महाकवि लक्ष्मीप्रसाद देवकोटा केही रोचक प्रसंग

0
13

नेपाली भाषा साहित्यको क्षेत्रमा चम्किलो नाम हो लक्ष्मिप्रसाद देवकोटा । उनलाई हामी महाकवि भनेरपनि सम्बोधन गर्दछौं । उनको योगदानले आज नेपाली भाषा साहित्य समृद्ध बनेको छ । उनी साहित्य लेखनमा जति चर्चित छन् । उनी सम्बन्धी धेरै तथ्यहरु पनि उसैगरी रोचक छन् । ती मध्ये यहाँ केही रोचक प्रसंग प्रस्तुत गर्दछु । देवकोटाले शुरुआती शिक्षा दरबार स्कूलमा लिएका थिए । त्यहाँ पढ्न पाउनुले उनको शिक्षाको जग राम्रो बस्यो । साना भए पनि देवकोटा स्कूलमा कविता सुनाउन तम्सिहाल्थे । एक दिन विद्यार्थी साथीहरु मिलेर देवकोटाको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । साना देवकोटा पनि के कम ? सबै विद्यार्थी साथीहरु बीचैमा छिनमै कविता लेखे र सुनाए । गुरुहरुले चाहिँ देवकोटालाई ‘कोपिलाउँदो कवि’को दर्जा दिएका थिए ।

मूलतः आफ्ना बुबा र कवि शिरोमणि लेखनाथ पौड्यालका कविताहरु पढेर देवकोटालाई कविता सिर्जना गर्ने प्रेरणा मिलेको थियो । किशोर हुँदै गएपछि वर्डर्स्वर्थ र सेली जस्ता पाश्चात्य कविहरूका सिर्जनाहरु पनि अध्ययन गर्न थाले र बाह्य साहित्यको ज्ञान लिन थाले । दशवर्ष नपुग्दै आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षकमा कविता लेखेका थिए । देवकोटा पढाइमा पनि अब्बल थिए । आठौं कक्षाबाट एकैचोटी दशौँ कक्षामा उक्लिएका थिए । उनको अंग्रेजी पनि राम्रो भयो । उनले १७ वर्षको उमेरमा पटना भारतबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
देवकोटाले उच्च शिक्षाका रुपमा आईएस्सी तह त्रिचन्द्र कलेजमा पढेका थिए । स्नातक तहका शिक्षाका लागि उनले प्राइवेट परीक्षार्थीका रूपमा पटना विश्वविद्यालय भारतबाट बीए र बीएल पास गरे तर अंग्रेजी विषयमा एमए गर्ने उनको इच्छा अपुर्ण नै रह्यो । देवकोटा कलेज पढ्दाताका पनि साहित्य सिर्जनामा लागि रहन्थे । आइएस्सी पढ्दा लेखेको ‘वसन्तषोडसी’ शीर्षकको कविता गोरखापत्र साप्ताहिकमा छापिएको थियो । बीएल पढ्दाका समयदेखि देवकोटामा रोमान्सको रंग पलाएको पाइन्छ । यसै समयपछिदेखि उनका प्रेम कविताहरुको बाढी नै आएको थियो । देवकोटाका बुबा छोरालाई एक राम्रो पण्डित बनाउन चाहन्थे, तर भए धुरन्धर कवि ।

देवकोटा परिवार निकै धनीमानी मानिन्थे । अस्सी बिगाह त खेत थियो, तर देवकोटा परिवार भोकभोकै पर्दथे । देवकोटा सानो छँदा भन्ने गर्थे– ‘म अंग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन पढाएर पैसा कमाउँछु’ तर दैनिक १८ घण्टा ट्युसन पढाए पनि देवकोटाका परिवार भोकै पर्दथे । किनकि देवकोटा स्वयम् लाउनका भन्दा खानाका सौखिन थिए । उनले खसीको टाउकोको परिकार खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पथ्र्यो । देवकोटाको नराम्रो बानी के थियो भने उनी निर्धक्क उधारो खान्थे । डिल्लीबजारको लप्टनको होटलमा उधारो खान्थे । देवकोटा लापरवाह भएका कारण त्यस होटलमा देवकोटा कै नाउँमा उनका साथीहरुले थुपै्र उधारो खाइ दिन्थे । देवकोटा मासु पनि उधारो नै लिन्थे र महिना मरेपछि बगरेले देवकोटासँग तेब्बर–चौबर पैसा असुल्थे ।

