वैदेशिक रोजगारीका नाममा ठगी

0
23

वैदेशिक रोजगारीका नाममा हुने ठगीको स्वरुप भयावह बन्दै गएको छ । वैदेशिक रोजगारीमा जान खोज्ने युवा अधिकांश चिनेकै मानिसबाट ठगिने गरेका छन् । यहाँसम्म कि चिनेकै, गाउँकै, अझ आफन्तबाट ठगिने गरेको गुनासाहरु दिनहुँ सार्वजनिक भइरहेका छन् । यसरी ठगिनेहरुमा अधिकांश पढेलेखेका युवाहरु नै छन् । रोजगारीका नाममा ठगी भएको समाचार प्रत्येक दिन प्रकाशन र प्रशारण हुने गरेको छ, केही पक्राउ परेका पनि छन्, तर यो सूचनाले ठगीको क्रम रोकिएको छैन न त उनीहरुको लगानी नै फिर्ता भएको छ । यसैक्रममा बुधबार एउटा समूह नै पूर्वाञ्चल दैनिकको कार्यालयमा उपस्थित भएर आफूहरु ठगिएको भन्दै सहयोगको याचना गरे । उनीहरुले पत्रकार सम्मेलन गर्दै बिर्तामोडमा रहेको ओशो वल्र्ड कन्सल्टेन्सीले सत्तरी जनाभन्दा बढीबाट विभिन्न देश पठाउने विश्वास दिलाएर लाखौं रुपैयाँ ठगेको बताए ।

प्रति व्यक्ति पचास हजारदेखि पाँच लाख रुपैयाँसम्म बुझाएको बताउने उनीहरुले शिवसताक्षीका पदम योङ्हाङ, लक्ष्मीप्रसाद बराल, धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले रोमानिया, माल्टा, पोल्याण्ड, कोरिया लगायतका देश पठाउने विश्वास दिलाएका थिए । पैसा बुझाएको वर्ष दिन बितिसक्दा पनि रोजगारीमा जान नपाएका उनीहरु पटक–पटक सम्पर्कमा गए, भने अनुसार पैसा पनि बुझाए तर उनीहरुको विदेश जाने सपना सपना नै रह्यो । जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी तथा इलाका प्रहरी कार्यालयमा पुगेर उजुरी दिँदा समेत आफूहरुको पीडाको सुनुवाई नभएको भन्दै पीडितहरुले ‘मिडिया’ गुहारेको बताएका छन् । वैदेशिक रोजगारीमा जानु पूर्व त्यसका प्रक्रिया, शर्त, कामको प्रकृति, पारिश्रमिक आदिका बारेमा जानकारी राख्नैपर्छ । त्यसमा पनि कल्सल्टेन्सी अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने संस्था हो, उसले रोजगारीमा पठाउन सक्दैन भन्ने ज्ञान नहुनु पनि दुर्भाग्य हो । यस्तै कारणले रोजगारीका नाममा ठगिने क्रम बढेको छ ।

त्यसो त ठगिने सबैको तथ्यांक उपलब्ध छैन । उजुरी परेका मध्ये पनि साह्रै थोरै मात्र फछ्र्यौट हुने गरेका छन् । आर्थिक वर्ष २०७९–०८० मा तीन हजार छप्पन्न वटा ठगिएको उजुरी परेका थिए, जसमा तीन सय उनन्साठी वटा मात्र फछ्र्यौट भए । आर्थिक रुपले विपन्न परिवारका युवा सुन्दर भविष्यको कल्पना गरेर रिणपान गरेर विदेश जाने र धन कमाउने सपना कै कारण ठगिने गरेका छन् । तर, पीडकहरु कानूनको दायरामा आउनुको साटो उन्मुक्त घुमफिर गरिरहेका छन् । व्यक्तिगत रुपमा गरिने यस्ता ठगीलाई नियन्त्रण गर्न राज्यकै चासो हुनुपर्दछ । कन्सल्टेन्सी तथा म्यानपावर कम्पनीहरुलाई नियमन तथा अनुगमन गर्दै व्यवस्थित बनाउन स्थानीय सरकार, प्रहरी समेतको समन्वयमा ठगी नियन्त्रण गर्न ढिलाइ गर्नुहुँदैन । विद्यमान कानूनमा परिमार्जन आवश्यक भए सम्बन्धित निकायले त्यसप्रति पनि गम्भीर हुनुपर्छ । होइन भने ठगीको यो र यस्तो श्रृंखलालाई न्यूनीकरण गर्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here