खुशीको सङ्कथन र विकासको समग्र पहुँचभित्रको अन्तर्य

६ चैत्र २०७९, सोमबार मा प्रकाशित

खुुशी दीगो कल्याणको अनुभूति हो । यो चित्तमा शान्ति र जीवनमा सन्तुष्टिको भाव हो । खुशी आफ्नो चाहनासँग सम्बन्धित हुन्छ । चाहना र खुशी जोडिएको छ । हामी कस्तो हुन चाहन्छौँ भन्ने कुराले हाम्रो खुशी निर्देशित हुन्छ । त्यसकारण खुशी भनेको एक प्रकारको दृष्टिकोण हो । जसले आफूलाई सन्तुष्ट लाग्ने कुराहरु खोज्न अभिप्ररित गर्दछ । खुशी र दृष्टिकोण एकआपसमा जोडिएका छन् । दृष्टिकोणले खुशी दिने हो । खुशी एउटा यस्तो दृष्टिकोण हो । जसले हामीलाई सन्तुष्ट दिन्छ । हामी सबै सधैँभरी खुशी खोजिरहेका हुन्छौं । यसको अलिकति मात्र स्वाद पाइयो भने यो अवस्था सधैँका लागि कायम रहोस् भन्ने चाहन्छौं । हामी सुखसयल र खुशीमा झुक्किन सक्छौं । हामीहरू मीठो खानेकुरा खान पाउँदा, महँगो कपडा लगाउन पाउँदा र सधैभरी मोजमस्ती गर्न पाउँदा खुशी भइन्छ सोच्ने गर्छौं । तर, हामीले सोचे जस्तो यी सुखसयलहरूले काम गर्दैनन् ।

हामी यस्तो पनि सोच्न सक्छौं– आवश्यकताहरू र चाहनाहरू पूरा भए हामी खुशी हुनेछौं । तर, यथार्थमा आफ्नो बारेमा मात्र सोचिरहँदा हामी झन् एक्लो र निराश हुनपुग्छौं । बाहिरबाट प्राप्त सुख क्षणिक हुन्छ र हामीलाई त्यसको अझ बढी चाहना हुन थाल्छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धले भन्नुभएको छ– वास्तविक खुशीको सबैभन्दा ठूलो उपाय अरुको खुशीमा रमाउनु हो । भित्रदेखि नै अरुको कल्याण र खुशीको कामना ग¥यो भने हाम्रो हृदय खुला तथा प्रेमपूर्ण हुन थाल्छ र हामी स्वतः अरुसँग बढी नजिक अनुभव गर्न थाल्छौं । हाम्रो आफ्नै पनि कल्याण हुन थालेको अनुभव गर्छौं । हाम्रो जीवन अर्थपूर्ण हुन थाल्छ । परिवार र साथीहरूको भावनात्मक सहयोग पाएर हामी जीवनमा आइपर्ने जुनसुकै चुनौतिको सामना गर्न सक्षम भएको अनुभूति गर्न थाल्छौं । अरुको कल्याण गर्न सक्षम हुनका लागि हामीले आफैंबाट काम शुरु गर्नुपर्छ । पहिला आफ्नो ख्याल राखौं । यदि आफ्नै खुशीको कामना गर्न सकिएन भने अरुको पनि गर्न सकिँदैन । विश्वव्यापी रूपमा सबैको खुशीको कामना गर्न सकेमा मात्र आफूमा पनि खुशी अनुभूति हुन्छ ।

