झापामा चुम्लुङको स्थापना दिवस यसरी बन्दैछ ऐतिहासिक

0
28

दमक ।

लिम्बू जातिको जातीय संस्था किराँत याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवस झापामा सप्ताहव्यापी कार्यक्रमसहित मनाइने भएको छ ।

चुम्लुङको जिल्ला समिति झापाले यसका लागि जिल्लास्तरीय दुई वटा समिति गठन गरेर भाद्र १० देखि १७ गते सम्म जिल्लाका विभिन्न स्थानमा गरिने कार्यक्रमहरुका बारेमा जानकारी गराएको हो ।

चुम्लुङका कार्यक्रमहरुबारे जानकारी दिन शनिबार दमकमा आयोजित पत्रकार सम्मेलनमा चुम्लुङका अगुवा नेतृत्वकर्ता तथा अभियान्ताहरुले यसपटकको चुम्लुङको स्थापना दिवस विशेष महत्वसाथ मनाइन लागेको बताए ।

उनीहरुले चुम्लुङको इतिहासमै पहिलो पटक ७ दिने विभिन्न कार्यक्रमहरु गर्न लागिएको र यसका लागि आवश्यक पर्ने ७ लाख रुपैयाँ भन्दा बढी बजेट आयोजक समिति भित्रैबाट निश्चित दायरा बनाएर बन्दोबस्ती गर्ने काम भइरहेको पनि बताएका छन । मूल आयोजक समितिका संयोजक समेत रहेका चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले जवरजस्त रुपमा भएको कोशी प्रदेश नामांकन खारेजीको आन्दोलनका रुपमा समेत यस पटकको स्थापना दिवस मनाउन लागिएको बताए ।

उनका अनुसार भाद्र १० गते स्थापना दिवस विशेष कार्यक्रमको चुम्लुङका पूर्व केन्द्रिय उपाध्यक्ष धिरेन लावतीले उदघाटन गर्नेछन । सोको भोलीपल्ट ११ भाद्रमा गौरादह शाखाको व्यवस्थापनमा विभिन्न जातीय संस्थाहरु समेतको सहभागितामा शुभकामना आदनप्रदान, १२ गते मेचीनगर ८ स्थित चुम्लुङहिममा संघीय उपाध्यक्ष डा. कमल तिगेलाको प्रमुख उपस्थितीमा गायिका गंगा फियाक लगायत स्थानीय कलाकारहरुको विशेष प्रस्तुतीसहित संस्थालाई विशेष योगदान पुरयाउने व्यक्तित्वहरुलाई सम्मान तथा लिम्बुजातिको लोकना केलाङ प्रस्तुत गरिनेछ ।

त्यस्तै चुम्लुङ कमल शाखाको व्यवस्थापनमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समालोचक मुनाराज शेर्मा र बिमला पालुङवाको उपस्थितीमा विशेष सम्मानसाथै आन्तरिक केलाङ प्रस्तुत गरिने जनाइएको छ । त्यस्तै भाद्र १४ गते भद्रपुरमा, १५ गते चुम्लुङ जिल्ला कार्यालयमा मातृभाषा गोष्ठी तथा १६ र १७ गते विर्तामोडस्थित सिटी सेन्टरमा जिल्लास्तरीय केलाङ प्रतयोगिता, गायक गायिकाहरुको विशेष प्रस्तुति, चुम्लुङ इजरायल छात्रवृत्ति र याक्थुङ सहयोग कोषद्धारा प्रदान गरिने छात्रवृत्ति प्रदान गर्नुका साथै जिल्ला शाखा चुम्लुङलाई विशेष योगदान पुरयाउने व्यक्तित्वहरुलाई विशेष सम्मान गरिने जनाइएको छ ।

कार्यक्रमको दौरानमा संकलन भएको सहयोग रकम आवश्यक खर्च कटौती गरेर चुम्लुङको कोषमा जम्मा गरिने पनि पत्रकार सम्मेलनमा जनाइएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिंह सम्बाहाम्फे, इक्सा सम्बाहाम्फे लगायतले पनि विविध बिषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here