छाता

0
8

 

लघुकथा

संग्रह पल्टाउँदा,

२०३१ साल माघ २९ गते काठमाडौंको दक्षीणकाली–३ फर्पिङ सोखेलमा माता÷पिता लक्ष्मी र नारायणबहादुर श्रेष्ठको कोखबाट जन्मेका शेखरकुमार श्रेष्ठ मूलतः बाल कथाकार तथा लघु कथाकार हुन् । नेपाली साहित्यको आकाशमा यिनले बाल कथा र लघुकथाको क्षेत्रमा छोटो समयमा निक्कै ठूलो दख्खल राखेका छन् । यिनी आफ्नो लेखनमा तत्क्षेत्रको तत्तत् यथार्थ चित्रणमा जोड दिन्छन् । उनी त स्रष्टा मात्र नभएर एक कुशल द्रष्टा पनि हुन् । यसका अलवा कविता, निबन्ध आदि लेखनका साथै उनी एक सम्पादक, खोज तथा अनुसन्धानकर्ता पनि हुन् ।

हालसम्म उनका सगरपुर लघुकथा संग्रह २०६० पूर्णिमाको राति बाल कविता संग्रह सहलेखन २०६९ सिद्धिचरणका खण्डकाव्यमा क्रान्ति चेत समालोचना २०६९ धन्यवादका पात्र बालकथा संग्रह २०७५ कमिलाको जन्ति बालकथा संग्रह २०७६ हिमाल मुन्तिर बाल कविता संग्रह २०७६ गोदावरी मेला र दक्षिणकाली नगरका तीर्थस्थल २०७७ मृत्यु उत्सव होस् कविता संग्रह २०७८ र बोकाको खुशी लघुकथा संग्रह २०७९ प्रकाशित भइसकेका छन् । प्राविधिक त्रुटीका कारण यस छाता लघुकथा कृतिमा घर झगडा शीर्षकको लघुकथा पेज ९७ मा दोहोरिएको छ । यो सानो लेखमा यस कृतिभित्रका ११ वटा लघुकथाको मात्र संक्षिप्त चर्चा गरिएको छ ।

छाता– शीर्षकको लघुकथाको शीर्षकका आधारमा यस लघुकथा संग्रहको नामकरण गरिएको छ । यस लघुकथामा केटाकेटीमा हुने खासमा धनको देखावटी अहमता वा युवायुवतीमा हुने धनको ढाडसपन, एकअर्काप्रतिको आकर्षण, तिनका बीचको ख्यालठट्टा आदि प्रस्तुत गरिएको छ । बाहिर–बाहिर नाइनासुत भित्र गयो, भुइँमा सुत् भने जस्तो भित्री रूपमा आफूसँग केही नभए पनि विपरीत लिङ्गीका अगाडि कुनै कुराको अभाव नदेखाउने प्रवृत्तिको चित्रण गरिएको छ ।
जसरी केही पर पुगेपछि ती युवायुवती छुट्टिनुपर्ने दोबाटो आइपुग्छ र छुट्टिन्छन् । तिनको प्रेम पनि परिपक्व नभएका कारण किशोर–किशोरीहरू पछि गएर प्रेममा पनि त्यसरी नै कारणवश बीचमै छुट्पर्ने सम्भावित परिस्थितितर्फ पनि यस कथाले संकेत गरेको छ । छाता लघुकथा एउटा दाम्पत्य जीवनको प्रतिकात्मक रूपमा पनि प्रस्तुत भएको छ । यस कथामा युवायुवतीबीच देखावटीपनको आडम्बर पनि कम रूपमा प्रस्तुत भएको छैन । कथा रोमाञ्चक पनि छ । सन्देशमूलक पनि छ र सशक्त पनि छ ।

नातिनी– यस लघुकथामा बुढेशकाल भएका आफ्ना बा–आमाप्रति तिनका छोराछोरीले गर्ने हेलाको व्यवहार प्रस्तुत गरिएको छ । यो समयसापेक्ष पनि छ । बुढा भएका बा लडेर खाडलमा पर्दा समेत छोराबुहारीले उनीप्रति देखाएको कटु व्यवहारले मन काट्छ । त्यो अवस्थामा छोराबुहारीलाई अलिकति पनि दया नपलाएको बरू नातिनीमा देखिएको हजुरबाप्रतिको माया अत्यन्तै कारुणिक ढङ्गले प्रस्तुत भएको छ । छोराबुहारीले लडेको बाउलाई अस्पताल लानुको सट्टा नाटक गरेको र माया नपचेको जस्ता कटु वचन बाण प्रहार गरेको कुराले आजको अवस्थाको यथार्थ चित्रण गरेको छ ।
मुसा– यस लघुकथामा गरिबीको चरम चित्रण गरिएको छ । यहाँ एउटा कवाडी सामान भेला पारेर त्यसबाट आएको दुईचार पैसाले जीवन गुजारा चलाइरहेको साइँलाको जीवन कथा प्रस्तुत गरिएको छ । यस कथामा कोरनाबाट बच्नका लागि साबुन, मास्क र सेनिटाइजर जस्ता अत्यावश्यक सामान समेत किन्न नसक्नेहरूको जीवनयापनप्रति संकेत गर्दै तात्कालीन सरकारले त्यसप्रति गरेको बेवास्ताप्रति कथाकारले तिखो व्यंग्यवाण प्रहार गरेका छन् ।
वरदान– यस लघुकथामा हरेक मानिस आफ्नो स्वार्थ पूरा गर्न कुनै न कुनै रूपमा तल्लीन हुन्छ । पहिले आफूलाई त्यसपछि मात्र अरूहरूलाई सोच्चे मानवीय प्रवृत्तिप्रति दरो झापड हानिएको छ । यस कथामा स्वार्थप्रति कडा कटाक्ष गरिएको छ । कोही व्यक्ति यस्ता पनि छन्, जसले सबैको भलाइ होस् भन्ने वर मागेका छन् । उनको वर माग्ने पालो अन्त्यमा आएको छ । उनले अपवादको पनि प्रतिनिधित्व गरेका छन् ।

