पत्रकारिता विश्वासयोग्य होस्

१४ चैत्र २०७९, मंगलवार मा प्रकाशित

नेपाली पत्रकारिताको विश्वसनीयता कम हुँदै गएको सन्दर्भमा राजधानी काठमाण्डौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले त्यसो हुनुका कारणहरुका बारेमा विमर्श गरेका छन् । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले हाल देखिएका समस्याहरुको पहिचान र तिनको समाधान गर्नुपर्नेमा जोड दिए । सञ्चारमाध्यमका विषयवस्तु सामाजिक न्यायका लागि हुनुपर्नेमा आजको पत्रकारिता कुनै दल विशेष, अभियान र स्वार्थ विशेष हुने गरेको छ । जसका कारण पत्रकारिताप्रति जनआस्था, विश्वास र अपेक्षा पनि कम हुँदै गएको हो ।

आजको पत्रकारिता : अबको पत्रकारिता : शीर्षकमा भएको अन्तरक्रियामा सञ्चार क्षेत्रका विज्ञ तथा अग्रज पत्रकारहरुको सहभागिता थियो । कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिताप्रति प्रश्न उठ्ने गरेको भन्दै ती प्रश्नहरुबाट भाग्न नसकिने बताए । प्रविधियुक्त आजको पत्रकारिता पेशामा अवसर र चुनौति दुबै विद्यमान रहेको उनको भनाइ थियो । त्यस्तै महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले आजको पत्रकारिता पेशागत सिद्धान्तबाट बिमुख हुँदै गएको भन्दै यस विषयमा निरन्तर बहस र छलफल हुनुपर्ने बताए । अर्का वक्ता पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले पनि आजको पत्रकारितामा कमी–कमजोरी रहेको भन्दै त्यसलाई तत्काल सच्याउनुपर्नेमा जोड दिए ।

आमसञ्चार क्षेत्रको शीर्ष संस्था महासंघ र नियमनकारी निकाय प्रेस काउन्सिल समेतको सहभागिता रहेको कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता र निर्देशिकाको पालना नगर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने बताए । सञ्चार क्षेत्र ठूलो अपेक्षा र निजी स्वार्थ पूरा गर्ने थलो होइन । बरु यस क्षेत्रले समाज रुपान्तरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । तर, आज यो क्षेत्र निर्दिष्ट लक्ष्य, उद्देश्य र सिद्धान्तबाट निरन्तर स्खलित भइरहेको छ । एक त वैश्विक महामारीले सञ्चार जगत पनि जर्जर बनिएको छ, त्यसमाथि पेशागत मर्यादा र आचारसंहिता विपरीतका गतिविधिले यसप्रतिको विश्वसनीयता कम हुँदै गएको छ । त्यसैले यसको मर्यादाको रक्षाका लागि पनि सञ्चारसंस्था तथा पत्रकारहरुले पेशागत धर्मको पालना गर्नैपर्छ । अनि मात्र गुम्दै गएको विश्वसनीयतालाई कायम राख्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here