सगरमाथाभन्दा पनि अग्ला शहीदका गाथाहरू

0
230

शहीदहरू स्वप्नद्रष्टा हुन् । शहीदहरूले स्वतन्त्रता, समानता र लोकतन्त्र स्थापनाका लागि सपना देखे र आम जनताको जीवनमा मुक्तिको घाम उदाउने आशा देखाए । सपनालाई विपना र यथार्थमा परिणत गर्नुभन्दा पहिला सपना देखिन्छ । पहिला सपना देखिन्छ र विपनाका लागि अघि बढिन्छ । नयाँ र स्वतन्त्र नेपालको सपना देखाउने शहीदहरू आम जनसमुदायको हितका लागि आफूलाई बलिदान दिन तयार भए । नेपालको इतिहासका पाना पल्टाएर हेर्ने हो भने विभिन्न कालखण्डमा लोकतन्त्र र स्वतन्त्रताका लागि शहीदले जीवन आहुति दिएका छन् ।

ती तमाम शहीदको सम्झनामा विविध कार्यक्रम गरी माघ १० देखि माघ १६ सम्म देशभर शहीद सप्ताह मनाउने चलन छ । शहीद भन्ने बित्तिकै हामी सबैले सम्झने गरेका छौँ– दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई । उनीहरूलाई निरङ्कुश जहाँनिया राणाशासनको विरोध गर्दा प्राणदण्ड दिइएको थियो । उनीहरू लगायत अन्य सम्पूर्ण शहीदको सम्झनामा शहीद दिवस मनाइन्छ । शहीद सप्ताहको उत्कर्षका दिन हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरिएको छ । शहीद दिवस हरेक वर्ष मनाइए पनि यो औपचारिकतामा मात्र सीमित छ । वर्षमा एक दिन शहीद दिवस मनाइने गरेको भए पनि देशले अहिलेसम्म शहीदको योगदानको कदर भने गर्न सकेको छैन । तत्कालीन राजा महेन्द्रद्वारा २०१२ सालमा काठमाडौं नगरलाई शहीद दिवस मनाउने आदेश भएदेखि काठमाडौं नगरले शहीद दिवस मनाउँदै आएको छ । त्यसैलाई पछ्याउँदै मुलुकभर शहीद दिवस मनाइन्छ ।

शहीद दिवसको दिनमा मात्रै शहीदलाई सम्झेर शहीदको योगदानको कदर हुने भने अवश्य होइन । १०४ वर्षे जहाँनिया राणाशासनको जग भत्काएर त्यस शासन व्यवस्थालाई जरैदेखि उखेलेर नेपाली धर्तीमा सुशासन सहितको लोकतान्त्रिक तथा समानतामूलक शासन प्रणाली स्थापना गर्नका निम्ति ज्यानको कुनै प्रवाह नगरी जीवन उत्सर्ग गर्ने महान् शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई हरेक वर्ष हामी सम्झन्छौं । नेपाल आमाका यी चार जना होनहार युवालाई राणाशासकले फाँसीको सजाय दिएर रुखमा झुन्ड्याएर र गोली ठोकेर निर्ममतापूर्वक हत्या गरेको दिनलाई हामीहरू शहीद दिवसको रूपमा मनाउँदै आएका छौँ । वि.सं. १९९७ माघ १० गते राति १२ बजे शहीद शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा बकाइनोको रुखमा झुन्ड्याएर फाँसी दिइएको थियो ।

त्यस्तै अर्का महान् शहीद धर्मभक्त माथेमालाई वि.सं. १९९७ माघ १२ गते राति काठमाडौंको सिफलमा रुखमा झुन्ड्याएर फाँसी दिइएको थियो । अर्का दुई अमर शहीदहरू दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई वि.सं. १९९७ माघ १५ गते राति काठमाडौंको शोभा भगवतीमा गोली हानेर हत्या गरिएको थियो । यी चार जना महान् तथा अमर वीर शहीदहरूको मृत्युदण्डको घटनाले करिब एक शताब्दी लामो नेपालमा निरङ्कुश तथा जहाँनिया राणा शासनको जग हल्लियो । शहीदको रगतले क्रुर जनविरोधी शासनलाई जरैदेखि उखेलेर, फ्याँकेर त्यस ठाउँमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको शासन व्यवस्था स्थापना गर्ने कार्यमा कोशेढुङ्गाको काम गरेको थियो । यो कुरालाई आजका नेपालीले बुझ्न जरुरी छ ।

