गढीगाउँमा नवनिर्मित पाथीभरा देवी मन्दिरको उद्घाटन हुने

0
12

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित गढीगाउँमा नवनिर्मित पाथीभरा देवी मन्दिरको भोलि(शनिबार) उद्घाटन हुने भएको छ ।

स्थानीय व्यवसायी सुरेन प्रधानको पहलमा पाँच वर्ष अघिबाट निर्माण शुरु भएको उक्त मन्दिरको विजय दशमीको फूलपातीका दिन मन्दिर व्यवस्थापन समितिले उद्घाटन गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

२०७३ सालमा पहिलो पटक ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन गर्न पुगेका व्यवसायी प्रधानलाई तेस्रो पटकको दर्शन पश्चात् माता पाथीभराबाट सपनामा मन्दिर निर्माण गर्न दैविक भविष्यवाणी भएपछि मन्दिर निर्माणमा आफू जुटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रधानले दावी गरे ।

२०७५ सालमा तेस्रोपटक दर्शन गर्न जाने क्रममा बाटोमा भेटिएका ज्येष्ठ भक्तजन दम्पत्तीहरुसँग भएको कुराकानीले पनि आफूलाई मन्दिर निर्माण गर्न थप प्रेरणा मिलेको उनले बताए । उनी भन्छन्–“विविध कारणवश ताप्लेजुङ माताको मन्दिरमा दर्शन गर्न पुग्न नसक्ने भक्तजनहरुलाई पनि लक्षित गरेर हामीले मन्दिर निर्माण गरेका हौं ।”

योजना अनुसार मन्दिर निर्माणको कार्य चाँडै सम्पन्न गरि उद्घाटन गर्ने कार्यक्रम भए पनि बुबा र दाईको निधनका कारण केही ढिलो भएको उनले बताए । उनले मन्दिर परिसरसँगै जोडिने गरि बुबा दिलबहादुर प्रधानको स्मृतिमा पक्की चौतारा पनि निर्माण गरेका छन् । अनुमानित दुई कठ्ठा क्षेत्रफलमा निर्माण भएको मन्दिर र चौताराको कुल लागत सात लाख रुपैयाँ रहेको बताइएको छ ।

त्यसैगरी नवनिर्मित मन्दिरका लागि दाताहरु बिर्तामोड निवासी व्यवसायी राजेन्द्र थापाबाट एक लाख २५ हजार रुपैयाँ बराबरको पाथीभरा माताको मूर्ति, खाँदबारी निवासी अपन र निकिता श्रेष्ठबाट २५ हजार रुपैयाँ बराबरको शिवजीको मूर्ति र शिवलिङ्ग, कानेपोखरी–२ निवासी सौगात श्रेष्ठबाट २२ हजार रुपैयाँ बराबरको लक्ष्मी र गणेशको मूर्ति, अर्जुनधारा–६ र ७ निवासी व्यवसायीद्वय गोपाल थापा मगर र प्रकाश ढकालबाट ४० हजार रुपैयाँ बराबरको दुई वटा सिंह र नन्दीको मूर्ति प्राप्त भएको समितिका सचिव प्रणव ढकालले जानकारी दिए ।

त्यस्तै स्थानीय किशोर र मनमाया साउदेनबाट आमाबुबा रत्नबहादुर र हर्कमाया साउदेनको स्मृतिमा १५ केजी बराबरको घण्टी, स्थानीय बबिता प्रधानबाट पति सुरेश प्रधानको स्मृतिमा एक थान कल, एक थान मोटर र एक थान पानी ट्याङकी प्राप्त भएको बताइएको छ ।

वैदिक विधि अनुसार शुक्रबारनै सबै मूर्तिहरुको स्थापना गरि प्राणप्रतिष्ठा गरिने कार्यक्रम रहेको बताइएको छ । उक्त मन्दिरको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र दाता राजेन्द्र थापाबाट संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन सचिव ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here