सौर्य ऊर्जा प्राप्त गर्ने पर्व

0
269

नाग पञ्चमीदेखि हाम्रा चाडपर्वहरु शुरु भएका छन् । त्यसयताको महत्वपूर्ण चाड हो जनै पूर्णिमा र रक्षा बन्धन । हरेक पर्वका छुट्टाछुट्टै सन्दर्भ र विशेषता हुन्छन् । त्यही भिन्नता र विशिष्टता बोकेको पर्व हो आजको दिन । जनै पूर्णिमा र रक्षा बन्धन धागो र बन्धनसँग जोडिएको पवित्र पर्व हो । आज ग्रहण गरिने बन्धनलाई पवित्रता र सुरक्षाको प्रतीक मानिन्छ । हिन्दू परम्परामा यज्ञोपवित पनि भनिने जनै ब्राह्मण र क्षत्री पुरुषहरुले लगाउने चलन छ । बाल्यकालमा वैदिक विधिपूर्वक गरिएको अनुष्ठानमा गुरुपुरोहितद्वारा गायत्री मन्त्र सुनेपछि निरन्तर लगाइने जनै निष्ठा, धर्म र सत्यको अनुशरण गर्ने दृढ संकल्पित बन्धन हो । सामान्यतः प्रत्येक वर्ष आजकै दिन परिवर्तन गर्नुपर्ने जनैका दुईवटा शिखामा भएका छ वटा धागाहरुलाई ब्रह्मा, विष्णु, महेश र कर्म, उपासना र ज्ञानको योग मानिन्छ । त्यसैले जनै ग्रहण गरिसकेपछि त्यही अनुसारको निष्ठामा रहनु पर्दछ भन्ने वैदिन सनातनी परम्परा रहेको छ ।

आजकै दिनलाई रक्षा बन्धनको पर्वका रुपमा समेत लिइएको छ । दानवहरुका राजा बलीलाई बाँधिएको बन्धन सुरक्षाको प्रतीक मानिन्छ । विशेषतः ब्राह्मण, क्षत्री वा अन्य वैदिक परम्पराका अनुयायीहरुले आजको दिनमा ब्राह्मण पुरोहितसँग दाहिने हातको नाडीमा विशेष कर्मद्वारा मन्त्रिएको डोरा बाँध्ने चलन छ । रक्षा बन्धनलाई सुरक्षा कवचका रुपमा लिइन्छ र खासगरी तराईबासीहरुले दिदी–बहिनीका हातबाट सुरक्षाको डोरो बाँध्ने गर्दछन् । दाजु–भाइ, दिदी–बहिनीबीचको माया, स्नेह, बन्धन र पवित्रताको यो पर्वले सबैमा हार्दिकता र सद्भाव बढ्नु पर्दछ । यज्ञोपवित धारण गर्नाले भगवान सूर्यको शक्ति प्राप्त हुने र गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक सामथ्र्यको वृद्धि हुने मान्यतालाई विज्ञानका दृष्टिले पनि समेत पुष्टि गरेको सन्दर्भले यो दिन अति महत्वपूर्ण छ ।

यही दिनलाई विश्वको पहिलो भाषा संस्कृतको प्रचार–प्रसारमा सहयोग पु¥याउने उद्देश्यले विश्व संस्कृत दिवसका रुपमा समेत मनाइन्छ । युवा समुदायमा भाषाप्रति मोह जाग्रत गराउन र भाषाको सम्वद्र्धन, प्रवद्र्धन र व्यापक गर्न आजको दिन देशभर विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको छ । यही दिन नेवारी समुदायले गुंपुन्हि पर्व मनाउँछन् । पानीमा भिजाएको नौ प्रकारका गेडागुडी जसमा मुंग, मास, भटमास, केराउ, चना, मस्याङ, सिमी, बोडी, बकुल्लो टुसा उम्रिएपछि पकाएर खाने चलन छ । क्वांती भनिने यस्तो खानाले पाचनक्रियासँग सम्बन्धित रोग हट्ने जनविश्वास छ । एउटै दिनलाई फरक–फरक नामले मनाइए पनि, समुदायपिच्छे मान्यतामा भिन्नता भए पनि अनेकताका बीचको एकता नै हाम्रो विशिष्टता भएकाले हाम्रो मानसिकता र व्यवहार समन्वयात्मक छ । यही सहिष्णु, हार्दिक र सद्भावको प्रतीक जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here