हुन त आजकाल पछिल्लो समय हुलमुलमा परेर मर्ने र रिसइबी लगायतका कारणले मृत्युवरण गरेकालाई पनि शहीदको कोटीमा राख्ने क्रम पनि शुरु भएको छ । यो परम्परा बन्द हुनुपर्छ । हाम्रो सामु वास्तविक शहीद को हुन् भनेर समकालीन नेपालमा अति नै अप्ठ्यारो प्रश्न उठेको छ । नेपाली बृहत् शब्दकोश अनुसार आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान दिएर लोकहितमा लाग्ने अमर व्यक्ति शहीद हुन् भनी परिभाषित गरिएको छ । तर अहिले शहीदका नाममा कुनै आन्दोलनका बेला घरमा बसेका व्यक्तिलाई गोली लागी मरेका वा कुनै व्यक्तिगत स्वार्थमा वा सडक दुर्घटनामा मारिएका व्यक्तिलाई पनि शहीद घोषणा गरिएको छ ।

समाज र राष्ट्रको हितको लागि बलिदान दिने मात्रै शहीद हुन् । अरु आन्दोलन तथा सशस्त्र द्वन्द्वका क्रममा चेतनशील ढंगबाट सरिक भएर होइन, आन्दोलन तथा सशस्त्र द्वन्द्वमा सम्बन्ध नरहेका तर हुलमुलमा मारिएका व्यक्ति शहीद नभई पीडित हुन् । अहिलेसम्म को–को वास्तविक शहीद हुन् भन्नेमा राजनीतिक दलहरू मै विवाद छ । शहीदको परिभाषामा समेत राजनीतिकरण भएको छ । तर, राणाशासनको बिरुद्धमा बलिदान दिने शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको हकमा भने शहीद हुन् भन्नेमा कुनै दुविधा र दुईमत छैन ।

आज हामी खुलारूपमा आफ्ना विचारहरू राखिरहेका छौँ । गौरव र स्वाभिमानका साथ शिर ठाडो पारेर स्वतन्त्रता र लोकतन्त्रका गीतहरू गाइरहेका छौँ । आजको अवस्था सृजना गर्न सयौं हजारौं महान देशभक्तहरूको त्याग, शौर्य र शहादतले प्रमुख भूमिका खेलेको छ । यो अवस्था शहीदको बलिदानले सम्भव भएको हो । आफ्नो पूरा आयु नबाँची देश र देशबासीका लागि आफ्नो जीवनको बलिदान गरेर अतुलनीय योगदान गरे शहीदहरूले । उनीहरूको नाम स्वर्ण अक्षरले इतिहासमा अंकित छ । आज शहीदको बलिदानको उपादेयताका सम्बन्धमा एउटा यक्ष प्रश्न हामी सामु उभिएको छ– इमानदार र स्वाभिमानी प्रवृत्तिका शहीदले आफ्नो जीवनको कुर्बानी गरेर देशले के पायो र देशवासीले के पाए ? घनान्धकारमा चाँदनी झैं प्रकाश छर्ने शहीदहरूको बलिदानले मुलुकका विपन्न र दुःखीका अनुहारमा कति कान्ति आयो ? कलेँटी परेका ओठहरूमा कति मुस्कान आयो ? स्वाभिमानलाई लिलामी नगरी लाल रगत धर्तीमा पोख्ने शहीदका बलिदानले आजका कलिला नानीका गालामा कति लाली ल्यायो ? शहीदले सदैव रूढीवाद, असमानता, शोषण र विभेदको विरोध गरे ।

एकलकाँटे, पक्षपाती र पीडितलाई अझ पीडा दिने र दुःखीलाई अझ दुःख दिने समाजलाई भत्काएर नवीन–नूतन समाजको परिकल्पना गर्दै सोही अनुरूप संगठित रूपमा अघि बढ्दै जाँदा बलिबेदीमा होमिएका हुन् शहीदहरू । स्वतन्त्रताप्रतिको अगाध आस्थासहित दृढ़संकल्पका कारण उनीहरू आगोमा होमिएका हुन् । उनीहरूका लागि देश ठूलो भयो, जनता ठूला भए, तर उनीहरूको जीवन मुलुक र मुलुकबासीको तुलनामा मूल्यहीन भयो । आमूल परिवर्तनको महान् सोच बोकेर देशमा व्याप्त अत्याचारका बिरुद्धमा बिगुल फुक्ने शहीदको पुकार आजका सरकारले सुनिरहेको छ ? पर्खाइको सरकार मानिने प्रतिपक्ष शहीदको सपना बुझिरहेको छ ? वैचारिक रुपमा लोकतन्त्र र गणतन्त्रका लागि हाँसी–हाँसी तातो गोली थापेका नेपाल आमाका सर्वोत्तम सन्तानहरुको रगतको मूल्यको मूल्याङ्कन भइरहेको छ ? अनमोल जीवन किन बलिदान गरे शहीदले ? मुठी उचालेर क्रान्तिकारी बाटो चुन्नु भन्न जति सजिलो छ, व्यवहारमा त्यति नै अप्ठेरो छ । मानिसका लागि आफ्नो जीवनभन्दा प्यारो केही हुन्न, तर शहीदका लागि त मुलुक र मुलुकबासी आफ्नो प्राणभन्दा प्यारा भए । हाँसी–हाँसी गोली थाप्नु कहाँ सजिलो छ र !

