‘कनकाई प्रवाह’ छैटौं तरङ्ग

0
65

कनकाई प्रवाह छैटौं तरङ्ग कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गा झापाको छैटौं प्रकाशन हो । २०५१ सालमा कनकाई प्रतिभा प्रतिष्ठानका नाममा झापाको सुरुङ्गामा स्थापना भएको यो साहित्यिक संस्था बन्ने क्रममा यसले यस अघि पाचौं अङ्क प्रकाशित गरिसकेको छ । यो पछिल्लो छैटौं अङ्क २०७८ कविता विशेषाङ्कका रूपमा प्रकाशित भएको छ ।

आकारका दृष्टिले मोटामोटी रूपमा १७९ पृष्ठमा फैलिएको यस प्रवाहमा ९२ जना समकालीन कविका कविता, हाइकु, गीत, मुक्तक तथा गजलहरू समावेश गरिएका छन् । यसको सम्पादकीय र प्रकाशकीयसँगै कविताको लयात्मक रूपमा लेखिएको छ । कोमलप्रसाद पोखरेलद्वारा लेखिएको यस सम्पादकीय तथा प्रकाशकीय लेखमा प्रतिष्ठानले गरेका काम कारवाही र गतिविधि आदिका बारेमा प्रष्ट पारिएको छ ।

यस पत्रिकाको सम्पादक मण्डलमा कोमलप्रसाद पोखरेल, जीवनाथ सुवेदी, डा.पुण्यप्रसाद पौडेल, प्रेम प्रभात र गोपालप्रसाद संग्रौला रहेका छन् भने व्यवस्थापन समूहमा बुद्धदेवप्रसाद घिमिरे, जनार्दन उप्रती, गोविन्दप्रसाद घिमिरे, विष्णुप्रसाद कोइराला, कुबेर संग्रौला, तीर्थराज खरेल, सूर्यप्रसाद अधिकारी, श्रीप्रसाद भेटवाल र प्रयागराज काफ्ले रहेका छन् ।

त्यसैगरी कार्यसमितिमा कोमलप्रसाद पोखरेल, जीवनाथ सुवेदी, जनार्दन उप्रेती, डा.पुण्यप्रसाद पौडेल, गोविन्दप्रसाद घिमिरे, विष्णुप्रसाद कोइराला, कुबेरप्रसाद संग्रौला, तीर्थराज खरेल, प्रेमप्रभात न्यौपाने, सूर्यप्रसाद अधिकारी र श्रीप्रसाद भेटवाल रहेका छन् । प्रस्तुत कनकाई प्रवाहको छैटौं तरङ्गमा समाविस्ट ९२ जना कविका ९२ वटै कविता, गीत, गजल र हाइकु, मुक्तकहरूको यो सानो लेखमा साङ्गोपाङ्गो रूपमा चर्चा, परिचर्चा सम्भव छैन । यहाँ केही कवि र तिनका कविताको मात्र संक्षिप्त रूपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
शीर्षक– मेरो देश खोज्दैछु कवि अच्युत घिमिरे यस कवितामा कविले आफ्नो देशप्रतिको माया, स्वाभिमान र पहिचान प्रस्तुत गरेका छन् ।

भक्ति थापा, अमरसिंहका पदचाप
तिनका पसिनाले भिजेको माटो
देशभक्ति बोकेर बसेका शिलालेखहरू
स्वाभिमानको अग्लो पहाड बोकेर
हामीलाई नै पर्खिरहेका छन्
खोज्नलाई पुर्खाको बहादुरी
एउटा यात्रामा निस्कनु छ ।
पेज १ अनुच्छेद पाँऔं

शीर्षक– मेरो देश कवि कमला भण्डारी सुवेदी । यस कवितामा कविले आफ्नै देशभित्र सबै कुरा रहेको र हामीले त्यसलाई उपयोग गर्न मात्र नजानेको । त्यसलाई चिनेर उपयोग गर्न सके हामीले कहीँकतै जान नपर्ने विश्वकै बहुमूल्य जडीबुटी समेत यहीँ पाउँने कुरा दर्शाएकी छन् ।
पहाडी हावाले दिई नित्य भाखा
सबै औषधिले भरिपूर्ण पाखा
यहाँ जे छ खोजे त्यही मिल्छ हेर
तरक्की गरौं लौ नलाएर बेर ।
पेज १४ अनुच्छेद ३

शीर्षक– घोच्दछ कवि कोमलप्रसाद पोखरेल । कविले यस कवितामा देशको गरिवीप्रति कटाक्ष गर्दै देश चलाउने नेताहरूको सम्पन्न जीवनशैलीप्रनि तिखो व्यंग्य गरेका छन् ।

हाम्रो देश धनी छ विश्वभरमा, नेताहरू भन्दछन्
खाने अन्न र वस्त्र छैन, त्यसले जाडो बनी घोच्दछ ।
नेता मित्रहरू ठूला महलमा देखेर सोही क्षण
बाँसे यो झुपडी तिखो अति तिखो खाँबो बनी घोच्दछ ।
पेज २३ अनुच्छेद चारौं–पाँऔैं

शीर्षक– अग्रगामी कवि जीवनाथ सुवेदीद्वारा लिखित यस कवितामा आजका राजनीतिक दलका नेताहरूप्रति कडा व्यंग्य प्रहार गरिएको छ । आजका राजनीतिक दलका नेताहरूमा आफू र आफ्ना आफन्तहरूको मात्र दूनो सोझ्याउने काममा लागे । जनता र जनताको इच्छा, आकांक्षाप्रति उत्तरदायी र इमान्दार हुन नसकेको कुराप्रति सशक्त विद्रोहात्मक अभिव्यक्ति व्यक्त गरिएको छ ।

