बेल्जियममा गिरी र ढकालका कृतिको विमोचन

0
15

अनेसास ।

बेल्जियम च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्ती, नवाँ अधिवेशन तथा पुस्तक विमोचन लक्ष्मी पूजाकै दिन बेल्जियमको आन्ट्रोपेन शहरमा बेनेलक्सका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारी प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

कार्यक्रममा कवि विमल गिरीद्वारा लिखित ‘अजम्बरी’ मुक्तकसंग्रहको बिमोचन गर्दै राजदुत राजभण्डारीले बिदेशमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै नयॉं–नयॉं कृति प्रकाशन गरेको भन्दै गिरीलाई हार्दिक बधाई दिएका थिए ।

बेल्जियमले बिदेशमा पनि नेपाली बीच नेपाली भाषा, साहित्य र संस्कृतिको प्रबर्धनमा लागिरहेकोले नै आफू अति ब्यस्त समयका बाबजुत पनि कार्यक्रममा उपस्थित रहेको भन्दै उनले संस्थालाई अझै सक्रिय बनाउन आग्रह गरे ।

कार्यक्रममा सल्लाहकार दीपेन्द्र केसीले लेखकको बारेमा चर्चा गरेका थिए । पंचम अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली भाषा तथा साहित्यमा योगदानको बारेमा बोलेका थिए ।

साहित्यकार कौशल खनाल, गोपाल दाहाल, श्रीराम प्रसाई, ब्रम्ह वाग्ले, जमुना गैरे बास्तोला, परमानन्द सापकोटा, विमल गिरी , सौरभ कारन्जित, चन्द्र शर्मा, पंचम अधिकारी, लोकनाथ शर्मा, दीपेन्द्र केसी तथा डिल्ली अम्माईले आफ्ना रचना मार्फत महाकवि देवकोटा प्रतिश्रद्धा सुमन ब्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्चारकर्मी तथा साहित्यकार पुरुषोत्तम ढकालका दुई कृति ‘भगवानलाई प्रश्न’ तथा ‘Borderless Dreams’ को बिमोचन गरिएको थियो । संस्थाका अध्यक्ष डिल्ली अम्माईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सौरभ करन्जितको स्वागत र सञ्चालन महासचिव लोकनाथ शर्माले गरेका थिए ।

यसैबीच संस्थाको नवौं अधिवेशनले सौरभ कारन्जित अध्यक्ष, लोकनाथ शर्मा उपाध्यक्ष, गोपाल दाहाल महासचिव, जमुना गैरे बास्तोला सचिव , श्रीराम प्रसाई कोषाध्यक्ष, लिलाधर पन्त , बिनोद शाहि सदस्य रहने गरी २०२३–२०२५ को लागि नयॉं समिति सर्वसम्मत चयन गरेको छ ।

सल्लाहकार मण्डल र समितिलाई पूर्णता पहिलो बैठकबाट दिने निर्णय भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here