खाजामा गिद्दे नजर : बिद्यालय बन्द हुँदा विद्यार्थीलाई खाजा खर्च

0
336

बिर्तामोड ।

झापाका अर्जुनधारा, कनकाई, मेचीनगर, दमक, गौरीगञ्ज लगायतका पालिकाले विद्यार्थीको दिवाखाजाको रकम अनियमितता गरेको पाइएको छ ।

विद्यालयमा सञ्चित दिवाखाजा कार्यक्रमको रकम खर्च गर्ने सम्बन्धमा कार्यक्रम समन्वय पुस्तिका २०७७÷०७८ अनुसार विद्यार्थीको हाजिरी समेतको आधारमा खर्च गर्ने व्यवस्था छ । तर, अर्जुनधारा, कनकाई, मेचीनगर, दमक र गौरीगञ्ज गाउँपालिकाले विद्यार्थीको खाजा वापतको रकम अनियमितता गरिएको पाइएको हो ।

कोरोना संक्रमणका कारण २०७८ बैशाख १३ गतेदेखि असार मसान्तसम्म विद्यालय बन्द भएको अवस्थामा प्रति विद्यार्थी १५ रुपैयाँका दरले खाजाको पैसा पालिकाले अनियमितता गरेका हुन् । विद्यार्थीको हाजिरीको आधारमा विद्यार्थीलाई उपलब्ध गराउने खाजा खर्च विद्यालय बन्द अवस्थामा पालिकाले निकासा गरेसँगै महालेखाले यस विषयमा प्रश्न उठाएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यक्रम पुस्तिका ०७७/०७८ मा तराईका जिल्लामा प्रतिविद्यार्थी १५ रुपैयाँका दरले एक सय ८० दिनको दिवाखाजा खर्च विद्यार्थी हाजिरीको आधारमा उपलब्ध गराउने व्यवस्था छ । तर, नियम विपरीत विद्यालय नै नलागेको अवस्थामा खाजा खर्चको रकम निकासा गरेसँगै महालेखाले खाजा खर्चको रकम यकिन गरी उपलब्ध गराउन पालिकलाई निर्देशन दिएको छ ।

अर्जुनधारा नगरपालिकामा २८ वटा सामुदायिक विद्यालय रहेका छन् । वाल कक्षादेखि ५ कक्षसम्मका विद्यार्थीलाई खाजा खर्च वापतको रकम संघीय सरकारले उपलब्ध गराउँदै आएको छ । तर, २८ वटै सामुदायिक विद्यालय बन्द रहेको अवस्थामा खाजा वापतको रकम अर्जुनधारा नगरपालिकाले निकासा गरेको हो ।

कनकाई नगरपालिकामा १४ वटा सामुदायिक विद्यालय छन् । जसमध्ये १–३ एउटा, १–५ तीन वटा, १–८ चार वटा, १–१० तीन वटा, १–१२ तीन वटा रहेका छन् । यो नगरमा समेत विद्यालय बन्द रहेको अवस्थामा खाजा खर्चको रकम निकासा भएको पाइएसँगै महालेखाले खर्चको यकिन गरी बाँकी रकम जम्मा गर्न निर्देशन दिएको हो ।

दमक नगरपालिकामा २१ वटा सामुदायिक विद्यालय छन् । दमकमा समेत बिद्यालय बन्द भएको अवस्थामा खाजा खर्चको रकम विद्यार्थीलाई खाजा खुवाएको अभिलेख तयार गर्दै रकमको अनियमिमता भएसँगै महालेखाले प्रश्न उठाएको हो ।

यता गौरीगञ्ज गाउँपालिकामा २६ वटा सामुदायिक विद्यालय छन् । यो पालिकामा समेत खाजा खर्च वापतको रकम पालिकाले अनियमितता गरेसँगै महालेखाले प्रश्न उठाएको हो । कोरोना संक्रमणका कारण विद्यालय बन्द रहेको अवस्थामा प्रदेश १का १९ पालिकाले विद्यार्थी खाजाको रकम अनियमितता गरेका छन् । सरकारले दिवाखाजाका लागि निकासा गरेको छ करोड ९३ लाख ७० हजार रुपैयाँको खर्चको यकिन गर्न महालेखाले पालिकालाई भनेको छ । प्रदेश १ का गौरीगञ्जसहित १८ पालिकाले पाँच करोड तीन लाख ५५ हजार रुपैयाँ खर्च गरेको पाइएसँगै विद्यार्थीको खाजा खर्चमा महालेखाले प्रश्न उठाएको छ ।

विद्यार्थीको खाजा खर्चमा भएको अनियमितताका विषयमा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईलाई जिज्ञासा राख्दा सो रकम सम्विन्धित विद्यालयलाई फिर्ता गर्न लगाउने बताएका छन् । गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीले खाजा खर्चको रकम आफूहरुले निकासा गरेको बताएका छन् । शुरुमा आफूहरुलाई खाजा खर्चको रकम के गर्ने भन्ने विषयमा अन्यौल भएको र विद्यालयलाई निकासा गरेको कार्कीले बताए ।

यता अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शशीकला राईले कोरोनाको समयमा विद्यालय बन्द भएको अवस्थामा रकम विनियोजन नगरेको बताइनन् । उनले आफू माघ महिनाबाट मात्रै अर्जुनधारा नगरपालिकाको जिम्मेवारीमा आएको र सोभन्दा अगाडिको विषयमा जानकारी नभएकाले यस विषयमा आफूले सत्यतथ्य वुझ्ने बताइन् । उनले विद्यालय बन्द रहेको समयमा रकम विनियोजन गर्न नमिल्ले उल्लेख गरिन ।

उता मेचीनगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीले महालेखाले वेरुजु देखाएसंगै आफूहरुले विद्यालयलाई निकासा गरेको रकम फिर्ता गरेर पठाएको तर महालेखाले ‘एक्सेप्ट’ नगरेका कारण वेरुजु देखिएको बताएका छन् । उनले वेरुजु र अनियमितता फरक–फरक विषय भएकाले मेची नगरले दिवा खाजाको रकममा अनियमितता नभएको बताएका छन् ।

यसैबीच खाजाको अनियमितताको विषयमा प्रश्न गर्दा पालिकाका शिक्षा शाखा प्रमुहरुले खाजा खर्चको रकम वेरुजु नरहेको बताएका छन् । उनीहरुले महालेखाको प्रतिवेदन अनुसार अनियमितता नगरेको जिकिर गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here