संकीर्णता त्याग

0
131

कोशी प्रदेश नामांकन भएको भन्दै पहिचानको माग राख्दै आएका संगठनले प्रदेश बन्दको आह्वान गरेपछि झापा लगायतका बजार क्षेत्रहरु प्रभावित भएका छन् । देशमै सबैभन्दा बढी विवाद भइ भर्खर मात्रै नाम पाएको कोशी प्रदेश खारेज हुनुपर्ने माग राख्दै शनिबार घोषणा गरिए अनुसार पहिचानवादी समूहले बन्द लगायतका आन्दोलनको कार्यक्रम शुरु गरेका हुन् । राजनीतिक दल तथा जातीय संगठनहरुको आह्वानमा भएको बन्दका कारण झापाका बजार केन्द्रीत शिक्षण संस्थाहरु बन्द भए भने आर्थिकरुपले रुग्ण भइसकेका उद्योग तथा वाणिज्य क्षेत्र पनि प्रभावित हुन पुगे । आदिवासी जनजातिको पहिचान नै नामेट पारेको आरोप लगाउँदै आएका पहिचानवादी दल तथा जातीय संगठनहरुले एकता गर्दै– छ महिनाभित्र एकता महाधिवेशन गर्ने जनाएका छन् । एकता प्रक्रियामा सहभागी दलहरुले सात बुँदे सहमति गर्दै जातीय पहिचानका आधारमा स्वायत्त राज्य, क्षेत्र, संरक्षित क्षेत्र, संविधानको पुनर्लेखन लगायतका विषयमा एकताबद्ध भएको जनाएका छन् ।

आफ्ना माग पूरा गर्न विभिन्न किसिमले दवाब दिनु प्रजातान्त्रिक प्रणालीकै मान्यता हो । देशमा भएका सबै राजनीतिक परिवर्तन त्यही प्रणाली र मार्ग हुँदै आएका पनि हुन् । त्यसकै सिको गरेर सबै दल, समूह, संगठनहरुले आफ्ना माग पूरा गर्न राज्यलाई दवाब दिने गरी आन्दोलनका कार्यक्रम सञ्चालन गर्छन् र गर्न पाउँछन् । तर, त्यसो गर्दा समाज, क्षेत्र र राष्ट्रलाई कस्तो असर पर्ला त्यसको हेक्का आन्दोलन गर्नेले राख्नु पर्दछ । संसारमै सबैभन्दा बढी बिदा र बन्द हुने देशमा कहलिएको हामी कहाँ भइरहने यस्ताखाले बिदा र बन्दले आर्थिक, शैक्षिक लगायतका क्षेत्रमा पारेको प्रभाव र असरलाई यही रुपमा अनियन्त्रित ढंगले छाड्ने हो भने हाम्रा सम्पूर्ण अवयवहरु स्थिर बन्ने निश्चित छ । त्यसले न जातीय पहिचान कायम हुन्छ न त समृद्धिको सपना नै पूरा हुन्छ ।

पहिलो कुरा त यति सानो भूगोल र जनसंख्या भएको देशमा संघीयता देश र जनताका लागि आवश्यक छैन । दोस्रो जातीय र क्षेत्रीय संकीर्णताले कुनै पनि समूह वा जाति समुन्नत हुन सक्दैन । अझ नयाँ पुस्ता जाति, वर्ग, क्षेत्रगत संकुचित मानसिकताबाट क्रमशः बाहिरिएको बेला फेरि त्यही गतिमा पु¥याउने खेलले कुनै व्यक्तिलाई लाभ होला, तर समग्रमा प्रत्युत्पादक नै हुन्छ । बन्द गरेर सम्पूर्ण जीवनलाई ठप्प पार्दा कसैको अहम् तुष्टि त होला, तर समाज सधैँ दण्डित हुन्छ । त्यसैले आन्दोलनकारीहरुले पनि आन्दोलनका कार्यक्रम र मानसिकतालाई बदल्न जरुरी छ । आन्दोलनका लागि ‘भोक हड्ताल’ सबैभन्दा उत्तम र प्रभावकारी बिद्रोह हुनसक्छ । चक्काजाम बन्द जस्ता कार्यक्रमले बिद्रोह, हिंसा र विध्वंश निम्त्याउँछ, जो कसैको पक्षमा हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here