प्रातःस्मरणीय शहीदहरुप्रति नमन

१६ माघ २०७९, सोमबार मा प्रकाशित

विश्वका कैयन देशहरुको निर्माणमा केही व्यक्तिको बलिदानी भूमिका रहेको हुन्छ । हाम्रो देशको सन्दर्भमा पनि राष्ट्रको निर्माणमा वडामहाराजधिराज पृथ्वीनारायण शाह नेतृत्वको एकीकरणको अभियानमार्फत युद्ध लडेका वीरहरुको उत्तिकै योगदान छ । एकीकृत, संगठीत तथा बलियो निर्माणको केही पछि नै शासनको बागडोर राणाहरुको कब्जामा पुगेपछि नेपाली झण्डै पराधीनको अवस्थामा पुगेका थिए । ‘प्रजा जसदेखि राजी रहन्छन् उसलाई कज्याइँ दिनु’ भन्ने आदर्श र दीव्य वाणीलाई आत्मसात गरी प्रजातान्त्रिक पद्धति अङ्गिकार गरेको भूमिमा राणाहरुको एकतन्त्रीय र निरंकुश शासनले फेरि पनि बलिदान दिन तयार हाम्रा आदर्शहरु सदासर्वदा सम्पूज्य छन् ।

एक सय चार वर्ष जहाँनीया शासन सञ्चालन गरेका राणा शासनबिरुद्ध चेतनाको बिगुल फुक्ने गंगालाल, दशरथचन्द, शुक्रराज र धर्मभक्त हुन् वा त्यसअघि नै आफूलाई देश र प्रजातन्त्रका लागि बलि चढाएका लखन थापा नै किन नहून् नेपालीका भाग्यका निर्माताहरुलाई सम्झना र सम्मान गर्ने दिन हो आज । उनीहरुको त्याग र समर्पणले हाम्रा अज्ञानता ज्ञानमा, अचेतना चेतनामा परिणत हुन पाएका हुन् । तिनै सपुतहरुको सम्मान गर्ने माघ १६ को पावन दिनमा हामी सबैले चिन्तन र मनन गर्नुपर्ने भएको छ कि उनीहरुको त्यागले प्राप्त स्वतन्त्रता, समानता र सार्वभौमिकता आज कति बलियो भएको छ ! उनीहरुलाई झुण्ड्याएर र गोली हानेर हत्या गरिएको विभिन्न दिनको सन्दर्भमा माघ १० गतेदेखि १६ गतेसम्म साप्ताहिक कार्यक्रम गरी मनाइने शहीद दिवस कतै औपचारिकता मात्रै त भइरहेको छैन ? गम्भीर हुनुपर्ने भएको छ ।

वि.सं. १९९७ माघ १० गते राति खरीको रुखमा झुण्ड्याइएका शुक्रराज शास्त्री र १४ गते राति शोभा भगवतीमा खम्बामा बाँधेर गोली हानिएका गंगालाल श्रेष्ठसम्मका शहीदहरुको बलिदान राजनीतिक पद्धतिको परिवर्तनका लागि थियो । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन र मानव अधिकार उपयोग गर्न सक्ने बनाउनका लागि बलिदान दिएका ती महान सपुतहरुको सपना र त्यागलाई हामीले हाम्रो तर्फबाट र सरकारले सरकारको तर्फबाट कति पूरा गर्न सक्यौं, चिन्तन गर्ने दिन पनि आजै हो । त्यसयता भएका आन्दोलनका क्रममा भएका हिंसामा मारिनेहरुको सूची पनि लामै छ । सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाहरुको सूची पनि जोड्ने हो भने हजारौंको भीड हुनसक्छ । त्यही भीडभित्र आजको दिन देखाउन, हाँसी–हाँसी बलिदान गर्न तयार प्रातःस्मरणीय शहीदहरुप्रति नमन गर्दै उनीहरुलाई मनभित्र सम्मानपूर्वक राख्न सकांै । प्रजातन्त्र प्राप्तिको यज्ञमा आफूलाई खुशी–खुशी आहुती दिएका वीर सपुतहरुप्रति हृदयदेखि श्रद्धाञ्जली ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here