कोरिया लैजाने भन्दै ठगी

0
29

भगीरथ भण्डारी,
इलाम ।

सरकारले भाषा पास गरेका भन्दा बाहेकलाई कोरिया जान रोक लगाएको थाह हुँदाहुँदै पनि सिँधै कोरिया जाने आशामा युवाले लाखौ रुपैयाँ खर्च गरिसकेका छन् ।

भाषा परीक्षा पास नगरी कोरिया जान बन्द भएको थाहा हुँदाहुँदै पनि परीक्षामा सामेल नै नभई कोरिया जाने तयारीमा इलामका युवाले सिप वेल्डिङको तालिम लिए । पानी जहाज बनाउने कम्पनीकै लागि कामदार माग भएको भन्दै इलाम सदरमुकाममा तालिम लिएका युवा अझै पनि कोरिया जाने आशामै छन् ।

यता इपिएस कोरिया शाखाले सिप वेल्डिङका लागि पनि पहिले भाषा पास गर्नै पर्ने जनाएको छ । साउन ६ गते रुट इन्डस्ट्रीको तालिम प्रयोजनको आवेदन खुलेको सूचना निकालेको छ । उक्त सूचनाले भाषा पास नगरी सिधै कोरिया जान नपाउने उल्लेख गरेको छ ।

तालिम र कोरिया भाषा उत्तीर्ण पश्चात् रोजगारीमा छनौट भएकाहरूले मात्रै वेल्डिङ क्षेत्रमा कार्य गर्नुपर्ने सूचना आए पश्चात् सिधै कोरिया जान तालिम लिएकाहरूको के हुन्छ ? भन्ने अन्योल बनेको हो । कोरिया जानका लागि भन्दै ४५ वर्ष सम्म उमेर समूहकाले तालिम लिए पनि कोरिया शाखाले ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ । पटक–पटक भाषा पास गरेपछि मात्रै कोरिया जान पाउने सूचना आइरहँदा पनि सिधै कोरिया पठाउने भन्दै महिना दिनसम्म तालिम लिएका युवाहरू अझै पनि कोरिया लैजाने भनिरहेको भन्दै जाने चक्करमै रहेको पाइएको छ ।

सिप सिकेर कोरिया जाँदा काम पाइने भन्दै इलामको टुँडीखेल छेउमा सञ्चालन भएको तालिम केन्द्रमा धेरैले तालिम लिए । पहिले सिप सिकेपछि कोरिया पठाउने भन्दै शुरुमा प्रतिव्यक्ति ९० हजार रुपैयाँ उठाइयो । उक्त रकम राष्ट्रिय वाणिज्य बैकमा रहेको एसीइ स्किल ट्रेनिङ सेन्टरका नामको खातामा जम्मा गर्न लगाएको थियो ।

सिप तालिम सञ्चालन भइरहेको बेला स्किल टेस्टका लागि काठमाडौँ जानुपर्ने भनेर २४ हजार नौ सय रुपैयाँ उठाएर काठमाडौँ लगियो । स्किल टेस्टका लागि भन्दै मागिएको २४ हजार नौ सय रुपैयाँ सहारा सुब्बा थेबेका नाममा जम्मा गराएका थिए । अहिले इलामका धेरै युवा सुरेश थेबेले चाहिँ पठाउने रहेछ भन्दै उनीमार्फत कोरिया जान लागेको बताइरहेका छन् ।

अवैधानिक तालिम सेन्टर

कोरिया लान्छु भनेर सञ्चालन भएको उक्त सेन्टर गैर कानूनी रूपमा सञ्चालन भएको भन्दै गतवैशाख २५ गते जिल्ला प्रशासन कार्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लार्ई पत्र काट्यो । पत्र काटेको महिना दिन बित्दा पनि कारबाहीको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

करिब तीन महिना लामो मौनता पछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले इलामका युवालाई कोरिया पठाउने भन्दै तालिम प्रदान गरेको झापाको बिर्तामोड–९मा कार्यालय रहेको मुस्कान इन्जिनियरिङ टेक्निकल इन्स्टीच्युटलाई स्पष्टीकरण सोधेको छ । सो इन्स्टिच्यूटसँग करार गरेको भन्दै एसीइ स्किल ट्रेनिङ सेन्टरले इलाममा चार सय २५ जनालाई तालिम दिएको थियो ।

सीटीइभीटीले स्वयम् उपस्थित भएर सात दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरिसकेको छ । सीटीइभीटीले त्यस इन्स्टीच्यूटको नाममा सम्बन्धन स्वीकृति लिएको छोटो अवधिको पाँच सय ५० घनको एसिस्टेन र मेटल वर्क हेल्पर (३६७ घण्टाको) तालिम कार्यक्रम परिषद् कार्यालयको अनुमति बेगर एस स्किल ट्रेनिङ सेन्टर इलाम–७, टुँडिखेल इलामसँग सम्झौता गरी तालिम सञ्चालन गरेको देखिएकाले तत्सम्बन्धमा पत्र पाएको मितिले ७ दिनभित्र स्वयम् उपस्थित भई चित्त बुझ्दो पुष्ट्याँइसहितको लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।