किसान– यस लघुकथामा अरू व्यापार, व्यवसाय, पेशा आदिमा लाग्ने सबैले आफूलाई टाठो रूपमा प्रस्तुत गरेका छन् । एउटा निरीह किसान भने आफ्नो परिचय दिने क्रममा केही नभनी वा केही भन्नु छैन आफूले गरेको पनि केही छैन । आफूले फलाउने अन्न बाली पनि आफ्नो हातमा नभएको र सबै अर्काको हातबाट हुने आफूले त केबल श्रम मात्र गर्ने सोझो यथार्थ प्रस्तुत भएको छ । कथाका सबै पात्रहरू आ–आफ्नो तौरतरिकाबाट बडो चलाख्याइँका साथ आफ्नो परिचय दिन अघि सरेका छन् । निरीह एउटा कृषक भने जमिनतिर निहुरिएर केही नबोली बसको छ । यहीँबाट थाह हुन्छ कि आजका नेपाली कृषकको अवस्था ।

तस्वीरको माला– यस कथामा मातातीर्थ औंशी÷आमाको मुख हेर्ने दिनको सम्झना गरिएको छ । एउटी आमाले छोरी भए मलाई पनि अरूलाई अरूका छोरी भेट्न आए झैं भेट्न आउँथी होला भनेर कल्पना गरिएको छ । भएको एउटा छोरो पनि आफ्नै कारणले भवितव्यमा परि मृत्यु भएको र छोरी आफ्नो कोखबाट नजन्मिएकोले आमाको चित्त सारै दुखेको छ । आफूले फलफूल लिन पठाउँदा दुर्घटनामा परी मरेको छोराको सम्झना र पश्चताप खुब गरिएको छ ।

यदि आफूले त्यसरी छोरालाई फलफूल लिन नपठाएको भए सायद छोरो सकिने थिएन होला । यही पश्चाताप आमाको मन र आँखा भरिरहेको कुरा प्रस्ट्याइएको छ । अर्को कुरा एउटी सफल बुहारीले आमाको पिर र मार्का बुझी अत्यन्तै ज्ञानी र विवेकी भइ सासुआमालाई सम्झाएको प्रसङ्ग पनि अति रोचक र मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । म बुहारी भए पनि मलाई छोरी सरह मान्नुहोस् भनेर पीडाको भित्र चुरोसम्म पुगेर आफ्नी सासु आमालाई सम्झाउन सक्ने खुबी भएका बुहारी पनि यदाकदा यही समाजको परिवारमा भेटिने गरेको कुरा समेत यस कथामा उल्लेख गरिएको छ ।
पेट लाने भए– यस लघुकथामा निराक्षर बाल श्रमिकको यथार्थ चित्रण गरिएको छ । कतिपय श्रमिकका छोराछोरीले पेटभरि खान त पाउँदैनन् भने शिक्षा लिने अवसर कहाँबाट पाउँन् । श्रमिकले आफ्ना छोराछोरी आफू जहाँ काम गर्न गयो, उहीँ सँगै लिएर जान बाध्य छन् । बरू पढ्नुको सट्टा सानोतिनो केही काम सघाइदिए आफूहरूलाई होलो, खुकुलो हुने देख्छन् । श्रमिकहरू न उनीहरूसँग छोराछोरी पढाउने खर्च नै हुन्छ । यसरी यस कथामा गरिबी र बालश्रमको यथार्थ चित्रण गरिएको छ । यो हाम्रो देशको यथार्थ चित्रण हो । सरकारी तवरबाट बालश्रम वन्द गरेपनि व्यवहारमा त्यो अझै पनि पूर्ण रूपमा लागू भएको पाइँदैन । यो कुरालाई पनि कथामा दर्शाउन खोजिएको छ ।

