समाजसेवी कोपिला बस्नेतलाई : उत्कृष्ट नागरिक सम्मान

१६ माघ २०७९, सोमबार मा प्रकाशित

कनकाई।

सुरुङ्गा जेसीजले यस वर्ष कानून र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति बिर्तामोड–१ निवासी कोपिला बस्नेतलाई वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ ।

जेसीजको १४औं पद हस्तान्तरण समारोहको अवसरमा बस्नेतलाई सम्मान गरिएको हो । अधिवक्ता तथा समुन्नत नेपालकी संस्थापक बस्नेतलाई न्याय पाउन नसकेका महिला तथा आर्थिक अवस्था कमजोर भएका सयौं पीडितहरूलाई निःशुल्क वकालत गरेर न्याय दिलाएको सहयोग गरेको भन्दै सम्मान गरिएको हो ।

त्यस्तै परिवारविहीन र समाज तथा परिवारबाट उपेक्षित महिलाहरूलाई बिर्तामोडस्थित समुन्नत नेपालमा आश्रय दिएर विभिन्न आयमूलक सीप सिकाएर सयौं महिला, किशोरीहरूलाई आत्मनिर्भर बनाउन तालिम प्रदान गरी विभिन्न हस्तकलाका सामग्रीहरू उत्पादन गराएर देश तथा विदेशमासम्म बिक्री गर्दै आश्रित महिलाहरूलाई आर्थिक आत्मनिर्भर बनाउँदै उनीहरूको भाग्य र भविष्य सुन्दर बनाउन उल्लेखनीय योगदान गरेको भन्दै झापालीहरू मध्येबाट यसपटक वर्ष उत्कृष्ट नागरिक सम्मानद्वारा सामाजिक अभियन्ता बस्नेतलाई सम्मान गरिएको सुरुङ्गा जेसीज उत्कृष्ट नागरिक छनोट समितिका संयोजक त्रिलोचन उप्रेतीले बताए ।

जेसीजले दिने उत्कृष्ट नागरिक सम्मान झापामा निकै ओजिलो सम्मानको रुपमा लिइने गरिएको छ । यसअघि झापाका विभिन्न क्षेत्रमा आवद्ध रहेर योगदान पु¥याउने दर्जनभन्दा बढी विशिष्ट व्यक्तिहरु सुरुङ्गा जेसीजबाट सम्मानित भइसकेका छन् ।

चन्द्र मैनाली समाजसेवा, पुष्पलाल निरौला (स्व.)–धार्मिक, चन्द्र भण्डारी–सञ्चार, लोकराज ढकाल–मानवसेवा, हरि खड्का–खेल, दिलभूषण पाठक–सञ्चार, सबिना बस्नेत –खेल, इन्दिरा रानामगर–समाजसेवा, महेन्द्रकुमार गिरी–लघुवित्त, प्रमोद खरेल–कला, कोमल पोखरेल–साहित्य, मनोज गजुरेल–कला र यस वर्ष कानून तथा समाजसेवाको क्षेत्रबाट अधिवक्ता बस्नेतलाई सम्मान गरेको हो ।

सामाजिक अभियानकर्मी बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, सांसद लालप्रसाद साँवा, सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने, पूर्व अध्यक्ष शिवकुमार कँडेल लगायतले सम्मन गरेका थिए ।

सम्मानित व्यक्तित्व बस्नेतलाई नौमती बाजा, पञ्चकन्या र उपस्थित लब्धप्रतिष्ठित व्यक्तिहरूले एस्कर्टिङ गरेर कार्यक्रम स्थलमा ल्याएका थिए । उत्कृष्ट नागरिकको परिचय सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले गराएका थिए ।

– विनोद पाण्डे

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here