सीटीइभीटीले चित्त बुझ्दो जवाफ नआए अन्यथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, नियमावली २०५१ संशोधनसहितको परिच्छेद ५ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्यक्रम सम्बन्धन कार्यविधि २०७८ को परिच्छेद ४ मा भएको व्यवस्था अनुसार सम्बन्धन स्थगन वा रद्द गर्ने र अन्य प्रचलित ऐन नियम अनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले इलाममा सञ्चालित तालिम अवैध रहेको भनी प्रशासनले वैशाख २५मा कारबाहीको लागि सीटीइभीटीलाई पत्राचार गरेको जानकारी दिए । यसअघि वैैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले इलामका प्रमुख जिल्ला अधिकारी पोख्रेललाई फोन गरेर वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको लिखित गुनासो, अन्य कुनै प्रमाणसहितको विवरण सङ्कलन गरी विभागमा पठाइदिन अनुरोध गरेका थिए ।

इलामका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र करदाता सेवा कार्यालय इलामका प्रमुख तथा प्रतिनिधिहरूको टोलीले शुरूमा अनुगमन गरेको थियो ।

अनुगमनपछि तालिम केन्द्रका प्रोप्राइटर सुरेन्द्रकुमार राईलाई तालिम सञ्चालनको अनुमति पत्र लगायत सम्बन्धित कागजहरू ७ दिनभित्र पेश गर्न निर्देशन दिइएको थियो । एस स्किल ट्रेनिङ सेन्टरले अनुगमनपछि विज्ञप्ति निकालेर तालिमका लागि सबै प्रकारको अनुमति लिएको दावी गरेको थियो । प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार कागजात पेश गर्न समय दिएपनि सेन्टरले कागजात बुझाउन सकेन ।

सेन्टरले झापाको कुनै कम्पनीसँगको करार पत्र पेश गरेको थियो । पोख्रेलले भने– ‘सेन्टरले हामीलाई चाहिने कागज पेश गर्न सकेन, झापा तिर सञ्चालन अनुमति पाएको एउटा तालिम संस्था संघको करार गरेको कागत पेश ग¥यो, जन कानून सम्मत हुँदोरहेनछ ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति निकालेर वैदेशिक रोजगारमा जान गरिने सबै क्रियाकलाप विभागमा दर्ता भएको संस्थाले मात्रै पाउने प्रष्ट पारेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अहिले इपीएस भाषा बाहेक मौसमी रूपमा जाने कामदारका लागि तीन वर्षसम्मलाई बन्द गरेको भन्दै उजुरी नपरेसम्म कारबाही नहुने बताएका छन् । उनले तालिम दिन पाउने भन्दै गैरकानूनी रूपमा सञ्चालन भएका तालिम सेन्टरलाई सम्बन्धित कार्यालयले कारबाही गर्ने बताए पनि कार्वाहीको प्रक्रिया अघि बढ्न सकेन ।

कोरिया जान १६ लाख

कोरिया जान १६ लाख लाग्ने खबर थाहा पाएसँगै धेरैजसो कोरियाको प्रक्रियामा जान नसक्ने भन्दै पहिले तिरेको रकम फिर्ता माग्न थालेको अडियो बाहिरिएको छ । तालिम सेन्टरका सञ्चालक सुरेन्द्र राईसँग यो प्रक्रियामा जान नसक्ने भएँ भन्दै पहिलेको रकम फिर्ता माग्दा २४ हजार रुपैयाँ फिर्ता हुने अडियोमा उल्लेख छ ।

कोरियाको प्रक्रियामा नजानेहरू अहिले रकम माग्दै गर्दा २४ हजार रुपैयाँ फिर्ता हुने खबरले ठग्न खोजिएको रहेछ भन्ने बताउँदै आएका छन् । पैसा फिर्ता लिने दाउमा उनीहरु अहिले खुलेर आउन सकेका छैनन् ।

यता एसिइ तालिम केन्द्र सञ्चालन गरेका सुरेन्द्र राईले आफूले सञ्चालन गरेको तालिम केन्द्र गैरकानूनी नभएको बताएका छन् । उनले कम्पनी रजिष्ट्रारको कार्यालय र करदाता सेवा कार्यालयमा दर्ता गरेरै सञ्चालन गरेको बताए । कोरियाको विषयमा कोरियाको कम्पनीले नै माग गरे अनुसार जान सकिन्छ मात्रै भनेको कोरिया पठाउनकै लागि भनेर रकम नउठाएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here