चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो

0
5

काठमाडौँ ।

चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

गान्सुमा १ सय १३ र छिङहाईमा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ ।

चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपत्कालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नि नियन्त्रक पठाइएको आपत्कालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

मंगलवार बेलुका ७ बजेसम्म ७४ जनाको उद्धार गरिएको छ । मङ्गलवार गान्सु र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पबाट प्रभावितलाई आधारभूत आवश्यकता पूरा गर्न १ लाख ३३ हजार ५ सय राहत सामग्री पठाइएको छ ।

भूकम्पले नराम्ररी प्रभावित क्षेत्र जोड्ने सबै ग्रामीण राजमार्गमा साँझ ७ बजेदेखि आवागमन सुचारु गरिएको छ । गान्सु र छिङहाईका सबै द्रुतमार्गहरू साथै राष्ट्रिय र प्रादेशिक ट्रंक सडकहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन् र राहत कर्मचारी, आपूर्ति र सवारी साधनहरू विपद् प्रभावित क्षेत्रमा निर्बाध रूपमा पुग्न सक्ने यातायात मन्त्रालयले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्न पनि प्रयास भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here