खुशी क्षणिक रूपमा कसैले केमा प्राप्त गर्छन् कसैले केमा भन्न नै नसकिने रहेछ । कोही धन कमाएर खुशी हुन्छन्, कोही प्रेममिलनमा, कोही दुखिरहेको शरीर र मन सञ्चो हुँदा खुशी हुन्छन् । कोही अर्कालाई दिन पाउँदा खुशी हुन्छन् कोही अरूबाट लिन पाउँदा खुशी हुन्छन् । कोही आफूले सोचेको काम गर्न पाउँदा खुशी हुन्छन् त कोही अरुले दुःख पाउँदा खुशी हुन्छन् । कोही भगवानको साधनामा लीन भएर, कोही कसैको मीठो बोलीमा । कोही सफलतामा त कोही सन्तानको उन्नतिमा । कोही अर्काको कुरा काट्न पाउँदा खुशी हुन्छन् त कोही आफ्नो कुरा अरुले सुनिदिए खुशी हुन्छन् । बुझ्नैपर्ने कुरा के हो भने सबै मुस्कुराउने र हाँस्नेहरू भित्रैदेखि खुशी नहुन सक्छन् । तर, उनीहरू हरेक बहाना र उपाय अपनाएर खुशी हुने प्रयास गर्छन् । भौतिक सुविधाको सहज उपलब्धताले मानिसलाई सुख पक्कै दिन्छ । भौतिक सुख खुशीको एउटा आधार हुन सक्छ, तर खुशीको समानअर्थी हुन सक्दैन । सबै खुशी मानिसहरू सुखी र सबै सुखी मानिसहरू खुशी नहुन पनि सक्छन् । हामीले सधैँ प्राप्तिमा मात्र खुशी हुन सिक्यौँ । अप्राप्तिमा पनि खुशी हुन सक्नुपर्छ । हामी लिनमा मात्र खुशी हुन सिकेका छौं, दिनमा पनि खुशी बन्नुपर्छ । अर्को मान्छे उपस्थित भएपछि खुशी आउँछ वा दुःख आउँछ भनेर सिक्यौँ । केही वस्तु उपस्थित भयो भने खुशी या दुःख आउँछ भनेर सिक्यौँ । त्यो भन्दा पनि पर जीवनको सुन्दरता छ भनेर खोज्न जरुरी छ । सुख आफूभित्रको अनुभूति हो भन्ने भेउ पाएनौं ।

मानिसहरू खुशी हुन भौतिक सुख–सुविधा मात्रै नभएर उनीहरूको विचार, विश्वास र संस्कार पनि महत्त्वपूर्ण हुन्छन् । कामको चाप, महत्त्वकांक्षा, प्रतिस्पर्धा, समस्या, पीडा, तनाव जस्ता कुराले बाह्य परिस्थिति प्रतिकुल हुँदैमा हामी दुःखी भइहाल्छौं । हामीलाई कुनै समस्या भयो, प्रतिकुल अवस्था पैदा भयो भने दुःखी भइन्छ । तर, समस्याको समाधान दुःखी भएर हुँदैन । खुशीको स्रोत हामी आफैभित्र हुन्छ । हाम्रो कर्मबाट प्राप्त सन्तुष्टी नै खुशी हो । खुशी हुने इच्छा स्वभाविक हो, किनभने यो हाम्रो मूल प्रकृति हो । जब हामी बच्चा थियौ, त्यसबेला त्यसै पनि खुशी थियौं । त्यो हाम्रो प्रकृति थियो । खुशी अन्यत्रबाट मिल्ने होइन । धनदौलतले पनि खरिद गर्न सकिने होइन । किनभने यो हामी आफैभित्र छ । अर्थात् खुशीको स्रोत आफैभित्र छ । आफ्नो काममा रमाउन र आफ्नो कामलाई प्रेम गर्न सकियो भने खुशी त्यहीबाट प्राप्त हुन्छ ।

सकारात्मक सोच, चिन्ताबाट मुक्ति, उच्च मनोबल, अरुको असल गुण अनुशरण, समयको नतिजामुखी उपयोग, असल एवम् सकारात्मक साथीको संगत, इष्र्या गर्ने भावनाको त्याग आदि खुशी प्राप्तिका आधार हुन् । अध्ययनले देखाएको छ– जो व्यक्ति उदार हुन्छन्, उनीहरू बढी खुशी हुन्छन् । उदार हुँदा हाम्रो मस्तिष्कमा परिवर्तन हुन्छ, जसले हामीलाई सुखद् अनुभूत गराउँछ । खासगरी निष्कपट व्यक्ति, जो आफ्नो आवश्यकता र प्रगतिमा केन्द्रित हुन्छन् । अरुको प्रगतिमा बेचैन हुँदैनन् । इष्र्या गर्दैनन् । लोभ र मोह हुँदैन । हरेक कुरामा खुलस्त हुने व्यक्ति नै सुखी हुन्छन् । साथै यस्ता व्यक्तिहरू अरुको सहयोग गर्नमा आनन्द अनुभूत गर्छन् ।

