राष्ट्रियता भेटेको दिन

0
16

मेसेन्जरमा एक्कासी कल आयो । बिहान ५ बजेको समय हुँदो हो । मनोजको रहेछ । वि.सं. २०८० कात्तिक १९ गते मिरिकमा अम्बर गुरुङको सालिक अनावरण छ साथै दिप श्रेष्ठलगायत वरिष्ठ कलाकारहरूको सम्मान कार्यक्रम पनि सगैं छ । तपाईलाई निम्ता गँरे है मित्र । मनोजले यसो भनेपछि मन धेरै उद्वेलित भयो । साथीले सम्झन कहिल्यै बिर्सदैन । उ अमेरिका पुगेको छ । दुःखका हजारौ लाखौ पहेलीहरु झेल्दै त्यहाँ पुगेको उ नेपालमा वर्ष–दुई वर्ष बिराउँदै आउँछ । केही न केही उल्लेखनीय कार्यक्रमहरु गर्छ । नेपाली गीत संगीतसँग उसको प्यार छ । लाग्छ यो प्यार अजिब छ ।

उ भुटानमा जन्मियो । भुटान अर्कै देश हो । त्यहाँ अर्कै भाषा, संस्कार, संस्कृति र सभ्यता छ राज्यको । त्यही हुर्कियो त्यहीँ पढ्यो र त्यहीँ बढेको मान्छे हो उ । तर अजिब छ । त्यहाँ एउटा राजनीतिक लहर चल्यो र भुटानबाट किशोर उमेरमै लखेटियो । आफू जन्मेको हुर्केको देशबाट आफ्नो सबै छाडेर तत्काल भारत दार्जीलिङ आइपुग्यो । भुटानमा प्रजातन्त्र स्थापनाको नाममा जातीय आन्दोलन भयो । धेरै मानिसहरु त्यसै आन्दोलनको नाममा लखेटिए । नेपालीभाषी भुटानीहरु ले भुटानमा प्रजातन्त्र स्थापना गर्न आन्दोलन गरेका थिए । सन् १९९० को दशक हो यो । नेपालमा पनि प्रजातन्त्र स्थापना भएको थियो त्यो बेला । सायद त्यसैको प्रभाव त्यहाँ पनि परेको थियो ।

एउटा लामो कालखण्ड करिब १८ वर्ष सन् १९९० देखि २००८ सम्म उसले नेपालमा कहिले खोलाको बगरमा त लामो समय छाप्रामा बास बस्नु परेको थियो । झापाको खुदुनावारी स्थित शरणार्थीहरूको शिविरमा एउटा छाप्रामा उसको जीवनका सबै भन्दा महत्वपूर्ण दिनहरु बितेका थिए । त्यै मनोजले गरेको म्यासेन्जर कल र आग्रहलाई म कहिल्यै अस्वीकार गर्न सक्दिन र सकिन पनि । कार्यक्रम नै अस्वीकार गर्न सक्ने खालको थिएन । मैले हुन्छ भने । छोरी युगश्री आफ्नो संगीतको कक्षामा जान उठेर सोफामा बसेर आँखा मिच्दै थिइ । फोनमा छोरीले पनि मनोज सँग बोली । उसले छोरी, उस्की आमा र बहिनी समेत स–परिवार मिरिक आउन आग्रह गर्यो । उसको मननै यति फराकिलो छ कि त्यो मलाई थाहा छ । नोवेम्बर ४ तारिख, काक्तिक १८ गते झापाबाट मिरिक प्रस्थान गर्नु पर्ने कुरा भयो ।

