दुई करोड लगानीमा सुरुङ्गामा डेन्टल सेन्टर शुरु

0
6

सुरुङ्गा ।

स्थानीय आवश्यकता महसुस गरी झापाको सुरुङ्गामा फूलनारद डेन्टल सेन्टर सञ्चालनमा ल्याइएको छ । २५ वर्षीय डा. अभिषेक लुइँटेलले २ करोड रुपैयाँको लगानीमा सुरुङ्गा टप्पुचोकमा सो डेन्टल सेन्टर शुरु गरेका हुन् । एक भव्य कार्यक्रमका वीच स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सेन्टरको उदघाटन गरे ।

मेयर पोखरेलले शिक्षित युवा अवसरको खोजीमा विदेशमा पलायन भइरहेको आजको जटिल अवस्थामा डा. लुइँटेलले स्वरोजगार सृजना गरी आफ्नै जन्मस्थलमा काम गर्न प्रयत्न गर्नु स्वागतयोग्य कर्म भएको बताए । त्यसै गरी, नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले शिक्षण पेसामा आबद्ध मातापिताका सुपूत्रले लिएको यो कदमले आफूहरू गौरावान्वित भएको बताइन् ।

स्थानीय पशुपति अङ्ग्रेजी माविबाट २०७० सालमा विशिष्ट श्रेणीमा एसएलसी गरेका अभिषेकले काठमाण्डौं विश्वविद्यालय धुलिखेलबाट २०७८ मा ब्याचलर इन डेन्टर सर्जरी कोर्स पुरा गरेका थिए । सिन्धुपाल्चोकमा केही समय काम गरेका अभिषेकले अन्य अस्पतालबाट अफर आए पनि आफ्नै गाउँठाउँमा बसेर सेवा गर्ने लक्ष्यका साथ आफू र आफ्नो परिवारको पहलमा डेन्टल सेन्टल शुरू गरेको बताए ।
उनले भने, ‘युवा सबै विदेश जाने ट्रेन्ड छ, तर म आफ्नै मुलुकमा केही गर्न चाहन्छु ।’ डा. अभिषेकको आफ्नै जन्मेहुर्केको ठाउँमा रहेर समाजको सेवा गर्ने सोचको सबैले प्रशंसा गरेका छन् । रोटरी क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट नोमिनी समेत रहेका शिक्षासेवी डिल्लीराम मैनालीले डाक्टर, इन्जिनियर जस्ता युवा जनशक्ति राम्रो अवसरको खोजीमा विदेश भासिइरहेको वर्तमान अवस्थामा डा. अभिषेकको निर्णय आम युवाका लागि प्रेरणादायी र अनुशरणीय रहेको बताए ।

छोराले गरेको निर्णयमा बडीबुबा परमानन्द, बुबा भवानी र आमा गीताको पनि साथ र सहयोग छ । आफ्नै जन्मेहुर्केको ठाउँमा बसेर जनताको सेवा गर्ने छोराको निर्णयमा लुइँटेल परिवार खुसी छ ।


डेन्टल सेन्टरमा दाँतको समस्यासम्बन्धि सम्पूर्ण सेवा उपलब्ध रहने बताइएको छ । डा. अभिषेकले दिएको जानकारीअनुसार अत्याधुनिक उपकरणको सहयोगमा दाँतसम्बन्धि साधारणदेखि विशेषज्ञ सेवा २४ सै घण्टा सस्तो र सुलभ रुपमा उपलब्ध हुनेछ । सो सेन्टरमा डा. अभिषेकसँगै अर्थोडेन्टिस्ट डा. मुकेश शाह, डा. मिराज आलम र इम्प्लान्ट स्पेसलिस्ट डा. सिमान्त लामिछानेको पनि सेवा रहने सेन्टरका कर्मचारी कौशिला लुइँटेल (खतिवडा) ले जानकारी दिइन् ।

उदघाटन कार्यक्रममा एमाले झापा जिल्ला कमिटी सदस्य ओमप्रसाद पाठक, रोटरी क्लब अफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट शिवकुमार कडेंल, मेची बहुमुखी क्याम्पस भद्रपुरका सहायक क्याम्पस प्रमुख भानु भट्टराई, कन्काई माविका पूर्व प्रअ ईश्वरीप्रसाद शिवाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरा, रास्वपा कनकाई नगर सभापति नन्दकुमार चुडाल, कनकाई नगरपालिका वार्ड नं.३ वार्ड अध्यक्ष युवराज चम्लागाईं, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश सदस्य लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौला, भगवती आधारभूत विद्यालयका प्रअ खड्ग बिमली, समाजसेवी कमल खरेल, रमेशचन्द्रबाबु मैनाली लगायतको आतिथ्य रहेको थियोे ।

कार्यक्रमको अन्त्यमा सेन्टरका व्यवस्थापक भवानी लुइँटेलले सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन तीर्थराज खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here