बालापनको दशैं

0
10

दशैं नजिकिँदा मलाई आफ्नो बालापनको याद झल्झल्ली आउँछ । अहिलेको जस्तो दशैं मनाउन सजिलो र छिटो–छरितो थिएन त्यसबेला । अहिले पो दशैंका लागि सबै सामान एकै स्थानमा पाइन्छ । हरेक चिज बजारमा पाइन्छ । खोजी–खोजी रोजी–रोजी पाइन्छ ।

मेरो बालापनको यादगार क्षणहरु हजुरहरु माझ साझा गर्दैछु । पूर्वी जिल्ला संखुवासभा कोशी प्रदेश अन्तर्गत पर्दछ । घटस्थापनादेखि स्कूल बिदा हुन्थ्यो, हाँस्दै खेल्दै साथीहरु सँग अब त स्कूल बिदा भइ हाल्यो पिङ्ग खेल्नु पर्छ, टीका लगाउनपर्छ । ओइ अनिसे त के किन्छन् दशैंमा अनि त रामे नि ? मैले साथीलाई उनीहरुले म त पाइन्ट र सर्ट किन्छु अनिषले भन्यो– म त स्वीटर किन्न लगाउँछु, रामले भन्यो– अनि त सबिने चाइ के किन्छस् नि ? रामेले सोध्यो मलाइ त हजुरबुबाले शुक्रबारे हटियामा आकासे सर्ट र निलो पाइन्ट किनि दिने भन्नु भएको छ ।

नयाँ लुगा किनेपछि म त त्यही लगाउँछु राति सुत्दा पनि त्यही नयाँ लुगा लगाएर सुतिन्थ्यो, गाउँमा सबैलाई मेरो नयाँ लुगा भन्दै देखाएर फुरुक–फुरुक गरेर देखाएर हिँड्दाको मजा बेग्लै हुन्थ्यो । खेतमा झुम्म बलिरहेका धान, काल्लाभरि खरुकी फूलेको, बारीका पाटाभरी कोदो फल्दै गरेको, सयपत्री फुल्दै गरेको आम्मामामा कति रमाइलो हुन्थ्यो त्यसबेला । अनि आकाश खुलेर निलो देखिएको आकाश । आहा ! सम्झिदा पनि मन आनन्दित हुन्छ ।

शनिबार गाउँको स्कूलमा बैठक बस्ने गर्दथ्यो, समूह भन्ने समेत थियो । समूह पैसा जम्मा गर्ने र गाउँको वर्तमान समस्या एक–आपसमा सर–सहयोगको बारेमा छलफल गरिन्थ्यो ।
त्यस्तै एक शनिबार समूहको बैठकमा दशैं आइसक्यो अब गाउँघर कुवा चैतारो, पाटी, पौवा सफा गर्ने कुराकानी भयो । खाना खाएर सबै परिवारको एक–एक जना आउने निर्णय भयो । हाम्रो घर कुवा छेउ भएको हुनाले पहिला काभ्रे कुवाबाटै सफा गर्न शुरु गरियो । गाउँको एकमात्र पुरानो र ढुंगाले बनाएको काभ्रे कुवा हाम्रो गाउँमा मात्र नभएर अन्य गाउँमा समेत प्रचलित थियो । गाउँका सबैजसो मानिस काभ्रे कुवाकै पानीमा निर्भर रहन्थे । लुगा धुन, भान्सा गर्न र गाई भैसीलाई खुवाउन पौडेल गाउँबाट पानी ल्याए पनि पिउने पानी भने काभ्रे कुवाकै निर्भर थियौं । गाउँ घरमा क्यासेटमा गीत बजाउँदा बेग्लै खुशी मिल्दथ्यो। हाम्रो गाउँमा एकमात्र दोकान थियो । त्यहाँ साझपख सबै जना भेला भएर रमाइलो कुराकानी गर्दथे । पिङ्ग कहाँ हाल्ने पिङको लागि बाबियो खोज्ने अनि बास कसको बाट ल्याउने आदि–इत्यादि कुराकानी हुन्थ्यो । शहर तथा विदेश गएका आफन्त गाउँमा आउनेक्रम जारी थियो ।

