जागरण राष्ट्रिय स्वार्थका लागि होस्

0
11

उद्यमशीलता र उत्पादनका माध्यमबाट समृद्धितर्फको लक्ष्यका साथ नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीले आइतबारदेखि जागरण यात्रा शुरु गरेको छ । समाजवादी जागरण यात्रा नाम दिइएको सो यात्राको शुभारम्भ पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वी सीमान्त जिल्ला झापाको काँकरभिट्टाबाट गरेका थिए । असोज २९ गतेसम्म सञ्चालन हुने अभियानले कृषि उत्पादनका साथै आत्मनिर्भर अर्थतन्त्रको विकास गरी समाजवाद कार्यान्वयनमा सहयोग पु¥याउने बताइएको छ । जागरण यात्रा भनिएको अभियानले किसानलाई मल, बीऊ, पानी र उपकरण उपलब्ध गराउनुका साथै किसानद्वारा उत्पादित वस्तु खरिद तथा कृषि बचतको सुनिश्चिततालाई प्राथमिकतामा राखेको छ ।

शिक्षा, स्वास्थ्य र रोजगार लगायतका विषयलाई जनताको मौलिक अधिकारका रुपमा स्थापित गर्न, युवा जनशक्तिको पलायन रोकेर स्वेदशमै रोजगारीको अवसर प्रदान गर्न तथा युवावर्गलाई समाजवादी क्रान्तिका लागि तयार गरी समृद्ध नेपाल निर्माण गर्न अभियान केन्द्रीत रहने बताइएको छ । जनताको घरदैलोमा पुगेर उनीहरुको सुख–दुःखमा साथ दिने, सुशासन, विकास र रोजगारी जागरण यात्राको अभिप्राय रहने पार्टीले जनाएको छ । यात्राको क्रममा धार्मिक, सांस्कृतिक, सहिष्णुता कायम गर्दै न्यायपूर्ण समाजको निर्माण, सीमा रक्षा, राष्ट्रियताको सम्बद्र्धन र स्वाभिमानको रक्षा पनि यात्राको लक्ष्य बताइएको छ । महँगी नियन्त्रण, असमान सन्धि खारेजी जस्ता सर्वकालीक मागसहित शुरु भएको जागरण यात्राले पार्टीलाई आमजनता माझ लैजाने उसको रणनीति रहेको हुनसक्छ ।

देशमा राजनीतिक परिवर्तन आएको झण्डै दुई दशक भइसकेको छ । परम्परागत प्रणालीलाई विस्थापन गरी ल्याइएको गणतन्त्रले अहिलेसम्ममा आमजनताको जीविकामा परिवर्तनको संकेत गरेको छैन । देशको अर्थव्यवस्था ओरालो यात्रामा छ । राजनीति अस्थिरतातर्फ उन्मुख छ, भ्रष्टाचारले जरा गाडेको छ । व्यक्ति एवम् दलगत स्वार्थले राज्य सत्ता बन्ने र भत्किने उपक्रममै रुमलिएको छ । महँगीले आकाश छोएको छ, कालोबजारी मौलाएको छ । कोरोनाले सृजना गरेको आर्थिक मन्दीले उद्योगधन्दा, बन्दव्यापार र आर्थिक गतिविधि ठप्प जस्तै भएको छ । यस्तोमा नेकपा एसको जागरण यात्रा विद्यमान बेथिति, विकृति र विसंगतिका बिरुद्ध र जनजीवीकाको सवालमा सहायक हुन सक्यो भने सकारात्मक होला । यदि सत्ता र दलीय स्वार्थकै पृष्ठपोषक भयो भने जागरण यात्रा निरर्थक हुने पक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here