तीज वर्गभेदको कारण नबनोस्

१२ भाद्र २०७९, आईतवार मा प्रकाशित

वैदिक सनातनी संस्कृति अनुसार तीज नेपाली महिलाहरुले मान्ने सर्वाधिक महत्वको पर्व हो । हिमालय पुत्री पार्वतीले कठोर तपस्या गरी भगवान शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक आख्यानसँग जोडेर तीज मनाउन थालिएको मान्यता छ । पौराणिक कालदेखि शुरु भएको यो परम्परा पार्वतीले आफ्ना पति भगवान शिवको शरीर तथा स्वास्थ्यमा कुनै बाधा–व्यवधान नआओस् भनेर व्रत बसेको दिनलाई आजसम्म विवाहित नारीले पतिको आरोग्य तथा दीर्घजीवन र अविवाहितले भगवान शिव सरहको पति पाउँ भन्ने कामनाका साथ तीजलाई पर्वका रुपमा मनाउँदै आएका छन् । यो सँगै कम उमेरमै विवाह गरेर घर गएका छोरीहरुलाई घरको बुहार्तनबाट केही समयका लागि मुक्ति दिलाउन माइत ल्याएर मीठो–मसिनो खुवाउने र चेली–माइतीका बीचको प्रेम–प्रगाढ बनाउने अवसरका रुपमा समेत लिइन्थ्यो तीजलाई ।

तीज यस अर्थमा नेपाली जीवन तथा महिलाको सामाजिक धार्मिक तथा सांस्कृतिक चित्र हो । एउटा विशिष्ट महत्व बोकेको तीज आज परम्परा, संस्कृति एवम् पौराणिक मूल्य–मान्यताबाट स्खलित भई मौलिकताविहीन र प्रदर्शनको माध्यम बन्दै गएको छ । एउटी छोरीले विवाहपछि पराइघरमा भोगेको बुहार्तन, कष्ट र आमाबुवा, साथीभाइसँग विछोडिनु पर्दाको पीडालाई गीतको माध्यमबाट पोखेर हलुङ्गो बनाइ सुख बाँड्ने पर्व थियो विगतमा । तर, आज यो क्रमशः विकृत हुँदै जाँदैछ, उत्ताउलो र भद्दा प्रदर्शनको माध्यम बनाएर तीजको अवमूल्यन गरिँदैछ । कतै राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाइँदैछ, खानपानमा, पहिरनमा, नाचगानहरु अपाच्य बनाइँदै लगिएको छ । यसले हाम्रो मौलिक र विशिष्ट पहिचान भएको तीजको मर्म र अस्तित्व मै संकट उत्पन्न हुने अवस्था सृजना भएको छ ।

चार दिनसम्म मनाइने परम्परागत तीज यतिबेला महिनौंसम्म चल्न थालेको छ । यसले आर्थिक असमानता र विभेद निम्त्याउने जोखिम बढेको छ । हुँदाखाने र हुनेखाने वर्गकाबीच द्वन्द्व उत्पन्न हुने अवस्था बनिएको छ । पार्वतीले निराहार व्रत बसेर निष्ठापूर्वक गरेको साधनाको परिणाममा मनोकामना पूर्ण भएको मान्यताबाट शुरु भएको तीजमा बढ्दो विदेशी शैलीको प्रभाव, मद्यपान समेतको प्रयोग र उत्ताउलो प्रदर्शनले

न हाम्रो मौलिकता रहन्छ, न त संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न नै सकिन्छ । आफ्नो मौलिकता र पहिचानप्रति अझै पनि सचेत हुन सकिएन भने हाम्रो व्यवहार आफ्नै लागि घातक बन्न पुग्छ । त्यसैले संस्कृतिको नाममा विकृतिको पछि दौडिनुभन्दा परम्परागत मौलिकता, महत्व र सद्भावको जगेर्ना गर्नेतर्फ लाग्नु पर्दछ । यसैमा हाम्रो विशिष्टता मग्मगाउँछ, मौलिक तथा सांस्कृतिक पहिचान बलियो हुन्छ र पहिचान कायम रहन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here