बिर्तामोडबाट १७ जना बालक र किशोर किशोरी पक्राउ

0
12

झापा । इलाका प्रहरी कार्यालय अनारमनीले लागूऔषध र देह व्यापारमा संलग्न भएको आरोपमा १७ जना बालक र किशोरकिशोरीलाई पक्राउ गर्दै सुधारगृह पठाएको छ ।समाज सुधार अभियान अन्तर्गत बिर्तामोड–५ सुगमटोल गणपति मार्गका टोलवासीहरुको समेत सहभागीतामा लागूऔषध प्रयोगकर्ता, देह व्यापारमा संलग्न भएको आरोपमा १७ जनालाई पक्राउ गरिएको हो ।

लागूऔषध सेवन गरेर रातदिन होहल्ला गर्ने, सार्वजनिक स्थलमा अश्लिल गतिविधि गर्ने गरेपछि उनीहरुलाई पक्राउ गर्दै इलाका प्रहरी कार्यालय अनारमनी ल्याइएको स्थानीय वीपिन बजगाईँले बताए ।

टोलका सचेत नागरिक, जनप्रतिनिधि र प्रहरीको सहयोगमा स्थानीयहरूले सुगम पेट्रोल पम्प पूर्वको खाली ठाउँ र बसपार्क दक्षिणको खाली ठाउँको झाडीबाट उनीहरूलाई पक्राउ गरिएको थियो ।
बिर्तामोड नगरक्षेत्र लागूऔषधको रेडजोन नै भएको प्रहरीको तथ्यांकले देखाएको छ । बिर्तामोड नगरलाई लागूऔषध दुर्व्यसनीमुक्त समाज बनाउने नारा स्थानीय सरकार र प्रहरीले हरेक वर्ष बनाउने गरेपनि कार्यान्वयन पक्ष प्रभावकारी बन्न नसक्दा दिन प्रतिदिन लागूऔषध सेवनकर्ता र देह व्यापार गर्ने गराउनेहरुको संख्या बिर्तामोडमा बढेको स्थानीय लीला खड्काले बताइन् ।

बिर्तामोड ५ लागूऔषध र देह व्यापारको केन्द्रविन्दु नै बनेको देखिएको छ । नेपालको पहाडी जिल्ला, पश्चिम जुम्ला घर बताउनेहरु यार्चागुम्बा बेच्ने व्यक्ति बनेर लागूपदार्थ कारोबारमा सक्रिय बन्दै आएको सूचना पाएको र त्यस्ता कानुनविपरित कार्य गर्नेहरूलाई बिर्तामोडबाट विस्थापित गराई सभ्य र शान्त बिर्तामोड बनाउन नागरिक समाज अग्रसर भएको बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले बताए ।स्थानीय सरकारको तर्फबाट बिर्तामोडलाई लागूऔषध मुक्त बनाउन विभिन्न सचेतना कार्यक्रमहरू आयोजना गर्ने वडाध्यक्ष प्रसाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here