समाजलाई निरंकुशताका जञ्जिरले बाँधेका बेलामा यथास्थितिका बिरुद्धमा सतीसाल झैं उभिनु र सबैभन्दा प्रिय आफ्नो जीवन नै बलिदान गर्नु भन्न जति सजिलो छ, व्यवहारलाई सम्झँदा मात्र पनि बाँचेकाको लागि मन भय र त्रासले भरिन्छ । भोकानाङ्गा जनताका लागि सहानुभूति देखाउनु र उनीहरुका लागि जीवनको न्यौछावर गर्नु चानचुने कुरा होइन । ओजस्वी विचारका धनी शहीदहरूले दिशानिर्देश गरेको बाटोमा आज मुलुक हिँडिरहेको छ कि छैन ? आज हामीले घोत्लिनुपर्ने बेला आएको छ । सही बाटो हिँड्दैछौं कि भुल्यौं ? लोकतन्त्र विरोधी राणा शासन र पञ्चायतका हिमायती मात्र होइन, बहुदलीय व्यवस्थाभित्रका सरकारहरूले पनि बौलाएर सकारात्मक सोचका धनी नेपाल आमाका हजारौंहजार सन्तति माथि गोली बर्साए । उनीहरूलाई वर्षौंवर्षसम्म जेलभित्रका सेलहरूमा बन्दी बनाइयो र कुनै अमूक निर्जन वनमा कुनै कालो रातमा प्राणपखेरु उडाइयो । निरङ्कुश शासकका अभेद्य जालो च्यातेर अकरिला उकालो हिँड्दा शहीदहरू कहिले पनि शिर निहुराएर लत्रेनन् । मुलुकका वैरीसामु आत्मसमर्पण गरेनन् । आफ्नै दाजुभाइ, दिदीबहिनी माथि गोली बर्साउनेहरू नेपाल आमाका सपूत वा सन्तान होइनन्, उनीहरु त नरपशु हुन् र कपूतहरु हुन् ।

समय कति बलवान छ– शहीदहरू सबैभन्दा माथि मुस्कुराएर प्रत्येक जनजनका मनमनमा स्थापित छन्, जनताका छोराछोरीमाथि नृशंस दमन गर्नेहरू घृणित पात्रका रूपमा बद्नाम छन् । कहाँ छन् जनतामाथि गोली ठोक्नेहरू ? दमनकारीहरू अभिषप्त जीवन बाँचिरहेका छन् र कतिपय फुङ्ग उडेको मूल्यहीन जीवन बाँचेर यस धरतीबाट बिदा भइसकेका छन् । उनीहरूको कुनै सुनाम छैन । दुनियाँले शहीदका हत्यारा भनी तिनीहरूलाई थुकिरहेका छन् । हातमा बन्दूक हुने बित्तिकै सत्ताको उन्मादले आफ्नै देशवासीलाई छातीमा गोली दाग्नेहरू शहीद दिवसमा लामालामा स्वतन्त्रताका भाषण दिनसक्छन्, लच्छेदार शहीद गाथा गाउन सक्छन् र आफ्नो नियन्त्रण र प्रभावमा रहेका टेलिभिजनका पर्दामा तप्लकतप्लक गोहीका आँशु झार्न सक्छन्, आफ्ना नजिकका नाङ्ले अखवारमा भँगेरे टाउके अक्षरमा स्तुतिगानका चारणहरू लेखाउन सक्छन् ।

स्मरणशक्ति कमजोर हुनेका लागि उनीहरूको अभिनय वास्तविक लाग्न सक्छ र उनीहरू वास्तविक लोकतन्त्रका हिमायती लाग्न सक्छन् । नक्कली र ढाेंगी प्रधानमन्त्री, मन्त्री र नेताहरूको भाषण सुन्दा हामी आफैं भ्रममा पर्न सक्छौं र शहीदको बलिदान फिका लाग्न सक्छ । बिना मूल्य किन मरे उनीहरू भनेर शहीदको बलिदान बेअर्थको लाग्न थाल्छ, तर वास्तविकता भनेको लोकतन्त्र र स्वतन्त्रताका लागि बलिबेदीमा चढेका नौजवान नेपाल आमाका महान सन्तान हुन् र हामी सदैव शहीदहरूको ऋणी रहनेछौं ।

लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार र अन्त्यहीन विवादको श्रृंखलाका बीचबाट गुज्रँदै आएको देशको आर्थिक, सामाजिक, शैक्षिक रूपान्तरण सुस्त गतिमा छ । जनताका आशा र अपेक्षाहरू आकाशिएका छन् । तर, शहीदको कसम खाएका दलहरू आफैंले जनसमक्ष आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउने प्रतिबद्धता भुलिरहेका छन् र सत्ताको लुछाचुँडीमा कुकुर–बिरालाको खेलमा व्यस्त छन् । आधुनिक, सम्पन्न र समृद्ध नेपालको निर्माणमा लोकतन्त्रको स्थापना गरी सोही अनुरूपको अभ्यासको माध्यमबाट अघि बढ्दा मात्र जनादेश र मतादेशको सम्मान हुने निश्चित छ । घनान्धकारमा चाँदनी झैं प्रकाश छर्ने शहीदहरूको बलिदानले मुलुकका विपन्न र दुःखीका अनुहारमा कति खुशी आयो ? शहीदका बलिदानले आजका कलिला नानीका गालामा कति उज्यालो आयो ? आज यी प्रश्नहरू फगत प्रश्नका रूपमा मात्र छैनन्, यी प्रश्नको सटिक उत्तरको प्रतीक्षा छ समयलाई ।

जनताका सामु श्रेष्ठता कायम गरेर मात्र शासन गर्नुपर्छ भन्ने मान्यता अनुरूप अघि बढ्दा शासकको कोपभाजनमा परेर वामपन्थी सोच र दर्शनका अनुयायीहरू बढी संख्यामा शहीद भएका छन् हाम्रो देशमा । साँच्चै भन्ने हो भने नेपाल कम्युनिष्ट पार्टी त शहीदको विरासत नै हो भने हुन्छ । नेपालका हरेक गाउँबस्ती शहीदका गाउँ भएका छन् । तर, यो सच्चाइलाई ग्रहण गरेर सोही अनुरूपको व्यवहार कम्युनिष्टरूले गर्न सकिरहेका छैनन् । आज नेताहरू विनम्र र जनसेवक हुनुपर्नेमा अहंकार र दम्भले भरिएका छन्, उनीहरू लोभलालच र तृष्णाले वशिभूत भएका छन्, उनीहरूलाई महत्वाकांक्षाले गलाएको छ । शहीदको रगतले लत्पतिएको पार्टीको नाम र झण्डालाई च्यातच्युत पारेका छन् उनीहरूले । उनीहरू शहीदले देखाएको बाटोबाट विचलित भएर व्यक्तिगत स्वार्थ र दलगत आग्रहको दलदलमा फँस्दै गएका छन् । जनताको प्यारो भएर जनताको बीचमा आफूलाई श्रेष्ठ प्रमाणित गर्नुपर्नेमा आफै मपाईं बनेर जनताभन्दा माथि आफूलाई सम्झन थालेका छन् ।

आठ दशकदेखिको नेपाली जनताको सपना हावामा धुलो झैं उड्दैछ । शहीद दिवसको यो अवसरमा शहीदको बलिदानलाई ग्रहण गरी मुलुक र मुलुकबासीको हितमा कार्यक्रम र कार्ययोजना बनाई नेपाललाई केन्द्रविन्दुमा राखी नेपालका सबै दलहरू सोही अनुरूप अघि बढ्नेमा विश्वास गर्न सकिन्छ । शहीद दिवसमा सबैभन्दा ठूलो धर्म जनसेवा, सबैभन्दा ठूलो कर्तव्य मुलुकको रक्षा हो भन्ने सच्चाइलाई ग्रहण गर्न सबैलाई उत्प्रेरणा प्राप्त हुनेछ अपेक्षा गर्न सकिन्छ । नेपाल आमाका वीर सपूत र क्रान्तिकारीहरूको असीम त्याग र समर्पणका कारणले नै आज हामी अहिलेको अवस्थामा छौं । त्यसैले त ‘शहीदको सम्झनामा’ कवितामा कवि भूपि शेरचन भन्छन्– ‘हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा धड्कन छ शहीदको ।’ जनवादी कवि मोदनाथ प्रश्रित भन्छन्– ‘संसारभरमा सबभन्दा अग्लो सगरमाथा छ, त्योभन्दा पनि झन् माथि पुग्ने शहीदको गाथा छ ।’ तसर्थ, शहीदको सपनाको सम्मान गरौँ । शहीदको जीवन आहुतिको सश्रद्धा स्मरण गरौँ । उनीहरूको देनलाई आत्मसात गरौँ र नवीन नेपालको निर्माणको उनीहरूको सपना पूरा गर्ने महान कार्यमा समर्पित बनौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here