आयुर्वेदप्रति बढ्दो विश्वास

७ चैत्र २०७९, मंगलवार मा प्रकाशित

आयुर्वेदिक उपचार पद्धतिप्रति जनआकर्षण बढ्दै गएको छ । उपचार पद्धतिका विभिन्न क्षेत्रहरु प्राकृतिक, होमियो, आधुनिक अर्थात् एलोपेथिक र आयुर्वेदिक उपचारका आ–आफ्नै विशेषता छन् । यद्यपि रोगको निदानका लागि एलोपेथिक उपचार पद्धति नै विश्वसनीय र प्रभावकारी मानिँदै आएकोमा अहिले आयुर्वेदिक पद्धतिप्रति आम मानिसको आकर्षण बढ्दै जान थालेको हो । कुनै समय उपेक्षित बनेको यो पद्धतिप्रति जनआकर्षण बढ्नुका पछि यसमा लाग्ने खर्च, रोगको पूर्णतः निदान र प्रभावकारी तथा दक्ष जनशक्तिबाट प्राप्त हुन थालेको सेवा नै मुख्य कारण हुनसक्छ । यतिखेर देशका दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा पनि दक्ष चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेको छ । त्यसकै उदाहरणका रुपमा पूर्वी नेपालको भोजपुर जिल्लास्थित जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई लिन सकिन्छ ।

केन्द्रमा आयुर्वेद पद्धतिभित्रका पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन भइरहेको छ । स्वास्थ्य केन्द्रमा बाथरोग, हाडजोर्नी, अम्लपित्त, पायल्स लगायतका रोगीहरुको प्रभावकारी उपचार भइरहेको छ । जसका कारण सेवाग्राहीहरुको संख्या दिनहुँ बढ्दै गएको वैद्य अनिलकुमार मण्डलले जानकारी दिएका छन् । अझै सेवा प्रभावकारी बनाउन सुविधायुक्त निजी भवन र दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारीको खाँचो रहेको केन्द्रले जनाएको छ । आधुनिक उपचार पद्धति खर्चिलो हुने, रोग निर्मूल गर्न कठिन हुने तथा औषधिको साइड इफेक्ट पनि हुने कारणले आमनागरिकको आकर्षण यसतर्फ बढेको हुनसक्छ । खासगरी कोरोनाको महामारीका समयमा आयुर्वेद औषधिको प्रयोग गरिएकाले पनि यसप्रति जनविश्वास बढेको हो ।

आयुर्वेद परम्परा र संस्कृतिसँग जोडिएको उपचार पद्धति हो । यसमा प्रकृति प्रदत्त जडीबुटीको उपयोग गरिन्छ । यत्ति हो कि कुन वनस्पति कुन अवस्थामा प्रयोग गर्दा रोग निर्मूल हुन्छ त्यसको उचित ज्ञान हुनुपर्छ । हाम्रो भूगोल, प्रकृति र हावापानीले बहुमूल्य तथा औषधीय गुण भएका थुप्रै वनस्पति दिएको छ । ती मध्ये कति दुर्लभ प्रजातिका पनि छन् । जान्नेका लागि तिनै ‘श्रीखण्ड’ बनिन्छन् भने नजान्नेका लागि सुर्पाको बिँड मात्र । त्रेतायुगमा मृत्यु शय्यामा पुगेका भगवान लक्ष्मणलाई सञ्जीवनी बुटीको सेवनले पुनर्जीवन दिएको दृष्टान्त र संस्कृति रहेका पूर्वीय दर्शनभित्रको यो उपचार पद्धतिलाई आधुनिकता र प्रविधिसँग जोड्न सकिए अझै बढी लाभ लिन सकिने निश्चित छ । यसका लागि सरकारले बढी चासो देखाउनुपर्छ, जनशक्ति र प्रविधि विस्तारमा ध्यान दिनुपर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here