रातो माटो लिन जान्छस् –सानोभाइ र ममीले मलाई सोध्नु भयो । हुन्छ, भन्दै म पनि फुरुक्क–फुरुक्क हुँदै घर पोत्ने रातो माटो लिन ढडेनतिर लागे । हाम्रो घर रातो माटोले पोतेको हुनाले रातै माटो छ्यापेर रङ्ग लगाउने गरिन्थ्यो । गाउँमा कसैको घर भने कमेरो माटोले पोत्ने अनि रङ्ग लगाउने गर्थे । रातो माटोले घरको भित्ता अनि गाह्रो पोती सकेपछि, घरका खम्बामा चाहिँ रेडियोको ब्याट्री फुटाएर ब्याट्रीभित्रको कालोलाई पानीमा मिसाएर खम्बा अनि झ्याल–ढोकामा लगाउने गरिन्थ्यो । अनि सिमीको हरियो पातको झोल बनाएर भित्तामा बुट्टा समेत बनाइने गरिन्थ्यो । हाम्रो घरमा संयुक्त परिवार बस्ने भएको हुनाले दशैंको बेला घरमै खसी काट्ने गरिन्थ्यो भने कहिलेकाहीँ छिमेकीसँग मिलेर मासु बाँड्फाँड गरिन्थ्यो । त्यसबेला दशैंमा खसीको चिचि खाने कान चाहिँ म खान्छु है भन्दै पोलेर कान खादा साह्रै रमाइलो लाग्थ्यो ।

दशैंका लागि भनेर कान्लाभरी घाँस साचिन्थ्यो । डाले घाँस जोगाएर राखिएका हुन्थ्यो । टाकी, वर, अम्लिसो बढेका घाँस घर नजिकै साचेर राखिन्थ्यो । बन्सो काट्दै वस्तुभाउलाई दिने गरिन्थ्यो । पराल कटेरा भरी साचेर राखिन्थ्यो । टिकाको दिनलाई भनेर एक–दुई दिनअघि नै चार–पाँच भारी घाँस साचेर राख्ने गरिन्थ्यो । दशैंका लागि जर्नेली धान उमालेर ढिकीकै छेउमा फुटेर कुटेको चिउराले ढिकिमै कुट्दाकुट्दै खाइ हालु जस्तो बास्ना आउँथ्यो । चिउरा घान लगाउँदा ढिकीको मुसल मेरो हात माथि बजारिएको समेत थियो ।

तिलको अचार ढिकीमा कुटेर रातो खोर्सानी, कागती र अदुवा हालेर बनाएको अचार अझै मुखमै झुण्डिएको छ । गाउँमा केरा जोहो गर्ने चलन थियो । आफ्नै घरमा हुनेले थुन्सेमा सिरिश हालेर पकाउन राखिन्थ्यो । केरा पाक्दै जाँदा मगमग बास्ना त झन् कसले नै भुल्ला र ? दशैंको अन्य कुरा किन्न शुक्रबारे हटिया चैनपुर जाने गरिन्थ्यो । हटियामा ताजा फलफूल, तरकारी, मिठाइ, लत्ता–कपडा सबै पाइन्थ्यो । अहिले भाटभटेनी, सुपरमार्केट, होलसेल भने जस्तै थियो हटिया ।