नेपालमा कतिलाई बोलाइएको थियो थाहा थिएन् । म भने टुटेको व्यवहार, छुटेको मित्रताको साईनो गाँसिने कुरामा आशावादी भएँ । नेपालमा आर्थिक मन्दी चलिरहेको छ । म सहकारी संस्था सञ्चालन गर्ने व्यक्ति हुँ । यो मन्दिमा सहकारी संस्थालाई धेरै संकट आइपरेको छ । सहकारी चलाउने केही व्यक्तिहरूको मनपरी र कमिसनखोर राज्यको लापरवाहीका कारण आममानिसमा सहकारीप्रति एक किसिमको अविश्वासको लहर चलेको छ । यसबाट म सम्बद्ध संस्था पनि प्रभावित छ । मानिसहरु बचत राख्न छाडेका छन् र राखेकाहरुले सरासर निकाल्दै छन् र फेरी राख्न छाड्दैछन् । यसर्थ संस्था बचाउन, सदस्यको बचत फिर्ता गर्न आफुले पैसाको व्यवस्थापन गर्नु पर्ने समस्या छ । मलाई पनि त्यस्तै समस्या थियो । यद्यपि मैले मिरिक जाने निधो गरे । घरमा सल्लाह गरे । परिवार संस्था छाडेर जाने स्थिति भएन । म छोरी युगश्रीसंग जाने तयारी भयो ।

मनोजले दिल्लीको लागि टिकट मिलाउन खोजेको रहेछ । तर, खै के भयो दिल्ली र दिल्लीहुँदै बागडोग्राबाट आउन प्राविधिक समस्या भएछ । मनोजको फेरि फोन आयो । म काठमाडौँ हुँदै आउने भए, झापामा गोविन्द कोइराला, वरिष्ठ सङ्गीतकार शिवशंकर थापा, अग्रज पत्रकार लीला बराललाई पनि भनेको छु। तपाईंले उहाँहरुसँग सम्पर्क गर्नुहोला भनेर खबर पाए। उहाँहरुसँग सम्पर्क भयो । गोविन्द कोइरालाले बिरामी छु भने । अग्रज दाइ लीला बरालले जान असमर्थता जनाए । गीतकार संगीतकार शिवशंकर थापाको घरमा १८ गते बिहान ११ बजे मात्र म पुगे । उनीपनि बिहान ९ बजे नै कार्यक्रमस्थल तिर प्रस्थान गरिसके छन् । उहाँको घरमा जाँदा मात्र थाहा पाएँ । अब म छोरी मात्र रह्यौ । मनमा सम्झीए, छोरीलाई लिएर पशुपतिनगर सम्म मोटरबाइकमा जान पर्यो । त्यहाँबाट मिरिकको गाडी पकड्छु । छोरीलाई यसै भनेर तयार पारे । मनोजसँग फोन नम्बर थिएन । म्यासेज गरे । उ अफलाईन थियो । एकछिनपछि मेरो म्यासेन्जरमा म्यासेज आयो । तपाईं हिड्नु भो । म काठमाडौँ एयरपोर्टमा छु। तपाईं हिड्नु भएको छैन भने एउटा गाडी खोजेर भद्रपुर एयरपोर्टमा आउनु होला । हामी चार जना छौं । मनोजको यो म्यासेज देखेर खुशी लाग्यो । अब साथीसँग सँगै जान पाइने भयो । मैले एउटा स्कर्पियो गाडी खोजे । ४ बजे भद्रपुरमा लेण्ड हुने खबर आयो ।

