‘जेसीजमार्फत व्यक्तित्व, नेतृत्व र उद्यमशीलताको विकासलाई प्राथमिकता दिनेछु’

0
161

जेसीज कस्तो संस्था हो ?

– जेसीज एउटा गैरनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हो । जहाँ तालिमको माध्यमबाट युवाहरुको नेतृत्व र क्षमता अभिवृद्धि गरिन्छ । साथै जेसीज युवा उद्यमीहरुको विश्वव्यापी सङ्गठन हो । जसले नेतृत्व र व्यक्तित्व विकास सँगसँगै उद्यमशीलता पनि जोड दिन्छ ।

जेसीज अभियानमा कहिलेबाट कसरी प्रवेश गर्नुभयो ?

– जेसीज अभियानमा म सन् २०१० बाट प्रवेश गरेपछि निरन्तर आजसम्म विभिन्न जिम्मेवारहरु सम्हाल्दै २०२१ को नेतृत्व सफलतापूर्वक सम्पन्न गरिसकेको छु ।

सन् २०२२ मा वीरता लेडी जेसीजको अध्यक्ष हुदा उत्कृष्ट काम गरेर नेपाल जेसीजबाट पुरस्कृत हुनुभयो । तपाईको नेतृत्वमा भएका केही उत्कृष्ट काम बारे भन्नुपर्दा ?

– सन् २०२१ मा वीरता लेडी जेसीजको नेतृत्व सम्हालिरहँदा केही रचनात्मक र ऐतिहासिक कार्यहरु सम्पन्न भएका छन् । जसको धेरैले मूल्यांकन पनि गर्नुभयो । धेरै वटा कार्यक्रमहरु मध्येमा झापाका ५० भन्दा बढी महिला संघ–संस्थाहरुलाई एकै ठाउँमा सहभागी गराई समाजमा योगदान पु¥याउने महिला छनौट गरी पूर्व अध्यक्षहरुको सक्रियतामा उत्कृष्ट नारी सम्मानको शुरुवात भयो । जसलाई हेरेर नेपाल जेसीजले स्थानीय संघ–संस्थासँग उत्कृष्ट सहकार्य गरेवापत पुरस्कृत गरेको थियो ।

यस्तै प्रतिष्ठित वित्तीय संस्था सहारा नेपालसँगको सहकार्यमा छात्राहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापाभित्रका विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । यस्तै बी एण्ड सी हस्पिटलको सहकार्यमा अति विपन्न बस्ती भद्रपुरको रंगेडाँडामा लगभग दुई सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरियो । प्रविधिमैत्री बनाउनुका लागि शाखाको वेबसाइट निर्माण गरियो । यसैगरी जेसीजको मूल उद्देश्यले तालिम भएकाले मेरो कार्यकालमा लगभग ७० प्रतिशत कार्यक्रमहरु तालिमसँग सम्बन्धित नै रहेका थिए ।

तपाईले धेरै समय जेसीजमा खर्चनुभयो । पैसा पनि उत्तिकै खर्च हुन्छ । तर, व्यक्तिगत रुपमा के पाउनुभयो ?

– लगभग १२/१३ बर्षको जेसीज यात्रामा समय र पैसा खर्च भए पनि त्यो समय र पैसा मैले मेरो करियर अगाडि बढाउन एउटा माध्यमको रुपमा लिएको छु । म आफै पनि सञ्चारकर्मी, प्रशिक्षक भएको नाताले जेसीजबाट मैले धेरै प्रशिक्षण लिएँ, जसले मलाई मेरो प्रशिक्षणमा पनि सहज बनायो । नेपालभरि छरिएका जेसीज साथीहरुसँग आत्मीयता साट्न पाएको छु ।

नेपाल जेसीजका सन् २०२३ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवार दिनुभएको छ । तपाई कै उम्मेवारी के का लागि ?

– जेसीज एउटा अध्यक्षमुखी संस्था सबैलाई थाहा नै छ । २०२३ मा जो राष्ट्रिय अध्यक्ष आउनु भए पनि उहाँको कार्य योजना चल्नुपर्ने उपाध्यक्षको दायित्वलाई म निभाउने छु । साथै, जेसीज एउटा तालिमको विश्वविद्यालय भएकाले र म आफै पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले २०२३ मा तालिमका स्तरहरु बढाउनका लागि अझ नयाँ–नयाँ व्यक्तित्व, नेतृत्व विकास तथा उद्यमशीलताको विकास सम्बन्धी तालिमहरु आयोजना गर्नका निम्ति म आफ्नो एजेन्डाहरु प्रस्तुत गर्नेछु । साथै म महिला भएको नाताले जेसीजमा आवद्ध भएका महिला जेसीजहरुलाई प्रोत्साहित हुनेखालका महिला सशक्तिकरण सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नेछु ।

नेपाल जेसीजको आसन्न महाधिवेशनबारे जानकारी गराइदिनु न ?

– नेपाल जेसीजको ४९औं राष्ट्रिय महाधिवेशन मधेशप्रदेशको विरगञ्जमा यही पुस ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुँदैछ । जहाँ देशभरका एक सय ७४ वटै शाखाबाट जेसीजहरुको सहभागिता हुँदैछ ।

जेसीजमा आबद्ध आम युवालाई तपाईको आग्रह के छ ?

– जेसीजमा आवद्ध युवाहरुलाई सामाजिक रुपान्तरणका लागि तपाईको नेतृत्व समाजमा कोशेढुंगा सावित हुनेछ । तसर्थ, जेसीजमा जुनै शाखामा रहेता पनि व्यक्तित्व विकास सँगसँगै सामाजिक विकासका लागि युवाहरुको सक्रियता जरुरी रहन्छ । त्यसकारण जेसीजलाई माध्यम बनाउँदै आफ्नो र समाजको विकासमा सदैव लागि रहनुहोला भन्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here