बिद्यार्थी झिकाउने, टिकाउने, सिकाउने र विकाउने अभियान

0
499

सुरेन्द्र भण्डारी,
झापा ।

बाह्रदशी गाउँपालिकाले बिद्यार्थीको सिकाइ व्यवस्थापनमा फड्को मारेको छ । कक्षा ६ देखि १२ सम्म विषयगत शिक्षक नहँुदा लामो समयदेखि पठनपाठनमा समस्या रहेको थियो ।

तर, गाउँपालिका गाउँपालिकाको अघिल्लो नेतृत्वले विषयगत शिक्षकको व्यवस्थापन गर्दै पठनपाठनलाई सहज गरेसँगै सबै विद्यालयमा शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुन थालेको हो ।

गाउँपालिकाभित्र रहेका १६ वटा सामुदायिक विद्यालयमा सात हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत् छन् । तर, यसअघि गणित, विज्ञान र अंग्रेजी विषयका विषय शिक्षक अभावमा बिद्यार्थीले अपेक्षाकृत शिक्षा हासिल गर्न सकेका थिएनन् । हाल गाउँपालिकाले आधारभूतका लागि ४ जना र माध्यमिक तहका लागि ६ जना शिक्षकको व्यवस्थापन गरेको छ ।

बाह्रदशी गाउँपालिकामा १५३ जना शिक्षक दरवन्दीमा कार्यरत रहेको शिक्षा युवा तथा खेलकुद शाखा बाह्रदशीका प्रमुख ज्ञानबहादुर पौडेलले जानकारी दिए । कम्प्युटर शिक्षाका लागि तीन जना छुट्टै शिक्षकको व्यवस्थापन गरिएको छ । ‘पछिल्लो समय बाह्रदशी गाउँपालिकामा शिक्षाले बिस्तारै फड्को मार्दै गएको छ’– पौडेलले भने– ‘विषयगत शिक्षकको व्यवस्थापन गर्दै सिकाइलाई प्रभावकारी गर्दै लगेसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार भएको हो ।’

योसंगै बाह्रदशी गाउँपालिकाले सिकाइलाई प्रविधिमैत्री बनाएको छ । हरेक विद्यालयमा कम्प्युटरको व्यवस्थापन, कम्प्यूटर शिक्षकको व्यवस्थापन, सबै शिक्षकलाई कम्प्युटरको ज्ञान दिलाउन कार्यशालाको व्यवस्थापन गरिएको शिक्षा शाखा प्रमुख पौडेलले बताए । बाह्रदशीका हरेक विद्यालयमा सिकाइलाई थप व्यवस्थित गर्न ‘इन्टरएक्टिभ स्मार्ट बोर्ड’ को अवधारणा अनुसार अहिले अघि बढेका छौं– पौडेलले भने– अहिले गौरीशंकर माध्यमिक विद्यालय लगायतका विद्यालयहरुमा ‘इन्टरएक्टिभ स्मार्ट बोर्ड’को प्रयोग भइरहेको छ ।

गाउँपालिकाका ४ वटा विद्यालयमा साइन्स ल्याव (विज्ञान प्रयोगशाला) स्थापना गरिएको बताइएको छ । विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि फाइदा पु¥याउने उद्देश्यले गाउँपालिकाले पशुपति माध्यमिक विद्यालय, गौरीशंकर माध्यमिक विद्यालय, फूलवारी माध्यमिक विद्यालय र अमृत माध्यमिक विद्यालयमा साइन्स ल्याव स्थापना गरेको हो । हरेक विद्यालयमा साइन्स ल्याव स्थापनाका लागि गाउँपालिकाले ६ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

त्यस्तै आइसीटी ल्याव पशुपति माध्यमिक विद्यालय, गौरीशंकर माध्यमिक विद्यालय, जनविकास माध्यमिक विद्यालय र पञ्चमणि माध्यमिक विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले रकम प्रदान गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । त्यस्तै पशुपति, गौरीशंकर, फूलवारी र अमृत माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापना भएको हो । गाउँपालिकाले प्रत्येक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ भने सबै विद्यालयमा इन्टरनेट निःशुल्क गरिएको बताइएको छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्थापन गर्दै नियमित अनुगमनको व्यवस्था मिलाएको छ ।