यतिमात्र होइन देवकोटा जुवातास र पासा पनि खेलेर पैसा मास्थे । अर्कातिर देवकोटा शिशुवस्थादेखि नै रोगी थिए । देवकोटाकी पत्नी मनदेवी धर्मात्मा थिइन् । देवकोटा चाहिँ घर व्यवहारप्रति अति अव्यवहारिक थिए । साथीभाइ र माग्नेलाई भने जति पैसा र लगाएका लुगा समेत दिइदिन्थे । त्यसैले पनि उनको घरको आर्थिक अवस्था दयनीय थियो । तर, देवकोटा सौखिन र संगीत प्रेमी पनि थिए । उनी गीत गाउँथे साथै हारमोनियम र तबला पनि बजाउन जान्दथे । उनी साइकलको पनि सौखिन थिए । यी सबै भइकन पनि देवकोटामा साहित्यिक गुण अब्बल थियो ।

देवकोटाले बाल्यकालदेखि नै साहित्य जान्ने अवसर प्राप्त गर्दै आए । उनका बुबा पनि साहित्यानुरागी थिए । बुबाले लेखेका कविता साफी गर्ने र नयाँ पानामा सार्ने गर्दागर्दै देवकोटामा पनि साहित्यको रस र ज्ञान बस्यो । अमरकोश र स्तोत्रमाला त सानैमा कण्ठ पारेका थिए । देवकोटा नेपाली साहित्यका महासागर हुन् । सागरमा पानी मात्रै भए भैmं देवकोटामा साहित्य नै साहित्य मौजुद थियो । उनी हरदम चौबीसै घण्टा काव्यसंसारमा नै डुबिरहन्थे । उनका चेतन तथा अचेतन अवस्थामा पनि काव्य नै सलबलाइरहेका हुन्थे । देवकोटा उठ्ता, बस्दा, हिँड्दा, खाँदा, बोल्दा अर्थात कुनै पनि हाउभाउ गर्दा र रातमा सुत्दापनि काव्यमय नै हुन्थे । उनी काव्यले बनेका हुन् र काव्य नै उत्पादन गरिरहेका छन्, यस्तो भान हुन्थ्यो । देवकोटा बिछट्टै प्रतिभावान लेखक थिए । उनको लेखनले साहित्यको कुनै विधा बाँकी छाडेन ।
कविता, खण्डकाव्य, महाकाव्य, कथा, निबन्ध, नाटक, गीत तथा समालोचना समेत लेखे । देवकोटाले लेखेका कविता बाहेकका सिर्जना पनि कवितात्मक लाग्दछन् । देवकोटाले लेखेको वियोगान्त खण्डकाव्य ‘मुना मदन’ बेस्ट सेलर रेकर्ड राख्न सफल भएको छ । देवकोटा चाँडो लेख्ने अद्वितीय प्रतिभा थिए । ‘शाकुन्तल’ महाकाव्य तीन महिनामा, ‘सुलोचना’ महाकाव्य दश दिनमा, ‘म्हेन्दु’ खण्डकाव्य दुईदिनमा र ‘कुन्जीनी’ एकै दिनमा लेखेका हुन् । उनको ‘मुनामदन’ले नेपाली साहित्यमा संस्कृतको प्रभाब अन्त्य गरेको मानिन्छ । ‘पागल’ कृतिका कवितामा आफूलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन् ।