नियात्रा

प्लेन ढिलो भयो । ४ बजे भद्रपुरमा झर्नुपर्ने प्लेनझण्डै ५ बजेमात्र झर्यो । अनि धेरै वर्ष पछाडी भेटभयो छुटेको साथी । समयको खेल सधैं एकैखालको हुँदैन । सबैको सबैसँग फरक कथा लिएर समयले खेल खेलाउँछ । खेलको नियम बुझ्न धेरै कठिन हुन्छ । त्यही समयको खेलले उ र म साथी भयौ । समयले नै जोड्यो र फेरि समयले नै टाढा बनायो । त्यो समयलाई मेरो निवेदन छ । झापामा मनोजलाई स्थापित गर । मनोजलाई झापामा स्थापित गर्न के गर्नुपर्छ मलाई भन । यो झापा नै त्यस्तै एउटा ठाउँ हो जहाँ मनोजको कल्कलाउँदो उमेर नष्ट भएको छ । उसको जिन्दगीको उर्वर समय यसले खाइदिएको छ । उ जस्तै लाखौं शरणार्थीहरुको दुःखको पहिरो झापाले थामेको छ । झापाको माटोमा उनीहरूको कथा लेखिएको छ । उनीहरूको पसिना बगेको छ। रगत बगेको छ । ती हरेकले अहिले संघर्षका ती कथाहरु सम्झीरहेका छन् र उनीहरुका दरसन्तानलाई त्यो दुःखको कथाका पहेलीहरु किस्साको रुपमा सुनाइरहेका छन् । उ जस्ता लाखौंको जिन्दगीको उठान बैठान झापाले, नेपालले गरेको छ । ति जिन्दगीहरुलाई यहाँ बिताएको निरसिलो समय अमिलो बाडुल्कीको रुपमा पटक पटक आउँछ र सायद यसको स्मृतीकालागि झापामा केही गर्न सक्दा राम्रो हुन्छ ।

पशुपतिमा ६ बजे नाका बन्द हुन्छ । हामी पशुपतिबाट नाका पार गर्न समयमा पुग्दैनौ । त्यसो भएपछि हामी काँकरभिट्टा हुँदै जाने भयौ । चन्द्रगढी विमानस्थलबाट बाटो लाग्यौं । छ जना । कर्मा, के जङ्ग, मनोज, म, छोरी युगश्री र सुजाता । साँझको समय, शरद ऋतु, झलमल्ल साँझ बिजुली बत्तीको उज्यालो हेर्दै हामी लाग्यौ । पानीट्यांकीमा चेकजाँच भयो । छोरी युग १३ वर्षकी मात्र छिन् । भारतीय सीमा प्रहरीले छोरीलाई अलि बढी केरकार गर्यो । स्वाभाविक थियो । यस्ता किशोरीहरुलाई ओसारपसार गर्ने गिरोहबाट आजित सीमा प्रहरीले यति खेर खार गरेर सोध्नु उनीहरूको जिम्मेवारी पनि थियो । हामी आफ्ना आफ्ना परिचयपत्र गोजीमा हाल्दै मिरिक तिर लाग्यौ । चिसोचिसो समय । ड्राइभर भाइले हात्ती प्रभावित क्षेत्रमा हात्तीको हुल भेटिन्छ भनेपछि सुजाता र छोरी डराए । युगश्रीले डरले सिटमुनि आफ्नो टाउको राखीन । रमाइलो गर्दै गयौ । मनोज थाकेको थियो । लगातार प्लेनको यात्रा । अमेरिकाबाट जर्मनीको फ्राङ्कफर्ट, जर्मनीबाट काठमाडौँ, काठमाडौंबाट भद्रपुर । उसको जीउ दुखेको थियो । होचो तर मोटो ज्यान, ४ वटा देशको अनाज खाएको मानिस हो, ज्यान सानो किन हुन्थ्यो । जे होस् सम्झनाका कुरा गर्दै पानीघट्टबाट उकालो लागियो । कहिले गाउदै, कहिले हाँस्दै । नानीहरुले गीत गाए । उसले पनि नानीहरूलाई गित सुनायो, सिनोरिटा.. सिनोरिटा… । मिरिक र खर्स्याङ पहाड बलेको हेर्दै आहा कति राम्रो । रातको समय, पहाडका बजारहरुमा बिजुलीबत्ती चम्कदा लाग्छ छुट्टै आकाशगंगा हो । ताराहरूको पुञ्ज टल्किएको हो । चिसो बढ्दै गयो । सिरेटोले नानीहरू काँप्न थाले । ड्राईभर भाई पातलो भेष्टमा थियो । गाडी जति उचाइमा पुग्दै गयो, जाडो त्यति बढ्दै गयो । खुला मौसम, कार्तिकको महिना, रातमा शीत बढ्दै गयो । कस्तो संयोग होला मायाको, मित्रताको । नयाँ आकाशगंगामा शित पनि साथी बनेर आयो । शीत र सिरेटो खाँदै संगै टिङ्लिङ पुगियो । सरप्राइज जस्तै भयो । मनोजले गाडी रोक्न भन्यो । हामी त्यहाँ ओर्लियौं । भ्यु प्वाईन्ट रहेछ त्यहाँ । सिलिगुडीबाट मिरिक जानेहरूको बिसौनी । चियाका बुट्यानले भरिएका डाँडाहरुको सुन्दर दृश्य हेर्ने, रमाउने र जिन्दगीको गम खाने । जाडो जाडो भएको बेला टिङ्लिङमा ओर्लदा ७ बजेको हुँदो हो ।

