क्यानाडा: सुखी र खुशी शहरहरू

0
5

क्यनाडा थोरै जनसंख्या भएर पनि विश्वकै धनी देश हो । यो वैभव, उसको दुरदर्शिता, असल नेतृत्व, मेहनती जनताका कारण नै प्राप्त भएको हो । त्यहाँका जनता जति सुखी अन्त कतै पाइँदैनन् । क्यानाडामा कैयन नेपालीहरु पनि अध्ययन र विभिन्न कामका लागि पुगेका छन् र सुख प्रात प्राप्त गरिरहेका छन् ।

क्यानाडाका गाउँघर पनि अत्यन्त सुखसयलमय छन् । त्यहाँ धनको कमी छैन । जनताहरु निकै सुखी र खुशी छन् । शहरहरुको त कुरै अर्कै । शहरहरुमा सुखसयलका यावत माध्यमहरु मौजुद छन् । यसै सन्दर्भमा क्यानाडाका तीन सुखी शहरहरुबारे यहाँ संक्षिप्त वणर्न गरिन्छ ।

क्यानाडाको भ्यानकुभर, क्यालगरी र टोरन्टो शहरहरु ग्लोबल लाइभेबिलिटी इन्डेक्स २०२३ को शीर्ष १० शहरमा पर्न सफल भएका छन् । यस सूचकांक अन्तर्गत, शहरहरूमा रहनसहनको अवस्थाको मूल्यांकन गरिन्छ । यस सूचीमा शहर समावेश हुनुको अर्थ यो हो कि यो स्वास्थ्य सेवा, संस्कृति, वातावरण, शिक्षा र पूर्वाधारको साथ निकै नै राम्रो अवस्थामा छ । क्यानाडाका यी तीन शहरका मानिसहरूको जीवन कस्तो छ ? ग्लोबल लाइभेबिलिटी इन्डेक्स २०२३ को शीर्ष शहरमा बस्न कस्तो लाग्छ ? त्यहीँका जनताका विचार जानौं ।

उसो त युरोपेली र स्क्यान्डिनेभियन देशहरूका शहरहरू पनि शीर्ष स्थानमा पर्दछन् । तर, क्यानाडाका शहरहरु जति उत्तम छैनन् । क्यानाडाको भ्यानकुभर, क्यालगरी र टोरन्टो शहरहरु स्वास्थ्य सेवा र शिक्षाको मामलामा शीर्ष स्थानमा छन् । स्वास्थ्य र शिक्षा अब्बल भएपछि के चाहियो र ? स्वस्थ भएपछि जे पनि काम गर्न सकिने भयो र राम्रो शिक्षा भएपछि विश्वमै अब्बल नागरिक भइयो ।

भ्यानकुभरमा बस्ने क्यानाडाली नागरिक सामन्था फ्ल्क भन्छिन्, हाम्रो प्रगतिशील राजनीति र स्वास्थ्य सेवा मिलेर क्यानाडालाई बस्नका लागि राम्रो ठाउँ बनाइएको छ । म यस्तो देशमा बस्ने कल्पना पनि गर्न सक्दिनँ, जहाँ म डाक्टरलाई भेट्न, छोराछोरीलाई अस्पताल लैजान वा क्यान्सरका कारण दिवालिया हुन डराउँछु । यसको अर्थ, क्याडामा स्वास्थ्य उपचारकै कारण आफ्नो धन सकिदैन । त्यहाँको सरकारले जनतालाई स्वास्थ्य उपचारमा सघाउँछ ।

क्यानाडाले विशाल सार्वजनिक यातायात र यातायात प्रणालीमा लगानी गरिरहेको छ जसले ठूला शहरहरूमा यात्रा गर्न सजिलो र किफायती बनाउँदछ । शहरको सार्वजनिक यातायात यति राम्रो छ कि उनीहरूलाई शहरमा कहीँ पनि जानका लागि पर्सनल कारको आवश्यकता पर्दैन । भ्यानकुभरलाई बस्नका लागि क्यानाडाको सबैभन्दा योग्य शहर घोषणा गरिएको छ । यसको कारण संस्कृति र वातावरणसँग सम्बन्धित उपसूचकांकमा यस शहरको राम्रो स्कोर हो । यस्तो अवस्थामा विश्वका शीर्ष १० शहरमा अकल्याण्डको मात्र स्कोर भ्यानकुभरभन्दा राम्रो छ । भ्यानकुभरमा समुद्र र पहाडहरूको अद्वितीय संगम छ र यसैले यसलाई सबैभन्दा आकर्षक मनमोहक बनाउँछ ।

