हिंसामुक्त विश्वको कामना

0
8

विश्वमा शान्ति, सुरक्षाको कामना गर्दै मनाइने अहिंसा दिवस हो आज । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००७ मा भारतलाई बेलायतको उपनिवेशबाट मुक्त गराउन योगदान दिने महात्मागान्धीको जन्मदिन पारेर अक्टोबर २ लाई विश्व अहिंसा दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । संयुक्त राष्ट्रसंघको त्यही घोषणालाई सहमति जनाउने विश्वका एक सय त्रियानब्बे देशले त्यसलगत्तै अर्थात् सन् २००८ देखि यो दिवस मनाउन शुरु गरेका हुन् । त्यसयता हरेक वर्ष आजका दिन विविध कार्यक्रमका साथ यो दिवस मनाउन थालिएको हो ।

विश्व एकातर्फ हिंसामुक्त समाज र विश्व निर्माणको अभियानमा रहेको छ भने अर्कातर्फ शक्ति सम्पन्न र समृद्ध राष्ट्रहरु आणविक लगायतका घात हातहतियार निर्माण, परीक्षण तथा आयात–निर्यातमा प्रतिष्पर्धा गरिरहेका छन् । हाम्रो देश स्वयम् हिंसाविरोध ऋषि मुनिहरुको तपोभूमि हो, शान्तिका दूत महात्मा बुद्धको जन्मस्थल र हजारौं सन्तहरुको साधना स्थल हो । तर, आज पनि हामी हिंसामुक्त, शान्त र सुरक्षित बस्न पाएका छैनौं । समाज जति खुल्ला र विकसित हुँदैछ हिंसाको स्वरुप त्यसरी नै बद्लिएको छ । शारीरिक मात्र होइन मानसिक एवम् सामाजिक हिंसा पनि व्यापक बन्दै गएको छ । हिंसामुक्त समाजमा मानिस मात्र होइन सम्पूर्ण प्राणीहरुको स्वतन्त्रता उपभोग गर्न पाउने अधिकार सुरक्षित गर्न सकिए मात्र यो दिवसले सार्थकता पाउने छ ।

विगतमा हामीले नै हिंसाका भिन्न–भिन्न प्रकारका पीडाहरु खेप्दै आएका हौं । कतै स्वतन्त्रताका नाममा, कतै वर्गीय उन्मुक्ति र कहिले राजनीतिक स्वार्थका निम्ति भएका आन्दोलनका क्रममा गरिएका हत्यादेखि शारीरिक, मानसिक एवम् सामाजिक हिंसाले भगवान बुद्धको उपदेश र आदर्शको खिल्ली उडाएको छ । यही अवस्था आज विश्व समाजमा कायम छ । आधारभूत आवश्यकताको अभावमा बिद्रोही हुनु र हिंसाको मार्ग ग्रहण गर्नु सामान्य होला, तर त्यसले उत्पन्न गर्ने परिस्थिति पीडादायी हुन्छ भन्ने बुझ्न जरुरी छ । त्यही पीडालाई आत्मसात गरेर राष्ट्रसंघको आह्वानमा मनाउन थालिएको यो दिवसले सबै मानिसलाई हिंसारहित उज्यालो समाज बनाउन प्रेरित गरोस् । न्यायको प्रत्याभूतिले पनि कायम हुने अहिंसा र शान्त, सभ्य, सुसंस्कृत समाज बनाउने सुविचार र सद्बुद्धि बलियो होस् । आजको प्रमुख आवश्यकता पनि त्यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here