फुलपातीको दिन गाउँमा पिङ हाल्ने काम हुन्थ्यो । पिङका लागि बाबियो लिन लाकुरी डाँडासम्म पुग्नु पर्दथ्यो । बाबियोका लागि पैसा उठाउने, पिङ बाट्ने काममा औधि रमाइलो हुन्थ्यो । गाउँकै स्कूलमा पिङ्ग हाल्ने काम सबै मिलेर गरिन्थ्यो । कोही गीत गाउने, कोही के गर्ने साह्रै रमाइलो हुन्थ्यो । अहिले सम्झिँदा आँखा रसाएर आउँछ । ती बालापनको याद आए जस्तै बालापनमा फर्किन पाए कति रमाइलो गर्थे होला भनेर । राति अबेरसम्म पिङमा झुत्ति खेल्ने गरेको अहिले जस्तो लाग्छ । लिङ्गे पिङ फर्कने गरी आकाश पुग्ने गरिन्थ्यो । दोहोरी पनि त्यत्ति नै माथि पुग्थ्यौं । पिङमै मादल बजाएर नाचगान पनि हुन्थ्यो ।

टीकाको दिन घरमा टिका लगाएर पैसा गनिथ्यो । पँच र १० का नोट कति गन्नु । गाउँतिर जाँदा पनि तिनै नोट थपिन्थे । टीका लगाएपछि जुठो मुख गरेर मात्र जानुपर्छ है भन्ने गरिन्थ्यो । गाउँमा हजुरबुबा, काका, काकी लगायत आफन्तकामा टीका लगाउन चैनपुर बजारतिर गइन्थ्यो । हजुरबुवा पण्डित काम गर्ने भएको हुनाने हजुरबुवाको हातबाट टीका लगाउन भनेर अन्य व्यक्तिले बोलाउने गर्नुहुन्थ्यो । अनि हजुरआमाको मावली चैनपुर बजारमा बस्ने भएको हुनाले त्यहाँ पनि टीका थाप्न जाने गरिन्थ्यो । एकादशीको दिन मावल जाने गरिन्थ्यो । मावल जान एक दिन पुरै लाग्थ्यो । मोटर बाटो बनि नसकेको हुनाले हिँडेरै जानु पर्दथ्यो । मावल मादी मुल्खर्क हो बिहान हिँडेपछि साझमात्र मावल पुगिन्थ्यो । मावलमा बेग्लै किसिमको रमाइलो हुन्थ्यो । मावलमा लरे आँप खान पाइन्थ्यो । बोट टमाटर लटरम्मै फलेको हुन्थ्यो । इस्कुस यति मिठो हुन्थ्यो जति खाए पनि मन भरिन्न थियो । तरकारी खाए उस्तै मिठो, उसिने खाए उस्तै मीठो । मावलबाट कोसेली इस्कुस, चुचे करेला आलि ल्याउने पनि गरिन्थ्यो ।

यस्तै दशंैको तिता–मिठा यादगार पल बिताएर आइयो । अहिले दशंै चाड्बाडभन्दा पनि विकृति फैलिएको हो कि जस्तो लाग्छ । चाडबाडको नाममा जुवातास खेल्ने, अरुको देखासिकी गर्ने, फलानोले त यस्तो पो लुगा लगाएछ म त त्यो भन्दा राम्रो अनि महँगो लगाउँछु भन्ने होडबाजी चलेको छ । दशैंको शुभकामना एकअर्कामा साट्ने खुशीयाली मनाउनेभन्दा पनि अहिले कसले छिटो फेसबुकमा फोटो हाल्ने, टिकटक भिडियो बनाउने भनेर प्रतिस्पर्धा नै चलेको छ । आफन्त, पाहुना आउँदा समेत मोबाइल फोनमै घोरिएर बसेको देखिन्छ । यस्तै चल्दै गयो भने दशैंको महत्व घट्दै जान्छ जस्तो भान हुन्छ । आफ्ना सन्तान प्रायः सबै विदेशिएका छन् । आमा–बुवाको हात खाली हुन्छ दशैंको बेला युवा सबै विदेश पलायन भइसके । वेरोजगार र आर्थिक मन्दीका कारणले विदेशिन बाध्य छन् । यस्तै कुराले गर्दा चाड्बाड मनाउने पनि वृद्ध र बालबालिका मात्र देखिन्छ आजकल गाउँघरमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here