बाँसका सामग्री संकटमा पर्दा घर चलाउनै समस्या

0
11

काँकरभिट्टा ।

दुई–चार वर्ष अघिसम्म मेचीनगर–१० धुलाबारीका हरिकृष्ण मल्लिकलाई घरमै रोजगार मिलेको थियो । आयआर्जनका लागि बाँसको चोयाबाट निर्मित सामग्रीबाट मनग्गे आम्दानी गरिरहेका थिए उनी ।

बाँसको चोयाबाट निर्मित ढाकी, पंखा, नाङ्गलो लगायतका सामान बनाउँदै उनले घरको गर्जाे टार्दै आएका थिए । सानै उमेरदेखि घरको सामान्य काम गर्दै ढाकी नाङ्लो र पंखा बनाउन सिकेका हरिकृष्णले अन्ततः जीवन गुजरा गर्ने माध्यम यसैलाई बनाए । अहिले उनको यो पेशा संकटमा परेको छ । आधुनिक प्रविधिबाट बनेका सामग्री शहरदेखि गाउँ–गाउँ पुग्न थालेपछि मल्लिकको यो पेशा र आफ्नो पुरानो पुस्तौंपुस्तादेखि सिकेको सीप समेत ओझेलमा पर्न थालेको हो । बाबु बाजेको पालादेखि नै नयाँ पुस्तामा सीप हस्तान्तरण भएपछि आफूले यो काम थालेको उनी बताउँछन् ।

पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लो लगायत सामग्री बिक्न छोडेको मल्लिकको गुनासो छ । ‘अहिले बजार मात्र होइन गाउँमा समेत आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोग बढ्न थालेको छ’ –मल्लिकले भने– ‘बढ्दो वेरोजगारका कारण म जस्ता धेरै युवाहरु रोजगारी खोज्दै विदेश पलायन भइरहेका थिए । मलाई बाँसले नै घरमै रोजगारी दिलाएको थियो अहिले आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा मेरो सीप पनि ओझेलमा पर्न थाल्यो सामान पनि विक्न छाडे ।’

शुरुमा त बाँसको चोयाबाट यतिको कमाई हुन्छ होला भन्ने उनले सोचेका थिएनन् । छोराछोरी पढाउने र चाडपर्व मान्ने प्रमुख स्रोत बाँसको चोयाका सामग्रीको बिक्रीबाट प्राप्त रकम नै थियो । चाडपर्वका बखत यस्ता सामग्रीको माग प्रशस्त हुन्थ्यो । उनीहरुलाई बाँसको चोयाबाट निर्मित सामन बनाउन भ्याई–नभ्याई हुन्थ्यो । छठ पर्वका बखत बाँसका सामग्रीको माग अत्यधिक हुन्थ्यो ।

छठ पर्वमा ढाकी, नाङ्लो प्रशस्त बिक्री हुन्थे । अहिले भने मल्लिक दम्पत्ति भने निक्कै फुर्सदिला बनेका छन् । शुरु शुरुमा हप्ता दश दिन लगाएर उनीहरुले तयार गरेको सामग्री दुईदेखि चार दिनमा सबै बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो र त्यसैबाट उनीहरुको घर चलेको थियो । अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको मल्लिककी श्रीमती रुमाको भनाइ छ । प्रविधिको बढ्दो विकाससँगै स्थानीय परनिर्भर बन्दै गएका बासका सामग्री बनाउने विषयमा तालिम दिँदै आएका मेचीनगर–१ का गणेश मल्लिकको भनाइ छ ।

पछिल्लो समय विकासको क्रमसँगै ग्रामीण स्तरमा समेत सडक जोडिएका कारण यस्तो अवस्था आएको भनाइ छ । सडकसँग गाउँ–गाउँ जोडिन थालेपछि गाउँ र बस्तीमा यातायातका सवारीसाधन पुग्न थाले । ती सवारीसाधनले शहर बजारका सामान गाउँमै पुर्याउँछन् । तर, ती सामान हेर्दा र देख्दा राम्रा आर्कषक भए पनि खासै बलियो र गुणस्तरीय नहुने रुमाको भनाइ छ । बाँसका चोयाबाट बनेका सामग्री प्लास्टिकको तुलनामा निकै बलियो हुने बताउँदै उनले स्थानीयस्तरमा उत्पादन भएका भन्दा आयातित सामानप्रति आकर्षण बढी भएकाले आफ्ना सामानले बजार नपाएको गुनासो गरे ।