जुन प्रयोजनका लागि हामी मिरिक जाँदै थियौं । त्यही रहेछ मुख्य स्थान । नेपाली राष्ट्रिय गान सयौं थुङ्गा फुलका हामीका संगितकार अम्बर गुरुङको पहिलो सालिक निर्माण स्थल । मलाई के थाहा, मनोजले सरप्राईज दिदै त्यहाँ पुर्यायो । भोलिपल्टको उद्घाटनका लागि अनावरण गर्न ठिक्क पारिएको मेरो राष्ट्रिय गीतका सङ्गीतकार अम्बर गुरुङको सालिक । हेरियो बत्तीले झिलमिल्ल पहाड र पहाडको भित्तामा हारमोनियम सँग बसेका गुरुङलाई । परिवेश रोमाञ्चक थियो नै, खै मनोज के सोचिरहेको थियो तर, मेरो मन भने बरालियो । म नेपाली, नेपालमै जन्मिएँ, यही हुर्कीएँ,यहीँ बढें, यहीँ पढें । मेरो भाषा,भेषभूषा, गीत–संगीत यहीको । न मैले देश गुमाएको छु, न भेषभूषा,भाषा गुमाएको छु, न कला, गीत र संगीत गुमाएको छु तर, आज खै किन बेचैन छु । म आज मेरो राष्ट्रियता, एउटा भुटान पुगेको, त्यहाँबाट लखेटिएर शरणार्थी भई नेपाल पसेको र परिबन्धले अमेरिका पुगेको मनोज राई र छुटेको देश दार्जिलिङमा जन्मिएका भारतीय राष्ट्रियता बोक्ने नेपालीभाषी अम्बर गुरुङसँग माग्न पुगेको छु । थाहा छैन किन यस्तो हुन्छ । इस्ट इन्डिया कम्पनीले ईण्डिया छाडेर गएपछि नेपाल पनि छाडेको थियो । त्यो दार्जीलिङ थियो, त्यो कुमाउँ गढवाल थियो । खै त्यो कुन नेपाली राजाले ? खै कुन नेपाली नेताले ? भारतको नुन खाएर पो हो की ? लिनै भुलिदिए । म भने त्यहाँ मेरो राष्ट्रियता भेटिरहेको थिए । जोसँग राष्ट्रियता नै खासै थिएन उसले मलाई मेरो राष्ट्रियता उ पर ग्यालेक्सीमा देखाउँदै थियो । म एकछिन त्यतै हराएँ । टिङ्लिङ् भ्यु प्वाईन्टमा विसाएका हामीले त्यही रातको खाना खाने भयौ । खायौ र मिरिक स्थित बासस्थान तिर लाग्यौ । मिरिकको जग्जीत होटलमा बासको प्रबन्ध रहेछ । आनन्दले पुग्यौं र सुत्यौ । आनन्दको सुताइ पछि उठीयो । के जङ्ग, कर्मा र म । उता छोरी युगश्री र सुजाता पनि उठे । बिहानै शितको समयमा मैले छोरीलाई मिरिक झिलतिर लगे तर छोरीले उति रुचि गरिन । झिलको एउटा डिलमा यत्तिकै लोलाई । छोरीलाई झिलको बारेमा केही जानकारी दिए । त्यसपछि हामी बाबु–छोरी होटलतिर फर्कियौ । सालीक अनावरणको कार्यक्रम ९ बजेको लागि राखिएको थियो ।

