सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ

0
43

झापा,

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताउनुभएको छ ।

डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना गरेको कानुन व्यवसायीसँगको भेटघाट कार्यक्रममा उहाँले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको बताउनुभयो ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएको मन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यताअनुरुप न्यायालयलाई राजनीतिक हस्तक्षेपबाटमुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

योग्य र सक्षम न्यायाधीश नियुक्तिका पक्षमा सरकार रहेको उहाँको धारणा थियो । न्यायिक क्षेत्रमा विगतको जस्तो कमजोरी हुन नदिन न्यायाधीश नियुक्तिमा ढिलाइ नगरिने मन्त्री गुरुङको भनाइ थियो ।

सो अवसरमा झापा जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीले झापामा मुद्दाको चाप बढेकाले जनशक्ति थप्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीले न्याय क्षेत्रमा रहेका बेथिति तथा विसङ्गति हटाएर न्यायपालिकालाई स्वतन्त्र र मर्यादित बनाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here