दा बढी संख्यामा सन्थाल आदिवासी रहेको बताइन्छ । नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तानमा मुख्य बसोबास रहेको सन्थाल समुदाय कामको सिलसिलामा अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, जापान, कोरिया, खाडी मुलुक आदिमा छरिएर रहेको बताइन्छ ।
सन्थाल जातिको भाषा, धर्म संस्कार, संस्कृति, लिपि, वाप्ला, छटियोर, भाण्डान, आगापुजो, शिक्षा, स्वास्थ्य, राजनीतिक स्थिति लगायतका बारेमा सम्मेलनमा छलफल हुने बताइएको छ । समय सापेक्ष सन्थाली संस्कृतिलाई सुधार्दै लाने, विश्वमै सन्थाली संस्कृतिमा एक रुपता ल्याउने, आतु माझ्ही, वार्ड माझ्ही, नगर माझ्ही, जिल्ला माझ्ही, दिशोम माझ्ही बनाउनुपर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
सन्थाली लिपि अल चिकीलाई औपचारिक शिक्षामा सामेल गराउन पाठ्यपुस्तक निर्माण बारे छलफल गर्ने, पहिचान स्पष्ट गर्ने, भण्डान १५ दिनमा गर्ने लिखित सहमति गर्दै लागू गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।






