मिरिक दार्जीलिङ जुरुक्कै उठेको थियो । खै देश छुट्नै पर्ने रहेछ, देश गुम्नै पर्ने रहेछ, मेरो राष्ट्रियता त्यहाँ टुसै टुसा भएर पलाएको थियो । सबै टिङ्लिङ पुगियो । भुटान भारत नेपाल र अमेरिकाबाट अतिथि र आगन्तुक हरु को भीड लागेको थियो । सायद अम्बर गुरुङले आफै पो निमन्त्रणा गरेका थिए कि ! सायद आफ्नो राष्ट्रियता यै हो भनेर ठोकुवा गर्न नसक्ने ! मनोज राई पो यहाँको नायक थियो कि ? हुन त उ भुटानको राष्ट्रिय पोशाक बक्खुमा थियो । उसलाई आफू जन्मेको देशनै प्यारो थियो कि । लभ एण्ड सपोर्ट फाउन्डेसनकी नेपाल अध्यक्ष कविता आले, सिक्कीमका दावा तामाङ, दार्जीलिङ, सिलिगुडी, असमका अथाह साहित्य सङ्गीत प्रेमीहरु, भुटान र नेपालका संगीत प्रेमीहरुको टिङ्लिङ्को पहाड रंग्याउने स्थानीयबासीहरुको भब्य उपस्थितीमा गीतकार संगीतकार अम्बर गुरुङलाई उनका सहयात्री अशोक राई र मनोज राईले सालिक अनावरण गरी सदाजिवी तुल्याईदिए । रमाइलो मौसम थियो । सालिक अनावरण पछि हामी सबै मिरिक स्थित सांगीतिक कार्यक्रम स्थल गोपाल योन्जन अडिटोरियम हल तर्फ गयौं । खाना खाँदा लगभग एक बजेको हुँदो हो । खाएर कार्यक्रमस्थल पुगीयो । बरिष्ठ–बरिष्ठ ब्यक्ती तथा कलाकारहरुबाट अम्बर गुरुङ सम्बन्धि मन्तव्यहरु, प्रवचन, समीक्षा, पुस्तक विमोचन र अम्बर गुरुङ रचित र संगीतबद्ध दुई दर्जनजति गीतहरू प्रस्तुत भए ।कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार शान्ति ठटाल, वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ गीतकार शिवशंकर थापालाई ताम्रपत्रसहित जनही ५१ हजार भारु सहित सम्मान गरिएको र अम्बर गुरुङ स्मृतिग्रन्थ विमोचन गरिएको थियो । शरीर मरेर गएपनि अम्बर गुरुङ जीवित भए । म शरीर बाँचेकै भएपनि फगत एउटा श्रोता र साथी मात्र भएँ । मनोजको अनुहार उज्यालो भयो । रोशन गुरुङ, आनन्द राई, जीवन प्रकाश प्रधान, मधुकर लोहनी, दीप श्रेष्ठ,अमेरिका निवासी युवा समाजसेवी, साहित्यकार तथा गीतकार डा.नारद पोखरेल लगायत दार्जिलिङका कवी, लेखक, गुरु, गुरुआमा, शिक्षक प्राध्यापक, गायक, संगीतज्ञ र साहित्यकारहरुले मलाई मेरो राष्ट्रियता उपहार दिए । म शंकोच मै हराईरहे । मनोज हाँसि रह्यो । पहाड बासीहरु खुसी भए । साँझ ७ बजे कार्यक्रम सकियो । लगेको गाडी फर्किनु थियो फर्काइयो । मनोजले बस्न अनुरोध गर्यो । बसियो । बिहान खाजा खाएर फर्किने प्रबन्ध भयो । २० गते दिउँसो मेरो राष्ट्रियता उतै छाडेर बिर्तामोडस्थित घर आईपुगियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here