भौतिक निर्माण

गाउँपालिकामा रहेका १६ वटै सामुदायिक विद्यालयमा घेरावेरा सम्पन्न भएको छ । एक करोड दुई लाख रुपैयाँको लागतमा अमृत माध्यमिक विद्यालयको आठ कोठे भवन निर्माण भएको हो । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा विद्यालय भवन तयार भएको हो । अमृत माविमा जापानिज नागरिकले चार कोठे भवन निर्माण गरेका छन् । ‘हिरोता ड्रिम’ नामले परिचित भवन जेएसपी जापानले तयार गरेको हो ।

त्यस्तै जनविकास माविमा समेत एक करोड रुपैयाँको लागतमा विद्यालय भवन निर्माणाधीन छ । संघीय सरकारको सहयोगमा भवन निर्माण भइरहेको हो । यो विद्यालयमा आठ कोठे भवन निर्माण भइरहेको छ । गौरीशंकर, पशुपति, फूलवारी माध्यमिक विद्यालयमा चार कोठे भवन निर्माण भएका छन् । त्यस्तै पञ्चमणिमा दुई, जनज्योतिमा एक, घोडामारामा एक, रामनगरमा एक, जनतामा एक, राधानगरमा एक, भगवतीमा एउटा बिद्यालयमा दुईकोठे भवन निर्माण भएका छन् । तीन विद्यालयमा शौचालय समेत निर्माण भएका छन् ।

अंग्रेजी माध्यममा पठनपाठनमा जोड

बाह्रदशी गाउँपालिकाले हरेक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्थापन गरेको छ । बाह्रदशी–७मा रहेको पशुपति आधारभूत विद्यालय र बाह्रदशी–५मा रहेको कटरडाँगी आधारभूत विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालनमा रहेको छ । बाँकी विद्यालयले मिश्रित रुपमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्थापन गरेका छन् ।

मूल्याङ्कन पद्धतिमा एकरुपता

गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा विद्यार्थीहरुको मूल्याङ्कन पद्धतिमा एकरुपता कायम गरिएकोे छ । शिक्षा शाखाको समन्वयमा मूल्याङ्कन पद्धतिमा एकरुपता गरिएको हो । गाउँपालिकाले मूल्याङ्कन पद्धतिमा एकरुपता कायम गरेसँगै विश्वसनीयता र एकरुपता उच्च रहने रामनगर आधारभूत विद्यालयमा प्रधानाध्यापक भोला मिश्रले बताए ।

यस्ता छन् चुनौति

शिक्षा शाखामा आवश्यक जनशक्तिको अभावका कारण विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय सुपरिवेक्षण तथा कक्षा अवलोकन गरी शिक्षकहरुसंग पृष्ठपोषण दिन नसकिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पौडेलको भनाइ छ ।

गाउँपालिकामा अझै पनि विद्यार्थीको उपस्थिति दरमा वृद्धि गर्न नसकिएको उनले बताए । न्यूनतम् २२० दिन विद्यालय सञ्चालन हुने भए पनि विद्यार्थीको उपस्थिति दरमा कमी रहेको पौडेलको भनाइ छ । आशातित बजेट विनियोजन हुन नसक्दा शिक्षा क्षेत्रमा प्रगति हुन नसकेको पौडेल बताउँछन् । गाउँपालिकामा स्थानीय पाठ्यक्रम तयार गर्न नसकिएको बताइएको छ । विगत दुई वर्षसम्म कोभिडको महामारीका कारण पनि शिक्षा क्षेत्रमा धेरै असर परेको शिक्षाप्रमुख पौडेल बताउँछन् ।

पञ्चवर्षीय योजना बनाउदै शिक्षा शाखा

बाह्रदशी गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पञ्चवर्षीय योजना बनाउने भएको छ । यस वर्षदेखि छुट्टै बजेटको व्यवस्थापन गर्दै पञ्चवर्षीय शिक्षा योजना तयार पारिने शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलको भनाइ छ । पञ्चवर्षीय योजनामा समग्र शिक्षाको लक्ष्य समावेश हुने छन्– पौडेलले भने– ‘पहिला हामी बिद्यालय उमेर समूहका विद्यार्थी विद्यालयमा झिकाउँछौं, त्यसपछि टिकाउँछौं, अनि सिकाउँछौं र हाम्रा विद्यार्थी बिकाउँछौं ।’

विद्यालयमा विद्यार्थी झिकाउन अभिभावकलाई सचेत गराउने पोडेलको भनाइ छ । त्यसपछि बिद्यार्थीका लागि शैक्षिक सामग्री, पोशाक छात्रवृत्ति प्रदान गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्छाैं– पौडेलले भने– बिद्यार्थी विद्यालयमा आएपछि उनीहरुलाई टिकाउने हाम्रो दायित्व रहन्छ । जसका लागि बिद्यार्थीलाई विद्यालयमा खाजाको व्यवस्था, वालमैत्री सिकाइ, समय सापेक्ष प्रविधिमैत्री सिकाइमा जोड दिन्छौं ।