सामन्थाका अनुसार शहरको चारसय पाँच हेक्टरमा फैलिएको स्टेनली पार्क शहरको मुटुमा रहेको छ र यसमा सदियौं पुराना रुखहरु अभैm पनि स्वस्थ रुपमा उभिइरहेका छन् । त्यहाँ सात आठ सय वर्ष पुरानो पाइनको रूख पनि छ, जसलाई होलो ट्री भनिन्छ । भ्यानकुभरमा बस्ने जेन स्टालर भन्छिन्, यहाँ किसानका बजार पनि छन् । यहाँ स्वादको कुनै कमी छैन । यहाँ निकै नै सस्ता र स्वादिष्ट, स्वस्थ, पौष्टिक खाना, पकवानहरु पाइन्छन् । भ्यानकुभरका मानिसहरु खुला दिमाग, विविध कला, प्रविधि, हरित अभियानका लागि एकजुट हुन रुचाउँछन् ।
यी शहरहरू पश्चिमी प्रान्त अल्बटौको चट्टानी पहाडहरूको नजिकै अवस्थित छन् । यहाँका नागरिकहरू भन्छन् कि, यो शहरले आधुनिक शहरहरूको सबै सुविधाहरूको भावना दिन्छ । क्यानाडाका अन्य शहरको तुलनामा यहाँ जीवनयापनको लागत पनि कम छ ।

ट्राभल ब्लगर लोरा पोप भन्छिन्– क्यालगरी शहर क्यानाडाको सबैभन्दा ठूलो शहरमध्ये एक भए तापनि यसले आफ्नो अद्वितीय सुन्दरता कायम राख्न सफल भएको छ । छिमेकीहरू मित्रवत छन् । मानिसहरूको दिमागमा समुदाय छ र त्यहाँ किसानहरूका बजारहरू छन् । शहर अनि कृषिको सुमधुर सम्बन्ध । अरु के चाहियो र । यहाँ चलनचल्तीको खाने ठाउँ, सांस्कृतिक पर्व र नाइट लाइफको कुनै कमी छैन । यो शहर विविधतामा पनि अगाडि छ । यहाँ दुई सय ४० जातिका मानिसहरू बस्छन् र एक सय ६५ भाषाहरू बोलिन्छन् ।

क्यालगरीका मानिसहरूसँग पैसा छ र तिनीहरू खर्च गर्न रुचाउँछन्, सञ्चार क्षेत्रमा काम गर्ने जेसी पी कायाबो भन्छन्– जुलाई महिनाको पहिलो शुक्रबारबाट शुरु हुने वार्षिक क्यालगरी स्टाम्पेड फेस्टिभलमा मानिसहरु पश्चिमी पहिरनमा सजिन्छन् । भव्यरुपमा पार्टी गर्दछन् । यस पर्वमा संसारभरका मानिसहरु आउने गर्दछन् । क्यानाडाको अधिकांश जस्तै, यो शहर पनि प्राकृतिको एक राम्रो निकटता छ । क्यालगरीसँग उत्तरी अमेरिकामा सबैभन्दा ठूलो र चौडा साइकल पथ सञ्जाल छ । पैदल र साइक्लिङका लागि एक हजार किलोमिटरभन्दा बढी पक्की बाटा छन् । यी मार्गहरूमा साइकल चलाउँदा शहरका धेरै लुकेका ठाउँहरू देख्न सकिन्छ ।

जाडोयाममा, जब यो क्षेत्र हिउँले ढाकिन्छ, मानिसहरू स्कीइङ, स्केटिङ, ट्यूबिङ र स्नोशूइङ जस्ता खेलले खेलेर हेरेर आनन्द लिन्छन् । यस शहरले सन् १९८८ मा शीतकालीन ओलम्पिकको आयोजना गरेको थियो र त्यतिबेला बनाइएका सुविधाहरू यथावत छन् । यहाँ जाडो लामो हुन्छ, तातो ठाउँबाट यहाँ आउनेहरुले जाडोका लागि राम्रो लुगा र गियर लिएर जानु उपयुक्त हुन्छ । टोरन्टो क्यानाडाको सबैभन्दा ठूलो शहर हो र यसले निकै नै आधुनिक शहरको अनुभूति गराउँछ । त्यहाँ एक हजार पाँच सयभन्दा बढी पार्कहरू छन् । जसले मानिसहरूलाई बाहिरी गतिविधिहरूसँग जोड्दछ । त्यहाँका ठूला शहरको तुलनामा जीवन सहज होस् भनेर मानवीय पक्षलाई ध्यानमा राखेर उपयुक्त पूर्वाधारहरु विकास गरिएका छन् ।

