झापालाई सचेत जिल्ला मानिन्छ । पछिल्लो समय राजनीतिक घटनाक्रमहरुले पनि यस कुरालाई पुष्टि गरेको हो । शिक्षा विकाससँगै झापालीमा चेतनाको विकास भए पनि भौतिक तथा आर्थिक विकास भने अपेक्षितरुपमा भएको छैन । भर्खरै सम्पन्न आमनिर्वाचनको परिणामले पनि समग्रमा झापाको अपेक्षित विकास नभएको नै देखाएको छ । जनताको चेतनाको स्तर मूल्यांकन गर्ने अनेक विधिमध्ये निर्वाचन र त्यसमा गरिने मतदान पनि एउटा हो । झापामा खसेको कूल मतमध्ये पाँच दशमलब ८१ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै प्रदेश सभामा पनि त्यही हाराहारीमा अर्थात् पाँच दशमलव ४५ प्रतिशत मत बदर भयो । झापा जस्तो पूर्वाधारले धनी जिल्लामा भएको बदर मतको प्रतिशतले यहाँको सचेतनाको चित्र देखाएको छ ।
त्यसो त बदर मतको संख्या विकसित देशहरुमा पनि देखिने गरेको छ । तर, त्यहाँ अज्ञानताकै कारण मत बदर नभएको हुन सक्छ । हामी कहाँ भने निर्वाचन लक्षित मतदाता शिक्षा प्रभावकारी रुपमा दिइनुपर्ने उल्लेखित तथ्यांकले पुष्टि गरेको छ । यसपटकको निर्वाचनमा निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन नगरेको गुनासो आएकै हो । अन्तिम समयमा कार्यक्रममा समावेश गरिए पनि आफूहरु मतशिक्षाबाट वञ्चित रहेको मतदाताहरुको प्रतिक्रिया असरल्ल छरिएका थिए । स्थानीय तहको निर्वाचनभन्दा प्रतिनिधि तथा प्रदेशसभाको मतपत्र सरल थियो, तर त्यो सबै तहका मतदाताका लागि सहज थिएन । यस्तोमा मतदान गर्ने शिक्षाको अभावमा मत बदर हुनु स्वभाविक नै थियो, भयो ।
झापाका कूल मतदाता छ लाख ६३ हजार तीन सय ११ रहेकोमा चार लाख ३६ हजार दुई सय ६६ जनाले मतदान गरे । ती मध्ये ४६ हजार पाँच सय २४ मत बदर भयो । बदर मतको यो संख्या काठमाडौं निर्वाचन क्षेत्र १ लाई आधार मान्दा छ जना विजेताले पाउने मत हुनसक्छ । जनताको मतदान गर्ने सार्वभौम अधिकार सुरक्षित र सुनिश्चित होस् यसका लागि निर्वाचन आयोगकै भूमिका प्रमुख हुन्छ । त्यसबाहेक राजनीतिक दलहरुले पनि अमूल्य मत खेर नजाओस् भनेर मतदाता शिक्षालाई आ–आफ्नो ढंगले प्रभावकारी बनाउनुपर्दछ । यसपटकको मौका त चुक्यो अब आउँदा निर्वाचनमा मतपत्र बदर नहुन् त्यसतर्फ समबद्ध पक्षले बेलैमा ध्यान पु¥याउन् ।