भारतीय योगी जगदिश वासुदेव (सद्गुरु)भन्छन्–खुशी हुने वा दुःखी हुने भन्ने कुरा वास्तवमा तपाईंको रोजाइ हो । मानिसहरूले दुःखी हुन रोज्नुको कारण के हो भने उनीहरू दुःखी भएमा केही पाइन्छ भन्ने सोचिरहेका हुन्छन् । यस्तो सिकाइएको छ कि यति तपाईंले पीडा भोग्नुभयो भने तपाईं स्वर्गमा जानुहुनेछ । यति तपाईं पीडामा डुबिरहने मानिस हो भने यसै पनि तपाईं स्वर्गमा गएर के पो गर्नुहुन्छ र ? तपाईंको लागि त नर्क चाहिँ बढी प्यारो आश्रय हुनेछ । जब तपाईं दुःखी बन्नुहुन्छ, तपाईंले जे–जति प्राप्त गर्नुभए पनि त्यसले के नै अर्थ राख्छ र ? यो कुनै दर्शन होइन, यो तपाईंको वास्तविक प्रकृति हो । स्वभावतः तपाईं खुशी हुन चाहनुहुन्छ । खुशी नै जीवनको मूल लक्ष्य हो । तपाईं किन स्वर्ग जान चाहनुहुन्छ ? केवल यसकारण, किनकि कसैले तपाईंलाई यो भनिदिएका छन् कि यदि तपाईं स्वर्ग जानुभयो भने खुशी रहनुहुनेछ । सुख प्राप्तिका लागि दुःखको स्रोत थाहा पाउनुपर्छ । तपाईं जे–जति गरिरहनु भएको छ, त्यति गरिसक्दा पनि यदि खुशी प्राप्त भइरहेको छैन भने, यसको अर्थ के हो भने, कहीँकतै जीवनका मूलभूत कुराहरू बिर्सिइएको छ । सम्पूर्ण दुःख–कष्टहरूको आधार के हो भने तपाईंले आफूलाई असत्यमा स्थापित गर्नुभएको छ । तपाईं जे होइन, त्योसँग तपाईंले निकै गहिरो पहिचान स्थापित गर्नुभएको छ । सदगुरु भन्छन्– तपाईं जे होइन, त्यसलाई कटौती गर्नुहोस् ।

सन् १९७२ मा भुटानका तत्कालीन राजा जिग्मे सिंगे वाङ्चुकले ‘औसत राष्ट्रिय खुशी’ (ग्रस नेसनल ह्यापिनेस, जीएनएच)लाई लिएर नयाँ परिभाषामा भनेका थिए–‘मुलुकको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)भन्दा औसत खुशीको सूचकाङ्क महत्त्वपूर्ण हो जसमा सुखी–खुशी हुनाको आधार गैर–आर्थिक सूचकाङ्कले तय गर्न सक्छ ।’ तत्कालीन राजा वाङ्चुकको यही परिभाषालाई संयुक्त राष्ट्रसंघले सन् २०११ मा विशेष प्रस्तावका रूपमा पारित ग¥यो, जहाँ खुशीलाई ‘विकासको समग्र पहुँच’ भन्दै यसको सूचकाङ्क पहिल्याउन भुटानको खुशी–सुखी मानकलाई आधार मान्न विश्व समुदायलाई आग्रह गरियो । जीएनएच प्रतिवेदन अनुसार, विश्वका १५६ मुलुकमध्ये भुटान ९५औं सफल खुशी राष्ट्र बनेको छ । तर, यो पूर्ण सत्य होइन, मानव विकास सूचकाङ्कको अन्तिम लक्ष्य भनेकै ‘राष्ट्रिय खुशीको आधार हुन सक्ने’ भन्दै एक लाखभन्दा बढी आफ्ना नागरिकलाई फरक भाषा–भेष र संस्कृतिकै आधारमा ‘जातीय सफाया’ गरिसकेको भुटानलाई राष्ट्रसंघले विश्वसामु पुरस्कृत गर्नु विडम्बना हो । जीएनएचको मुख्य चार वटा आधार दिगो एवम् समानतामूलक सामाजिक–आर्थिक विकास, वातावरणीय संरक्षण, संस्कृतिको संरक्षण र प्रबद्र्धन तथा सुशासनलाई मानिएको छ ।

राजनीतिक अस्थिरता, भौतिक पूर्वाधारको पर्याप्त विकास नभएको अवस्था, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभाव, धुँवा, धुलो, वेरोजगारी, गरिबी, बत्ती, पानी जस्ता अति सामान्य कुराको पनि सहज उपलब्धताको असुविधा भएको अवस्थामा सुख कहाँ होला र भन्ने प्रश्न छ । सुख नभए खुशी सम्भव हुँदैन भन्ने आमधारणा छ । अत्यन्त सामान्य लाग्ने कुरामा पनि धेरै खुशी हुने हामी नेपालीको संस्कार छ । वास्तवमा हामीलाई चाहिएको सुख भौतिक सम्पन्नतासहितको आत्मिक सुख हो । समाज, राष्ट्र र विश्वको कल्याणको हृदयतः कामना गर्न सकेमा मात्र वास्तविक सुखानुभूति हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here