गणतन्त्र

0
60


नेताहरुको मोज मनाइस
जनता मारी भोज चलाइस
जात–जातमा फाटो पारिस,
आइस तैंले के पो नापिस ?
आफूलाई महल बनाइस
श्रीमतीलाई गहना लगाइस
जनता तेरै दास बनाइस
आइस तैंले के पो नापिस ?
गुट बनाइस झुट चलाइस
गुट–गुटमा फाटो लगाइस
समृद्धिको नाङ्लो ठोकिस
आइस तैंले के पो नापिस ?
धर्म–धर्ममा द्वन्द्व बढाइस
घर–घरमा आगो लगाइस्
एउटा घरको वंश बिनाश
आइस तैंले के पो नापिस ?
रित्तै मेरो गाउँ छ आज
बाँझो खेत र बारी माझ
युवाहरु सब खाडी धपाइस्
आइस तैंले के पो नापिस ?
खेती गर्ने अवसर छैन,
समय–समयमा मल जल छैन
अरुकै भरमा बाँच्ने बनाइस
आइस तैंले के पो नापिस ?
उत्पादन क्यै आफ्नो छैन
तेरो मात्रै यो अमनचैन
पानी बेचिस खानी बेचिस्
आइस तैंले के पो नापिस ?
बेचिए मेरा कल कारखाना
खोल्नेतिर अरु ध्यान गएन
देश अरुकै अधिनमा पारिस
आइस तैंले के पो नापिस ?
बैंक छ, तेरै सेना तेरै
चिल्ला महँगा गाडी तेरै
जनतालाई उल्लू बनाइस
आइस तैंले के पो नापिस ?
तेरो करको आहतभित्र
हामी कति दिन बाँच्नु पर्ने
हे गणतन्त्र कस्तो आइस
आइस तैंले के पो नापिस ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here