त्यस्तै विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि पहिला शिक्षकको क्षमता विकास गरिने र नयाँ–नयाँ टेक्नोलोजी अपनाउँदै विद्यार्थीलाई सिकाइन्छ– पौडेल भन्छन्– हामी समय समयमा सरोकारवालाहरुलाई विद्यालयको अनुगमन गराउँदै विद्यार्थीलाई पढ्न प्रेरित गराउने कार्यक्रम सञ्चालन गर्छाैं । हामीले यति गरेपछि हाम्रा विद्यार्थी बिक्छन् । हाम्रो पञ्चवर्षीय योजनामा अब बिद्यार्थीलाई पढ्दै कमाउँदै जस्ता कार्यक्रम समावेश हुन्छन् । त्यस्तै स्वरोजगारका कार्यक्रम समेत समावेश गरिने पौडेलको भनाइ छ ।

शैक्षिक गुणस्तर सुधार्न प्रअको यस्तो सुझाव

बाह्रदशी गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने सुझाव छ । बाह्रदशी गाउँपालिकामा रहेका केही बिद्यालयमा प्रविधिमैत्री शिक्षा प्रदान गर्न शुरु गरिएपनि सबै बिद्यालयलाई प्रविधि मैत्री बनाइनुपर्नेमा प्रधानाध्यापकहरुले जोड दिएका छन् ।

सबै विद्यालयमा अग्रेजी शिक्षा अनिवार्य गरिनुपर्ने र प्रविधियुक्त शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिए मात्रै विद्यार्थीकोे शैक्षिक गुणस्तर सुधार भएर जाने गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल बताउँछन् । उनी भन्छन्– नेपाल सरकारले निर्धारण गरेका शैक्षिक क्रियाकलापहरुलाई प्राथमिकतामा राखिनुपर्छ । त्यसको अलावा गाउँपालिकाले समुदायलाई गोलबद्ध गरेर प्राविधिक शिक्षाामा जोड दिनुपर्छ । बाह्रदशी गाउँपालिकामा नमूना विद्यालय नभएकाले नमूना विद्यालय बनाउन गाउँपालिकाले विशेष पहल गर्नुपर्नेमा उनको जोड छ । सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेर विद्यार्थीलाई शुलभ शिक्षा प्रदान गर्नुपर्ने कटुवाल बताउँछन् ।

यता रामनगर आधारभूत विद्यालयका प्रधानाध्यापक भोला मिश्र बिद्यार्थीलाई विद्यालयमा नियमित गराउनुपर्ने बताउँछन् । अझै पनि कतिपय बालवालिका नियमित विद्यालय आउँदैनन्– प्रधानाध्यपक मिश्रले भने– सबै विद्यार्थीलाई कम्तीमा दुई सय २० दिन विद्यालय आउने वातावरण गाउँपालिकाले सिर्जना गर्नुपर्छ । विद्यालयमा खेलकुदका प्रशस्त सामग्रीको व्यवस्थापन गर्दै शिक्षक र विद्यार्थी दुवैलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले विशेष भूमिका खेल्नुपर्ने उनको सुझाव छ ।

यता पञ्चमणि माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदकुमार खरेलले विद्यार्थीलाई विद्यालय नियमित गराउन अभिभावकको आयश्रोत बढाउने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत् धेरै विद्यार्थी विपन्न समुदायका नागरिकका छोराछोरी हुने भएकाले अभिभावक काममा जाँदा विद्यार्थीले घर रुँघेर बस्नु पर्ने बाध्यता रहेकाले अभिभावकको नै आयश्रोत वृद्धिका कार्यक्रम सञ्चालन गरिनुपर्ने उनी बताउँछन् ।

सूचना र प्रविधिको युग भएकाले हरेक विद्यार्थीलाई स्मार्ट बनाउन शिक्षक स्मार्ट बन्न जरुरी रहेको बताउँदै उनले भने – अब सबै शिक्षकको हातहातमा एक÷एक थान ल्यापटप हुन जरुरी छ । शिक्षक दक्ष भएसँगै विद्यार्थीलाई दक्ष बनाउने कुरामाा कुनै सन्देश रहन्नँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here