भगिरथीका उजाडिएका सपना

0
48

भगीरथी र उर्मिला साँझको सूर्य अस्ताउने बेलामा डाँडामा गोटी खेल्दै गर्दा उर्मिला केही सम्झे झैं गर्दै भगिरथीलाई भन्छे– ‘ओई सुनिस्, निर्मला पन्त भन्ने एउटी केटीलाई उखुबारीमा लगेर खै के–के गरेर मारेको रे नि । थाह पाइस भगिरथी ?’ ‘अह तर मैले गाईगुई एफएममा चाहिँ सुनेकी थिए बाई ।’ भगिरथी गोटी खेल्दै जवाफ फर्काउँछे । ‘कस्तो क्रुर हत्या थियो रे । उसलाई शारीरिक यातना दिएर पो मारेको भन्छन् त ।’ – उर्मिला श्वास बढाउँदै भन्छे ।

‘अह मलाई त केही थाहा छैन ।’ खेल्दै गरेका गोटी भुइँमा फ्याल्दै उर्मिला तिर भगिरथी जिज्ञासु दृष्टिले हेर्छे । अनि प्रश्न गर्छे– ‘के भएको रहेछ ? मलाई सुना न ।’ उर्मिला उसको हात समाउँदै भन्छे– ‘नरपिपाशुहरु हुन्छन् रे भगी । केटा मान्छे भक्षक हुन्छन् रे यौनको लालसामा । मलाई आमाले भन्नुभएको आफ्ना वरिपरिका इष्टमित्र आफन्त पनि सबैसामु हामी छोरी मान्छे सुरक्षित छैनौ रे । यौनको नशा चढेपछि धेरै कुकृत्य गर्छन् रे लोग्ने मान्छे ।’

यति भनिरहँदा उर्मिलाको ओठ निकै कापेका थिए । आँखामा छुट्टै डर थियो र मुखको भावनामा नैरश्यता प्रष्ट देखिन्थ्यो । भगीरथी पनि पहिलो पटक यस्तो किस्सा सुनिरहँदा शरीरमा काडा उम्रिएको र डरले कापे जस्तै भएकी थिइ । उसका ओठ बिस्तारै खुल्ला हुँदै भन्न थाली– ‘अनि अरु के भन्नुभयो आमाले ?’

‘भगी हामी छोरी मान्छे जन्मदेखि नै असुरक्षित हुन्छौ रे । जन्मदेखि अहिले हाम्रा देशमा साना कलिला ३–४ बर्षका छोरीहरुलाई पनि त्यस्ता केही यौन पिपासुले आँखा गाडी रहेका हुन्छन् रे । हुर्काउन बढाउन अनि पढाउन निकै सकस हुन्छ रे अझ हामी जस्ता विपन्न परिवारका छोरीचेलीलाई । आमा अझ निर्मलाको कुरा सुनी आँखा भरी आँशु पार्नुहुन्छ बेला–बेला । अनि म प्रति अझ चिन्तित र मायालु बन्नुभएको छ ।’
गोधुली साँझमा पारी डाँडामा चराहरु आफ्ना बासस्थान खोज्दै घर फर्किदै गरेका हुन्छन् । गाईवस्तु पनि अब आफ्नो ग्वालीमा फर्कन समय बन्दै गएको हुन्छ । चराहरुको चिरबिर आवाजसँगको उडानले डुब्दै गरेको सूर्य छुन उडे झैं देखिन्छ । यत्तिकैमा बटुवाहरु घर आउने जाने क्रम चल्छ ।‘अनि आमाले अरु के भन्नुभयो ?’

‘साँझमा घर चाडै फर्किनु, सतर्क रहनु । नचिनेको नजानेको मान्छेबाट आफू टाढा रहनु । अहिले को आफ्नो को पराई चिन्न मुस्किल छ नानी भन्नुहुन्छ नि आमा त ।’ उर्मिला आफ्नो बिट मार्दै भगिरथीलाई सम्झाउँछे ।
‘आ…. म त यी कुरामा विश्वास गर्दिनँ । अन्य गाउँमा त्यस्तो भयो होला हाम्रोमा त भएको छैन । अनि बेकार किन डर पालेर हुर्किने हामी छोरीहरु ?’ ‘त्यसो नभन भगी । हामी अहिले कलियुगमा छौं । यहाँ जे पनि हुन सक्छ आमा त्यसै भन्नुहुन्छ । हाम्रो एउटा गलत कदमले हाम्रो जीवन अन्धकार मय हुन सक्छ ।’ उर्मिला भगिरथीलाई सम्झाउन लाख प्रयास गर्दैगर्दा एक जना नयाँ मान्छे उनीहरु प्रति आइरहेको देख्छन् ।

‘तर यदि त्यस्तै हुन्छ भने म भविष्यमा समाजमा चेतना ल्याउने काममा पढेर अगाडि बढ्छु । म अन्यायमा परेकालाई न्याय दिलाउन सधैँ अघि बढिरहन्छु । हुन सक्छ वास्तवमा हामीले पूर्ण संसार देखेका छैनौं ।’ त्यो मान्छे बाटोमा उभिएर हेर्छ । ऊ रातिको वास बस्ने उद्देश्यले आवाज दिन्छ– ‘नानीहरु म माथि भञ्ज्याङ डाँडा जानु पर्नेछ । आज यतै रात प¥यो । यहाँ कतै नजिकमा बास बस्ने होटल वा घर छ ?’