डालो, नाङ्लो बासको चोया निकालेर तयार गरे पनि बजार नपाउँदा पछिल्लो समय काममा ऊर्जा नै नआउने र मेहनत खेर जाने रुमाले दुःखेसो पोखिन् । उनले आधुनिक सामग्री घर–घरमा पुग्ने र स्थानीयले त्यस्ता सामग्रीको प्रयोग गर्ने गरेका कारण आफूले बासको चोयाबाट निर्मित गरेका सामग्री बिक्री नहुने उनको गुनासो छ । आफ्नो हातमा सीप भएर दिनभरि लगाएर सामान बुन्ने र ती सामान बिक्री नहुँदा दुःख लाग्ने उनको अनुभव छ ।

‘चोया काट्न सके दिनमा ८ देखि १२ वटासम्म ढाकी, पंखा र नाङ्लो बनाउन सकिने उनले बताए । मासिक कमाइ झण्डै १५ देखि २० हजार रुपैयाँसम्म पुग्ने गर्दथ्यो । अहिले सवै हरायो ।’ –उनले भने । यता मेचीनगरकै ६७ वर्षीय रामनन्द मल्लिकले बाँसको चोयाबाट विभिन्न घरेलु सामग्री बनाएर पाँच जनाको परिवार पालिरहेका थिए । ‘बाँसकै चोयाबाट बनाएका समान बेचेरै वर्षभरिको छाक टार्न कसैको भर पर्नु परेको थिएन् । महिनामा सात–आठ हजार रुपैयाँ हात पर्दथ्यो । अहिले उनी पनि बजारमा आफ्ना सामानको माग घट्दै जान थालेपछि नजिँगिएका चाड पर्व कसरी मान्ने होला भनेर चिन्तामा छन् ।

उनी विशेषगरी ठूला–ठूला भकारीहरु बनाउँथे । अहिले भकारीकै काम गर्ने अत्याधुनिक सामान बजारमा सजिलै मिल्ने भएपछि भकारीको माग नै घट्यो । ‘किसानले मंसीरमा धान थन्क्याउने समयमा उनको भकारीको माग प्रशस्त हुने गर्दछ’ –मल्लिकले भने– ‘एउटा भकारी एक हजारदेखि १२ सय रुपैयाँसम्ममा बिक्री हुने गर्दथ्यो । धेरैको आय आम्दानीको प्रमुख स्रोत पनि बाँसबाट बनाइएका सामग्री नै बनेका थिए ।

व्यापारीले घरमै आएर खरिद गर्ने गरेकाले यी वस्तुलाई बजारको कुनै समस्या थिएन् आज सबै संकटमा पर्दै जान थालेको छ । उनी बासकै चोयाबाट बिस्कुन सुकाउनदेखि अन्य काममा समेत प्रयोग हुने मान्द्रो बनाउँथे । पछिल्लो समय प्लास्टिकका त्रिपाल बजारमा आउन थालेपछि करिब तीन वर्ष अघिदेखि उनी यो कामबाट वञ्चित छन् ।

त्यस्ता त्रिपाल शहरदेखि ग्रामीण क्षेत्रसम्म पुग्न थालेको उनको भनाइ छ । त्यसपछिदेखि आफ्नो मान्द्रोको माग घटेको उनी सुनाउछन् । आफ्नो पुस्तौपुस्तादेखिको सीप लोप भएर जाने खतरा बढेको भन्दै तीन/चार वर्षदेखि गाउँमा प्लास्टिकका सामान प्रयोग गर्न थालेपछि यो आफ्नो पेशा पनि क्रमश संकटमा पर्दै गएको जानकारी दिए । पछिल्लो समय शहरदेखि गाउँसम्म सबैले आयातित सामान प्रयोग गर्ने गरेका मल्लिकको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here