देवकोटाले थुप्रै अब्बल कृतिहरु लेखेका छन् । महाकाव्यहरुमा शाकुन्तल, सुलोचना, वनकुसुम, महाराणा प्रताप, पृथ्वीराज चौहान, प्रमिथस । खण्डकाव्यमा मुनामदन, लुनी, कुञ्जिनी, सृजामाता, पुतली, सुनको बिहान, भिखारी, मनोरञ्जन र कृषिबाला । उपन्यासमा चम्पा । कवितामा लक्ष्मी कविता संग्रह, निबन्धमा लक्ष्मी निबन्ध संग्रह । उनले अन्य थुप्रै कृतिहरु नेपाली भाषा साहित्य भण्डारमा छाडेर गएका छन् । देवकोटालाई नेपाली भाषा साहित्यमा रूमानी प्रवृत्ति लेखनका श्रीगणेश गर्ने प्रतिभाका रुपमा लिइन्छ र स्वच्छञ्दतावादी साहित्य सर्जकका रुपमा पनि चिनिन्छ । नेपाली भाषा साहित्यलाई अंगे्रजी भाषामा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पु¥याउने प्रतिभाका रुपमा पनि देवकोटालाई नै लिइन्छ । देवकोटाले पद्य तथा गद्य दुबै पद्धतिमा साहित्य सिर्जना गरे । देवकोटा १४ भाषा जान्दथे र नौ वटा भाषामा त कविता नै लेखेका थिए ती शारदा मासिकमा प्रकाशित भएका थिए ।

देवकोटाको देहवसान भएको साल देवकोटाका पाण्डुलिपीहरु(कृति)लाई मदन पुरस्कार प्रदान गरिएको थियो । देवकोटालाई मृत्युपर्यन्त त्रिभुवन प्रज्ञा पुरस्कार र साझा पुरस्कारबाट सम्मान गरिएको थियो । देवकोटाको तस्विर अंकित हुलाक टिकट प्रचलनमा रहेको छ । यी बाहेक सरकारले देवकोटाको नाममा कुनै मान–सम्मान वा बिभुषण स्थापना गरेको पाइँदैन ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले भनेका थिए– ‘मैले देवकोटालाई ‘बुद्ध’ पछिका सबैभन्दा ठूला मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए । मानसिक रोगी भनिएका देवकोटालाई उपचारका लागि राँची पु¥याइँदा डा. बर्कले हिलले भनेका थिए– ‘देवकोटा जस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’

देवकोटा अम्मली पनि थिए । देवकोटालाई चुरोटको लत लागेको थियो । चुरोटको सर्को नतानिकन उनी केही काम गर्न सक्दैन थिए । चुरोट बिना त साहित्य लेख्न त असम्भवै थियो उनका लागि । लेख्दै गर्दा, लेख्दै गरेको पाण्डुलिपि बालेर चुरोट सल्काउँथे र त्यसैले सिँगान पनि पुछ्दथे, तर यी सब गरेको देवकोटा आपैm चाल पाउँदैन थिए ।

देवकोटा नेपालको शिक्षा मन्त्री समेत भएर सत्ताशीन पनि भए । उनकै पालामा त्रिभुवन विश्वविद्यालय स्थापना भएको हो । देवकोटा त्रिचन्द्र कलेज, पद्म कन्या कलेज र कमर्स कलेजमा पनि प्रोफेसर भए । नेपाली भाषानुवाद परिषदमा जागिर खाए । राजा त्रिभुवनले देवकोटालाई सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे र राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिएका थिए । देवकोटालाई एकेडेमीको सदस्य पनि बनाइए । देवकोटा मन्त्री भएका बेला उनले नेपाल राष्ट्रभरिका स्कूल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाएका थिए । देवकोटा निकै दुरदर्शी पनि थिए । उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेखे र उनी दिवंगत हुनुभन्दा १६ घण्टाअघि रूसले चन्द्रमामा रकेट पु¥याएको थियो ।

