महिला सम्मान, समृद्धिको आधार

0
191

यतिबेला लैङ्गिक हिंसाबिरुद्धको अभियानका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष मंसीर ९ देखि २२ गतेसम्म सञ्चालन हुने अभियानको उद्देश्य महिलामाथिको हिंसा र महिला भएकै कारण हुने गरेको विभेद तथा अन्यायको अन्त्य गरी उनीहरुलाई सशक्तिकरण गर्दै राष्ट्रको मूल प्रवाहमा पुरुषसँगै हिँडाउनु हो । हाम्रो जस्तो देशहरुमा अहिले पनि महिलामाथि सामाजिक, आर्थिक, मानसिक तथा शारीरिक शोषण र विभेद भइरहेको छ । महिला हिंसा केवल वयस्क माथि मात्र होइन बालिका, किशोरी तथा वृद्धाहरु माथि भइरहेका घटनाहरु दिनहुँ सार्वजनिक भइरहेका छन् । हाम्रो सामाजिक संरचना, धार्मिक, राजनीतिक र आर्थिक ढाँचाले पनि महिला हिंसालाई बढावा दिइरहेको कतिपय अनुसन्धानको निष्कर्ष छ ।

प्रत्येक वर्ष अंग्रेजी तारिख नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म सञ्चालन हुने अभियानले मात्र विद्यमान महिला हिंसाको श्रृंखलालाई रोक्न सक्दैन । नेपालको संविधानले नै लैङ्गिक हिसाबले कसैलाई भेदभाव नहुने भन्दै समानताको प्रत्याभूति गरेको छ । यस अनुसार महिलाबिरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै प्रकारको हिंसाजन्य कार्य वा शोषण गर्न पाइँदैन । तर, नेपालकै सन्दर्भमा प्रत्येक चारमध्ये एकजना महिलाले महिला भएकै कारण हिंसा व्यहोर्नु परेको अध्ययनले देखाएको छ । आजको युगमा पनि महिलामाथि विभेद हुनु, अन्याय, शोषण र हिंसा हुनु कुनै पनि अर्थमा जायज होइन ।


महिलामाथि हिंसाको अन्त्य गर्दै सबै सामाजिक लगायतका विषयहरुमा पहुँच विस्तार गर्दै सामथ्र्यले पनि सशक्त बनाउने अभियान चलिरहेको बेला देशको राजधानी मै एक युवतीले आत्मदाह गरेको घटना सार्वजनिक भएको छ । सचेत मात्रै होइन औपचारिक ज्ञानले पूर्ण भइसकेकी युवती आधुनिकताले भित्र्याएको प्रचलनका कारण आत्मदाह जस्तो अमानवीय र कठोर निर्णय गर्न पुगिन् शायद । विवाहको विधि पु¥याइसकेर बाक्लो भेटघाट, उठबस गर्ने आधुनिक व्यवहारले हुनसक्छ उनीहरुका बीच असमझदारी बढायो । परिणाम विवाह रद्द गर्ने युवक पक्षको निर्णयले चरम मानसिक यातना पाएकी उनले बदला लिनकै लागि युवककै सामुन्ने पेट्रोल छर्किएर आगो लगाइन् । यस्तै हत्याको घटना भएको छ धरानमा पनि । अभियान सञ्चालन भइरहेका समयमा भएका यी दुई घटना प्रतिनिधि घटना हुन् जसले हाम्रो समाज र समाज व्यवस्था कता गइरहेको छ भन्ने संकेत गरेको छ ।

पेट्रोल छर्केर आफूलाई जलाउने युवतीले विवाह टुटेका कारण अपमानित महशुस गरिन् । त्यसले आवेग उत्पन्न ग¥यो, जसको समाधानका लागि आत्मदाह जस्तो कठोर निर्णय गर्न पुगिन् । त्यसैले अभियान सञ्चालन भइरहँदा हाम्रा बदलिएका, जबर्जस्ती अनुशरण गर्न थालिएका कतिपय प्रचलन पनि दोषी छन् कि समीक्षा गर्ने बेला भएको छ । कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस्, कुनै प्रकारको विभेद वा अन्याय सहन गर्नु नपरोस्, अभियानकर्मीहरुको पनि ध्यान जानुपर्छ । महिलालाई सम्मान नगरेसम्म न परिवार विकसित हुन्छ न समाज न त देश । सम्पूर्ण समृद्धिको आधार र प्रमुख सर्त नै लैङ्गिक समानता हो, यो व्यवहार मै देखिनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here