उर्मिला डराएको मुद्रामा भगिरथीलाई हेर्छे । उसको मुखबाट आवाज निस्किँदैन र कसिलो हातले भगिरथीलाई समाएर टाउकोले इशारा गर्दै बास बस्ने ठाउँ नभएको त्यो बटुवालाई संकेत दिन्छे । उर्मिला टाउको हल्लाउँदै गर्दा बटुवा नैरश्यता भावमा उनीहरुको नजिक आएर थचक्कै भुइँमा बस्छ । आफूले भिरेको झोला छेउमा राखेर शिरको टोपी खोली हातमा लिएर निन्याउरो भावमा आफ्नो बिलौना गर्न थाल्छ– ‘साझ बित्न लागिसक्यो अब राति म कहाँ भौतारिउ नानी यो बिरानो ठाउँमा मलाई चिन्ने कोही छैन । माथि भञ्ज्याङ डाँडामा काकाको घर छ । अब यहाँबाट माथि जान थकित छु । आज यतै विश्राम गर्न पाए हुने थियो । बुढो छु अब कसरी कहाँ बास पाउनी मैले । उफ… हे भगवान ।’

ऊ पुनः भगिरथीतर्फ हेर्दै आश्वासनको दियो खोज्छ । अनि अनुतर्णित भावमा शिर निहु¥याइँ जमिनमा घाँसमा भएको पात पतिङ्गर सफा गरी त्यही थकाई मार्ने निधो गर्छ । भगिरथी कौतुहुल हुँदै दयाको दृष्टिले नियालिरहन्छे । ऊ त त्यो अन्जान पुरुष हेर्दै केही सहयोगको भावना राख्दछे ।

‘ओइ भगी किन टोलाएकी ? मैले तलाई अगि आमाको कुरा सुनाएको थिए नि बिर्सिस ?’ कुइँनोले भगिरथीलाई कोट्याउँदै मसिनो स्वरमा झक्झकाउँछे उर्मिला । ‘केही होइन । (लामो सुस्केरा लिँदै) हामीबीच मानवता हराएछ । बिचरा त आफै सोच त यी बुढा मान्छेमा त्यस्तो सोचाई नहोला । असहयोग गर्दा यो जाडोयाममा भोलि नराम्रो बिमार पर्न सक्लान् । हामीले सहयोग गर्दा के नै पो होला र ?’ भगी मलिन स्वरमा भन्छे ।

हातमा कसेर समाउँदै उर्मिला अलिक पर लग्दै भगिरथीलाई निकै बेर सम्झाउन प्रयास गर्छे । तर, भगिरथीभित्रको अबोध बालापनले उसलाई दयालु बनाई रहन्छ । उसको निश्वार्थ भावनाले रात पर्दै जाँदा मैनबत्ती पग्लिए झंै त्यो मानिसलाई सहयोग गर्न लालयित बन्छे ।

‘लौ हिँड भगी जाउ घर । बा–आमालाई सुनाउ अनि केही परे बा–आमाले व्यवस्था गर्दिनुहुनेछ । हिँड जाउ ।’ हात समाउँदै उर्मिला भगिरथीलाई घर जान जोड दिन्छे । ‘आफै सोच न उर्मिला यहाँबाट मेरो घर पुग्न १० मिनेट लाग्छ । चन्द्रमा आकाशमा निस्किएर उज्यालो बाटो देखाउन तल्लिन छन् । हामीभित्रको सेवा नै धर्म हो भन्ने भावनाले उज्यालोको सहारा दिएका छन् सायद चन्द्रमाले पनि ।’ हौसिँदै भगिरथी माया र करुणाको भावना प्रस्तुत गर्छे ।

उर्मिला पटक–पटक सम्झाउँदा पनि भगिरथीको ज्ञानको पर्दा छुट्दैन । ऊ त केवल दया र करुणामा सिमित रहेर त्यो बटुवालाई सहयोग गर्ने भावना राख्दछे । ‘म यो बुढा मान्छेलाई लिएर घर जान्छु । त यतैबाट घर लाग । रात छिपिन्न लाग्दैछ । आखिर त फर्की यतै आउनुपर्छ त एक्लै पर्छेस् ।’ भगिरथी क्षणभर नडराई उर्मिलालाई साहस साथ भन्छे । (वरिपरि हेर्दै) ‘नाई हुन्न भगी तलाई एकछिन म एक्लै छाड्ने छैन । त केवल एक्लो बनि भोलि केही भएमा… होस हिँड म जान्छु त सँग ।’ –उर्मिला अठोट गर्छे ।

