सेवा प्रवाह प्रभावपूर्ण होस्

0
87

प्रधानमन्त्री पुष्पकमल दाहालले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले दोस्रोपटक विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनु परेको हो । राष्ट्रपति निर्वाचनमा दलीय समीकरण फेरिएपछि सरकार अल्पमतमा परेको छ । त्यसैले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न प्रम दाहालले संसद सचिवालयलाई चैत ६ गते विश्वासको मत लिने सूचना पठाएका थिए । राप्रपाले गत फागुन १३ गते र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

नयाँ समीकरण अनुसार संसदमा प्रतिनिधित्व गर्ने दश वटा दलले सरकारलाई विश्वासको मत दिने प्रधानमन्त्री दाहालको अपेक्षा छ । वर्तमान गठबन्धन अनुसार नै विश्वास प्राप्त गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने प्रम दाहालको योजना छ । विश्वासको मत नलिई सरकार विस्तार गरे गठबन्धनभित्रका दलमा किचलो आउन सक्ने आशंकामा पहिला विश्वास लिन तयार प्रम दाहाल सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई महत्त्वपूर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराउने योजनामा छन् । उता एकाएक राजनीतिक उचाइ प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि महत्त्वपूर्ण मन्त्रालय पाएको खण्डमा विश्वासको मत दिने पक्षमा रहेको बताइन्छ ।

नेपाली राजनीतिमा चतुर खेलाडी जस्तै देखिएका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल आफू सुरक्षित हुन गठबन्धनका दलहरुसँग समन्वय र सम्पर्क विस्तारमा छन् । त्यही रणनीति अनुसार गठबन्धनमा दलहरुको संख्या दश पुगिसकेको छ । कथम्कदाचित विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नेछ । यसो भयो भने पनि गठबन्धन नै हुने र नयाँ समीकरण बन्न सक्ने अवस्था छ । यस्तोमा हाल संसदमा कायम रहेको दुई सय त्रिहत्तर सांसद मध्ये एक सय सैंतीस सांसदको समर्थन प्राप्त गर्नैपर्ने दवावमा छन् प्रधानमन्त्री दाहाल । संसदमा आज हुने विश्वासको मत परिणामले भावी सरकारको तस्विर कोर्नेछ । त्यो तस्विर वास्तवमै सुशासन र सेवा प्रवाहको प्रभावकारितामा देखिन सक्यो भने देशको हितमा हुन्छ । अहिलेको आवश्यकता पनि स्थायित्व र सुशासनको प्रत्याभूति नै हो । यसतर्फ राजनीतिक दलहरु सजग र गम्भीर होऊन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here