कमल गाउँपालिकामा पहिलो पटक ट्याक्टरबाट जोतेको मूल्य निर्धारण

0
9

उमानाथ भण्डारी/कमल ।

झापाको कमल गाउँपालिकामा पहिलो पटक ट्याक्टरबाट जोतेको मूल्य निर्धारण भएको छ ।

कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्याक्टरको मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र किसान ठगिनबाट रोक्नका लागि दररेट निर्धारण गरेको हो ।

झापामा पहिलो पटक कमल गाउँपालिकाले किसानले कृषि प्रयोजनका लागी ट्याक्टर प्रयोग गर्दाको दररेट तोकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले निर्धारण गरेको मूल्य अनुसार रोडाभेटर बाट जोतेबापत किसानले प्रतिघण्टा दुई हजार रुपैयाँ तिर्नु पर्नेछ । यसभन्दा अघि २ हजार ५ सय रुपैयाँ सम्म भुक्तानी गर्दै आएका थिए ।

ट्याक्टर धनीले मनपरी रूपमा किसानबाट रकम असुल्दा पनि स्थानीय सरकारको चासो नगएको भन्दै विरोध हुन थाले पछी गाउँपालिकाले मूल्य निर्धारण गरेको अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

यसैगरी कल्टिभेटर जोताइ गर्दा प्रतिघण्टा एक हजार ५ सय रुपैयाँ मात्र तोकिएको छ । यो मूल्य निर्धारण नहुँदा किसानबाट दुई हजारभन्दा बढी रकम ट्याक्टर सञ्चालकहरूले लिँदै आएका थिए । बारम्बार इन्धनको मूल्य बढेको भन्दै किसानबाट बढी रकम ट्याक्टर सञ्चालकहरूले असुल्दै आएका थिए ।

धान झार्न थ्रेसर प्रयोग गर्दा २० टिनको १ टिन किसानले दिनुपर्नेछ । यसभन्दा अघि १५ टिनको १ टिन किसानले दिनुपर्ने अवस्था थियो । किसानले पछिल्लो समयमा राँगा गोरुको प्रयोग गर्न छाडेपछि ट्याक्टरमा नै निर्भर रहनु परेको छ । ट्याक्टरले बढी मूल्य लिँदा उत्पादन लागत समेत बढेको थियो ।

पालिका अध्यक्ष राईका अनुसार तोकिएको मूल्य भन्दा बढी रकम असुल गरेको किसानबाट गुनासो आउनसाथ आवश्यक कारबाही गरिने बताउनु भयो । ‘‘हामीले लामो छलफल र वैज्ञानिक रूपमा मूल्य निर्धारण गरेका हौँ’’, उहाँले भन्नुभयो, ‘‘यसको पालना सबैले गर्नुपर्छ र नगरे कारबाही भोग्न तयार हुनुपर्छ ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here