‘धत लाटी । मलाई केही हुन्न म त अब घर जान्छु त पनि लाग है । लौ अंकल हिँड्नुस जाउ… उठ्नु म घरसम्म लिएर जान्छु । त्यहाँ बा–आमाले तपाईलाई केही व्यवस्था मिलाइ दिनुहुनेछ ।’ –भगीरथी त्यस बटुवालाई ढाडस दिँदै भन्छे । बटुवा खुशी मुद्रामा जुनतिर हेर्दै धन्यवाद दिँदै उज्यालो मुहार पारी भगिरथीलाई विनम्रपूर्वक हात जोड्छ । अनि आफू उठ्दै जाउ नानी भनी मुरी–मुरी धन्यपाद भन्दै भुइँमा राखेको झोला आफ्नो पछाडि भिर्दै हिँड्न तयार हुन्छ ।

अलि पर पुग्दा पनि उर्मिला भगिरथीलाई पिछ्याउँदै हुन्छे । पिछ्याएको देखेर भगिरथी उसलाई घर जान जोड दिन्छे । अनि निराश मुद्रामा भगिरथी प्रति चिन्तित उर्मिला आफ्नो घर फर्कन्छे ।

घण्टौंपछि उर्मिलाको ढोकामा आवाज आउँछ– ‘छोरी ए छोरी.. भगिरथी यहाँ आएकी छे ?’ चिन्तित र आत्तिएको बोलिमा भगिरथीका बा–आमा ढोका ढक्ढकाउँछन् । बाहिरको बत्ती बाल्दै उर्मिलाकी आमा ढोका खोल्छिन् । उर्मिला मात्र घर फर्केकी र भगिरथी कुनै बटुवालाई लिएर घर जान बिदा भएको उर्मिला बाहिर आएर बताउँछे । चिन्ता र शून्यता छाउछ वरिपरि । सबै आत्तिन्छन् र अब भगिरथीको खोजीमा गाउँलेलाई डाक्छन, गुहार माग्छन ।

सबै गाउँले मिलेर खोजीमा लाग्छन्, तर भगिरथी कतै भेटिन्न । रात छिप्पिँदै जान्छ, चौतर्फी हल्ला हुन्छ, भगिरथी हराएकी तर ऊ कतै भेटिन्न । एक जना आत्तिँदै भगिरथीका बासँग सन्देश बोकी आउँछ । ‘ए दाजै भगिरथीको हालत निकै कमजोर छ । माया मारे बा मैले त..। तल खोल्सामा निर्वस्त्र शरीर भरी रगत बनाई बेहोस हालतमा छे । म एक्लै उद्धार गर्न सकिनँ । लौ न चाडै त्यता जाउ ।’

सुर्तामा डुबेका आमा अबोध छोरीको जानकारी पाएर त्यही मुर्छा पर्छिन । बा भने केही गाउँलेसँग साथ लागि खोल्सातिर जान्छन् । भगिरथी प्रसब पीडामा रहेर प्राण त्याग गरिसकेकी हुन्छे । नरपिसाच बटुवाले भक्षक बनी हँसिली भगिरथीको आत्मा दह गर्छ, चिरहरण गर्छ, यौवनमा घात गर्छ र उसको सहयोगको गलत फाइदा उठाएर आफ्नो यौन लालसा पूर्ण गर्छ ।

मैना सुन्वार, निर्मला पन्त हुँदै भगिरथीसम्म आइपुग्दा पनि कुनै यस्ता कुकृत्य गर्ने नरभक्षी मानवलाई समाएर राज्यले दण्ड दिन सक्दैन । कानूनी उपचार गर्न सक्दैन । कुनै राजनीतिज्ञ भगिरथीको वकालत गर्न न्यायालय झक्झकाउन सक्दैनन् । केही दिन केही महिना राज्यभर भगिरथीको न्यायको लागि सरकारको विरोध हुन्छ, नाराबाजी हुन्छ, मार्चपास हुन्छ, तर विस्तारै अन्य पीडित जस्तै समय बद्लावसँग भगिरथीको न्यायको पुकारमा शून्यता छाउँछ ।

त्यस नरपिसाच भक्षक भने राज्यको कानून कमजोर भएको र अर्की निर्मला पन्त, अर्की भगिरथी खोज्दै आफ्नो यौन लालसा पूरा गर्न अर्कै गाउँतर्फ लाग्छ । देशमा अन्धकार छाउँछ । छोरीहरु आखिर कहिले सुरक्षित हुने हो ? सरकारले कहिले सुरक्षाको प्रत्याभूति र सशक्त कानून ल्याउन सक्ला ? हाम्रा छोरी चेली कहिले सुरक्षित महशुस गर्ने छन्, सरकार उदासिन छ, कानून फितलो छ ।

भगिरथीका सपनाहरु कहिले पूरा हुने भएन । ऊ त न्यायको खोजीमा देह त्यागेर गएपछि पनि कतै हाम्रै वरिपरि भौतारिरहेकी होली । उसका एक असल व्यक्ति बनी समाजमा चेतना ल्याउने सपना सबै उजाडिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here