पाँच बर्षको उमेरदेखि अक्षराम्भ, ८ बर्षमा व्रतबन्ध, ११ वर्षमा विद्यालय भर्ना, १५ वर्षमा विवाह, १६ वर्षमा म्याट्रिक, १९ बर्षमा आइएस्सी, २२ वर्षमा बीए र २४ वर्षमा बिएल, सानैदेखि ट्युसन पढाउने, प्रोफेसर त्रिचन्द्र र पद्यमकन्या कलेज, २० वर्षमै लाइब्रेरी पर्वमा दण्डित, २००४ मा राणाविरोधी आन्दोलनमा सर्वस्वसहित वनारस बसाई, युगवाणिको सम्पादन, त्रिवि सभासद, एकेडेमिका संस्थापक सदस्य, इन्द्रेनीको सम्पादक, अफ्रो एशियाई लेखक संघको दिल्ली र रुस ताशकन्धको प्रतिनिधित्व, शिक्षामन्त्री, संसदमा विपक्षी दलको नेता, दार्जिलिङ्मा पाठ्यक्रम निर्धारणमा संलग्न, बिराट साहित्य सम्मेलनको सभापति लगायत विभिन्न संघ संस्थामा संलग्न । यसरी देवकोटालाई संक्षिप्तमा पनि जान्न सकिन्छ ।

डा. तारानाथ शर्माका अनुसार– ‘लक्ष्मीप्रसाद देवकोटाको पाश्चात्य छाँटमा लेखिएको पहिलो निबन्ध ‘आषाढको पन्ध्र’ हो । ‘लक्ष्मी निबन्ध संग्रह’का सबै निबन्धहरु कवितात्मक गद्यमा लेखिएका आत्मपरक अभिव्यक्ति हुन् । साधारण विषयलाई पनि आप्mनो अध्ययनको बैचारिक रथमा राखेर कल्पनाको शुभ्र बाटामा दगुराउनु देवकोटाको अद्वितीय गुण हो । ‘हाई हाई अंग्रेजी’, ‘गधा बुद्धिमान कि गुरु ?’ जस्ता निबन्धहरु व्यंगका राम्रा नमूना हुन् । उनका उत्कृष्ट निबन्धहरु चाहीँ ‘निद्रा’, ‘मसलाको बोटले के हेर्छ ?’ ‘कविराजको च्याङ्ग्रे खच्चर’ र ‘अषाढको पन्ध्र’ नै मानिएका छन् । विचारमा केही पुरातन पन्थको समर्थन देखिए पनि देवकोटाका निबन्धहरु उन्मुक्त भावप्रकाशका साहै्र राम्रा उदाहरण हुन् । उनले अंग्रेजीबाट अनुवाद गरेका लेखहरु प्रसिद्ध प्रबन्ध संग्रहमा संकलित छन् । उनको ‘दाडिमको रुखनेर’ निबन्धसंग्रहमा ‘साँढे’ पनि परेको छ । साँढेले देवकोटाका हाँस्यव्यंगको राम्रो समन्वय गरेको छ ।’

महाकवि लक्ष्मिप्रसाद देबकोटा वि.संं. १९६६ साल कात्तिक २७ गते शुक्रबार रातको १० बजे काठमाडौंमा जन्मिएका थिए । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर, नेपालीहरुको महान चाड तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीको प्रसादको रुपमा लक्ष्मीप्रसाद भनिन थालिएको बताइन्छ । देवकोटा, बाबु तिलमाधव देवकोटा र आमा अमरराज्यलक्ष्मीका छ भाइमध्येका साइँला छोरा थिए । १६ वर्षे उमेरमा मनदेवी चालिसेसँग विवाह भएका, दाम्पत्य प्रेमको प्रगाढतालाई दर्शाएर देवकोटाले ‘मुनामदन’ लेखेका थिए । देवकोटाको देहवसान २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले भएको थियो । ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दित मनले’ अनि ‘मानिस ठूलो दिलले हुन्छ जातले हँुदैन’ जस्ता उनका अनेकन उद्गारहरुले नेपाली जनमानसलाई उच्च जीवनदर्शन मिल्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here