भारतीयलाई नागरिकता दिलाउने बमबहादुर पक्राउ

१२ भाद्र २०७९, आईतवार मा प्रकाशित

पार्थ मण्डल,
झापा ।

भारतीय नागरिकलाई वंशजको आधारमा नेपाली नागरिकता दिएका एक फरार अभियुक्त दुई वर्ष सात महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–२ बस्ने ५८ वर्षीय बमबहादुर गुरुङ रहेको प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए । झापा जिल्ला अदालत भद्रपुरले २०७६ फागुन ११ गते गरेको फैसला बमोजिम झुट्टा विवरण पेश गरी विदेशी नागरिकले नेपाली नागरिकता लिन उद्योग गरेको मुद्दामा उनलाई ६ महिना कैद सजाय तोकिएको थियो ।

सोही दिनदेखि फरार रहेका गुरुङलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिर्तामोडबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी पाठकले जानकारी दिए ।

यस्तो थियो घटना

गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने परिपत्र जारी गरेसँगै बमबहादुर र उनकी श्रीमती चन्द्रकला गुरुङ आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक ३५ वर्षीय भूपाल गुरुङलाई २०७६ बैशाख ८ गते कचनकवल–२ नम्बर वडा कार्यालयबाट सम्पूर्ण कागजात तयार गरी जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिन गएका थिए ।

नागरिकता बनाउने गएका भूपालमाथि शङ्का लागेर प्रशासन कार्यालय झापाका तत्कालीन अधिकृत गौरव ढुङ्गेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र समेत देखाएका थिए । भारतीय परिचयपत्र देखाए लगत्तै प्रशासन कार्यालयमा खटिएको प्रहरी टोलीले भूपालसहित बमबहादुरलाई २०७६ बैशाख १० गते नियन्त्रण लिएर प्रहरी कार्यालय झापामा पठाएको थियो । भूपालको स्थानीय ठेगाना भारत असम राज्यको मणिपुर कानकोपी भनेर खुल्यो । भारतीय मतदाता परिचय–पत्रमा उनको बुबाको नाम चन्द्रबहादुर गुरुङ उल्लेख थियो ।

त्यसपछि प्रहरी कार्यालय झापाको टोली किर्ते नागरिकता घटनाको विस्तृत अनुसन्धानमा जुट्यो । किर्ते नागरिकता बनाउने कार्यमा संलग्न देखिएको भन्दै अदालतले वडाध्यक्षसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी ग¥यो । कचनकवल–२का तत्कालीन वडा अध्यक्ष मेखबहादुर भट्टराई, तत्कालीन वडा सदस्य धनबहादुर गुरुङ, वडा कार्यालयका तत्कालीन वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कचनकवल–२ बस्ने कविता गुरुङ, सोही ठाउँका गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहालको नाममा पक्राउ पुर्जी जारी भयो । पक्राउ पुर्जी जारी भए पनि झापा प्रहरीले राजनीतिक दबाबका कारण कसैलाई पक्राउ गर्न चाहेन । लामो समयपछि उनीहरू आफैं अदालतमा उपस्थिति भए ।

पक्राउ परेका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापाले जेठ ३ गते अदालतमा लगेर मुद्दा दर्ता गराएको थियो । जेठ ३ गते अदालतले दुवै जनाको बयान मात्र लियो । जेठ ५ गते आइतबार न्यायाधीश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले थुनछेकको आदेश सुनाउँदै भारतीय नागरिक भूपाल पुर्पक्षका लागि कारागार चलान भएका थिए भने बमबहादुरलाई ३० हजार धरौटी जम्मा गरेर तारिखमा रिहा गरेका थिए । अन्य ९ जनालाई पनि अदालतले ४० देखि ५० हजारसम्म धरौटी लिएर तत्काल रिहा गरेको थियो । अदालतको २०७६ फागुन ११ गतेको फैसला अनुसार भारतीय नागरिक भूपाललाई एक वर्ष कैद, प्रतिवादीहरू बमबहादुरलाई ६ महिना कैद, धनबहादुर गुरुङलाई ३ महिना कैद फैसला भएको थियो ।

तत्कालीन वडाध्यक्ष भट्टराई, वडासचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कविता गुरुङ, प्रेमप्रसाद तिम्सिना, गंगाप्रसाद भट्टराई, शिवकुमार दाहाल र तुलसीराम गुरुङलाई जनही १५÷१५ हजार जरिवानाको फैसला जिल्ला न्यायाधीश सन्तोषप्रसाद पराजुलीले सुनाएका थिए । जिल्ला अदालतले सुनाएको फैसलामा चित्त नबुझेका केही व्यक्तिहरु उच्च अदालत विराटनगर, इलाम इजलास पुनरावेदन गर्न धाइरहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here