क्यानाडामा के अनौठो छ भने त्यहाँ जाडोयाममा बाँच्न लायक बनाउन भूमिगत पैदल मार्गको पाथ नेटवर्कलाई यहाँका मानिसहरूले सबैभन्दा बढी मन पराउँछन् । त्यहाँ बस्ने होआङ एन नामकी ब्लगर भन्छिन्– मेरो अफिसदेखि एयरपोर्टसम्म, बाहिर डिनरमा जानेदेखि किनमेल गर्नेसम्म, डाक्टरकहाँ समेत जान, कोल्ड कोट नलगाई पनि यो पाथ नेटवर्क भएर जान सकिन्छ ।

क्यानाडामा, शहरको जुनसुकै कुनामा पनि साइकल भाडामा लिन सकिन्छ, यो यातायातको ग्रीन माध्यम हो । यो शहर आफ्नो विविधताको लागि पनि चिनिन्छ । टोरन्टोमा बस्ने ५१ प्रतिशत मानिस क्यानाडा बाहिर जन्मिएका हुन् । सफ्टवेयर कम्पनी होस्टअवेका संस्थापक मार्कस रेडर भन्छन्– पश्चिमी मुलुकका यी एकमात्र प्रमुख शहर हुन् जहाँ अल्पसंख्यक गैर गोरा मानिसहरू वास्तवमा बहुमतमा छन् । उनी भन्छन्– यहाँ विविध संस्कृति र भाषाको अनुभव गर्ने थुप्रै अवसर छन् । क्यानाडाले बहुसंस्कृतिवादलाई अँगालेको छ । क्याडामा सांस्कृतिक विविधताले विभिन्न चाडपर्व, परिकार, मानिसमा गरिने सम्मान, नयाँ विचार र रहनसहनको आदानप्रदान मार्फत समुदायलाई समृद्ध बनाउँछ ।

क्याच कर्नर एपका सीईओ जोनाथन अजुरी भन्छन्– मानिसहरूको काम र व्यक्तिगत जीवनसँग सम्बन्धित सांस्कृतिक बानीहरू सिक्नु चाखलाग्दो छ । यो शहर आफ्नो उद्यमशीलताको लागि पनि चिनिन्छ । यहाँ गुगल र फेसबुक जस्ता ठूला कम्पनीका कार्यालय छन् । साथै, धेरै नयाँ स्टार्टअपहरू पनि यहाँ हुने गर्दछन् । टोरन्टो शहर न्यूयोर्क र सिलिकन भ्यालीपछि उत्तरी अमेरिकाको सबैभन्दा ठूलो टेक्नोलोजी हब पनि हो । यस शहरको सांस्कृतिक विविधता र प्राविधिक समृद्धिले यहाँ विविध पृष्ठभूमिबाट आउने मानिसहरूलाई राम्रो अवसर प्रदान गर्दछ ।

टोरन्टो लगायत क्यानाडाका सबै शहरमा सुखमय जीवन जिउन निकै सजिलो छ । मुख्यतः क्यानाडामा वाक स्वतन्त्रता निकै खुल्ला र उच्च कोटीको छ । हुन त धेरै खुल्लापनले कतिपय अवस्थामा समस्या पनि निम्त्याउने गर्दछन् । तर, क्यानाडाको विशेषता नै विशिष्ठ किसिमको वाक स्वतन्त्रता हो । क्यानाडाका शहरहरु जति नै समृद्ध भए पनि त्यहाँका कतिपय मानिसहरु सडकमा माग्छन्, सडकमै खान्छन् र सडकमै सुत्छन् । यस्तो अपवाद बाहेक क्यानाडाका शहरहरु सुरक्षित, अवसरले भरिएका र विश्वका जुन कुनै ठाउँबाट आएका भए पनि एक अर्काप्रति सम्मान गर्ने परम्परा रही आएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here