उचाल पछार– यस लघुकथामा कथाकारले सासु बुहारीबीच छोराले एकअर्कालाई उचालेर ती दुईबीच झगडा लाउन खोजेको कुरा देखाएका छन् । कतिपय छोराहरू पनि त्यस्ता जोइटिङ हुन्छन् । ती श्रीमतिको टाङ मुनि छिरेर परिवारमा किचलो ल्याउने काम गर्छन् । त्यहीँ फेरि कतिपय बुहारीहरू यस्ता पनि हुन्छन् । ती सहनशील र बुद्धिमानी हुन्छन् । तिनकै कारण परिवारमा झैं–झगडा हुन पाउँदैन । ती आफूमा परिवारलाई अनावश्यक झैं–झगडा हुनबाट बचाउने क्षमता राख्छन् । यस कथाकी बुहारी पात्र त्यस्तै सहनशील र बुद्धिमानी नारीकी प्रतिनिधि पात्र हुन् । आफ्नै श्रीमान्ले सासु–आमासँग झगडा लाउन आफूलाई उचालपछार गर्दा पनि श्रीमतिले त्यसलााई बेवास्ता गरी आफ्नो भद्र र सहनशील नारी चरित्र प्रस्तुत गरेकी छन् । यस कथाले परिवारभित्र वा बाहिर जो कसैलाई उचालेर दुई पक्षबीच झगडा लगाइ दिन्छ वा झगडा लगाउन खोज्छ त्यस्ताप्रति कटाक्ष गरेको छ ।

छोरी बन्न सकिन– यो लघुकथा गरिबीको चरम चित्रण भएको लघुकथा हो । यसमा आजको महँगी त्यसमाथि महँगो औषधोपचारको यथार्थता प्रस्तुत गरिएको छ । कथाको मूख्य पात्र रामप्रसाद नेपाली जो काम त गर्छ यद्यपि त्यहाँबाट आएको पैसाले उसकै उपचार गर्न पुग्दैन । सम्पत्तीका नाममा भएको एउटा घर छ । त्यसको पनि लथालिङ्ग अवस्था रहेको छ । छोराछोरीले पढ्न नपाएको त के कुरा तिनलाई खान–लाउन कै समस्या विकराल छ । कथामा घर झगडा हुनुको एउटा कारण अभाव पनि हो । यो कुरालाई पनि कथाकारले दर्शाउन खोजेका छन् । अर्को कुरा जहाँ गए पनि रामप्रसादका सन्तानलाई अभावले पछ्याइरहेको कुराबाट कथाकारले कथामा सामाजिक अभावलाई पनि प्रस्ट्याउन खोजेको देखिन्छ ।

सहयोग– यो एउटा मार्मिक कथा हो । यस कथामा एकातिर परिवारमा हुने गरेको एक अर्काप्रति शङ्काको दृष्टिले हेर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । अर्कोतिर सहयोग कस्ता व्यक्तिलाई गर्नुपर्छ र यो सहयोग के हो ? भन्ने कुरा एक झोक्कामा प्रस्तुत गरिएको छ । यहाँ दीपकले निःस्वार्थ भावले आफ्नो–बिरानो नभनि सहयोगको भावना राखेको छ । ती सहयोग गरिएकी महिला भरे भन्दा आफ्नो मान्छे भएको देखाइएको छ । उसले थाहै नपाइ आफन्तलाई मात्र सहयोग गर्नुपर्छ भन्ने उसकी श्रीमतिको चाहना अनुरुप काम भएको कुराले कथा रोमाञ्चक पनि बनेको छ ।

अर्काको कुकुर– कथामा कुकुर एउटा प्रतिकात्मक रूपमा आएको छ । कुकुर समाजमा हुने गरेका आपराधिक मानवीय प्रवृत्तिको प्रतिनिधि पात्र पनि हो । यसलाई यहाँ नुनको सोझो गर्ने समाजमा रहेको मानव प्रवृत्तिका रूपमा प्रस्तुत गरिएको छ । यसरी सरसर्ती रूपमा हेर्दा शेखरकुमार श्रेष्ठ एक सशक्त बाल कथाकार, लघुकथाकार सम्पादक र समालोचकका रूपमा दरिएका छन् । उनका अधिकांश लघुकथामा कुनै न कुनै रूपमा मानवीय जीवनका आरोह–अवरोह, मायाप्रेम, अभाव, देशको राजनीतिक, आर्थिक, सामाजिक आदि क्षेत्रमा देखापरेका विसङ्गति, विकृति र विद्रुपात्कता नै समेटिएको पाइन्छ । नेपाली साहित्यको लघुकथाको इतिहासमा उनको उक्त छाता लघुकथा संग्रहले पनि आफूलाई स्थापित गराउन उनी सफल भएका छन् । लघुकथाको कसीमा राखेर हेर्दा पनि उनको यो लघुकथा संग्रह आजको लघुकथा लेखनको क्षेत्रमा अब्बल छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here