घामको वर्षा

0
12

घाम,
यतिखेर
पानीका दहहरूमा आहाल बसेको छ
कुलोमा पानी वाफ मात्र बग्दैछ
बगरको उपर्ना ओडेर खोला
घामसँग लुक्ने प्रयत्नमा छ
अहिले भर्खरै घामले हानेर बादल घाइते भएको
ठहर छ मौसमविदहरूको
हो,
यतिखेर
शीतलताको बेलो ओइलाएको छ
धारोको टुटीबाट एकहोरो तिर्खा मात्र निस्कन्छ
आत्था !
सडकमा पनि घामले भुत्भुते बिछ्याएछ
बतासलाई पनि
कुकरमा उसिनेर छोडिएको छ यतिखेर
रुखहरूले पनि खप्न सकेनन् आफ्नो आङ्मा
आरन रन्काएको
छायाँ र ओझल समेत उष्णाएका छन्
किन यत्तिसारो ज्वाला छोडेर तल घोप्टियो घाम ?
किन यति अचाक्ली भुटिएर खरियो घाम
बिजुलीको हाइभोल्टेज भन्दा रापिलो भएर
सायद यस्तै हुँदा ऊ बेला
ऋषि ज्यमदग्नि घामसँग रिसाएथे र
भएथ्यो छाता र जुत्ताको जन्म
तर,
अब थेग्ने छाँट छैन
छाता र जुत्ताले पनि
यो कोइला रन्केको अग्गेठलाई
उफ् ! कसरी खप्नु प्राणीहरूले
ज्यानभरि वर्षिएको घामको उख्खुम
हत् ! कतिञ्जेल पुछिरहनु
शिरदेखि पाउ सम्मको मूल फुटेको पानीलाई
ओहो !
किन चुपचाप ग्यास च्याम्बरमा कैदछ अक्सिजन ?
किन भूगोल बेतालले तातिएको छ यसरी
धानका बोटहरूको शिरमा
खित्का हाँस्दै
किन इत्रिइरहेछ घाम ?
ओ ! खगोलविदहरू भन
यतिखेर,
पृथ्वी सरेर सूर्य नजिक पुगेको हो कि
सूर्य झरेर पृथ्वीमा घामको वर्षा भएको हो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here