आफू आफ्नाहरूलाई अघि भाग लगाउने
आफैं अग्रगतिप्रेमी अरू पाखा भगाउने
मैले चाहिँ भाग पाएमा गति अग्र हुनेयता
जन–ताजन–ता भन्ने शील प्रगति हूँ म ता ।
पेज ४४ अनुच्छेद १

शीर्षक– जाडोमा हामी कवि जेबी खत्रीद्वारा लिखित यस कवितामा अभावपूर्ण जीवनका आरोह–अवरोह प्रस्तुत गरिएको छ । यस कवितामा खास गरी मानवीय जीवनमा आर्थिक अभावका कारण भोग्नु परेको कष्टलाई दर्शाइएको छ । आर्थिक अभावकै कारण मानिसले जीवनमा भोग्नु परेको कारुणिक अवस्थाको यथार्थ चित्रण गरिएको छ ।

मैले सुनेको थिएँ,
आमाको काख न्यानो हुन्छ
तर,
अभावै अभावको हाम्रो जिन्दगीमा
आमाको काख पनि
कहिल्यै न्यानो भएन ।
पेज ४६ अनुच्छेद आठौं

शीर्षक– सन्देश कवि ज्ञानराज सुवेदीद्वारा लिखित यस सन्देश शीर्षकको कवितामा कविले राजनीतिक बागडोर समाएर देश हाँक्ने सक्षम नेताप्रति अझै पनि जनताको आशा र भरोसा रहेको कुरा दर्शाएका छन् । सबै मिलि हातमा हात, काँधमा काँध मिलाई देशलाई अघि बढाउनै पर्ने र यसमै सबैको हित र जित रहेको कुरा दर्शाएका छन् ।

तिम्रै आशा अब छ जनको देश हाँक्ने सहारा
हत्केलामा अडिनु छ यहाँ देश थाम्दैछ भार
देउ जोडी जनहित हुने योजना देशलाई
हातेमालो गर अबसँगै हौँ सबै दाजुभाइ
पेज ४७ अनुच्छेद तेस्रो

शीर्षक– राम्रो कवि तेजराज खतिवडाद्वारा लिखित यस कवितामा कविले देशप्रतिको आफ्नो विचार व्यक्त गरेका छन् । देश स्वर्ग जस्तो बनोस् । जनता सधैँ सुखी र सम्पन्न रहुन् । सबै वर्ग र जातिको उत्थान होस् भनेका छन् ।

बनोस देश स्वर्ग त्यही हुन्छ राम्रो
फुलुन जाती,वर्ग त्यही छ राम्रो
भनुन् देश हाम्रो यही हुन्छ राम्रो
म बाँची रहेछु त्यही नै छ राम्रो
पेज ६२ अनुच्छेद चौथो

शीर्षक– विक्रमादित्य हुँ कवितामा कवि होम सुवेदीले पृथ्वीनारायण शाहले राष्ट एकीकरणप्रति गरेको कार्यको गुणगान गाइएको छ । जसका कारण आज नेपाल एउटा सिङ्गो राष्ट बन्न सकेको कुरा उल्लेख गर्दै उनको माहान् कार्यको कवितामा उच्च मूल्याङ्कन गरिएको छ ।

पृथ्वीनारायण उवाच
टुक्रा धेर थिए यसै जमिनका एउटै बनायौ मिली
लुछ्थे दक्षिणबाट शत्रू गणले या खान सक्थे निली
माला एक बनाउने सुर थियो माला सुनौलो उन्यौं
योद्धा धेर थियौं सशक्त सबले यो देशलाई चुन्यौं ।।
पेज १४८ अनुच्छेद पहिलो

यसरी यस कनकाई प्रवाहको छैटौं तरङ्ग कविता विशेषाङ्कमा समाहित कविहरूका अधिकांश कविता, गीत, गजल, मुक्तक र हाइकुमा देशको राजनीतिक अवस्था, नेताहरूको चरित्र चित्रण, स्खलित इमान्दारिता, सिद्धान्त र विचलित विचार, उद्देश्यका साथै मानवीय जीवनका विसङ्गति, विकृति, आरोह–अवरोह, मायाप्रेम, प्रकृति चित्रण, दुःख–सुख, आँशु, हाँसो, अभाव, पीडा आदिको पनि कुनै न कुनै रूपमा चित्रण गरिएको छ । यस कविता विशेषाङ्कमा समाविस्ट ९२ कवि तथा लेखकका सबै रचनाको चर्चा गर्न असम्भव भएकोले यसलेखमा उक्त विशेषाङ्कमा समाविस्ट कुनै १० कवि र तिनका कविताको मात्र संक्षिप्त चर्चा गरिएको छ ।

प्रस्तुत कनकाई प्रवाहको छैटौं तरङ्ग कविता विशेषाङ्कमा संग्रहित प्रायः सबै कविता, गीत, गजल, मुक्तक र हाइकुले कुनै न कुनै रूपमा आफ्नो विचार, दृष्टिकोण र आवाज उठाउन सफल रहेका छन् । यसरी हेर्दा यो कनकाई प्रवाहको छैटौं तरङ्ग समसामयीक कवि, कविता र नेपाली साहित्यलाई त्रिकोणात्मक रूपमा जोड्न सफल रहेको देखिन्छ । नेपाली साहित्यको इतिहासमा यो एक समसामयीक कवि र कविताको सँगालोको रूपमा दरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here