स्वदेशकै कमाइले रमाएका युवा

0
7

मध्यविन्दु (नवलपरासी),

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४ देउरालीका लक्ष्य आलेले विदेशबाट फर्किएपछि अहिले कृषि कर्मबाट राम्रो आम्दानी गर्न थाल्नुभएको छ । करिब आठ वर्ष विदेश बसेको अनुभव भएका आले विदेशबाट फर्किएपछि आफ्नो परिवारसँगै बसेर बाख्रापालन तथा अदुवाखेती गरिरनुभएको छ ।

मलेसिया चार वर्ष, कतार तीन वर्ष नौ महिना बसेर फर्कनुभएका आले आफ्नो बुबाले सुरु गरेको ‘हु¥यान बाख्रा फार्म’मा तीन वर्षदेखि काम गर्दैछु । “विदेश नजाने निधो गरी बुबाले सुरु गरेको फार्ममा पूरै समय दिएर लागेको छु”, उहाँले भन्नुभयो, “विदेशको महिनाको लाखभन्दा यहाँको ५० हजारले सन्तुष्टि दिएको छ ।”

अहिले फार्ममा ७० भन्दा धेरै बाख्रा छन् । बाख्रासँगै अदुवा, अम्रिसोको व्यावसायिक खेती पनि गरेको उहाँले बताउनुभयो । परिवारसँगै बसेर बाख्रा पालन, अदुवाखेती र अम्रिसोबाट भएको आम्दानीले खुसी मिलेको आलेको अनुभव छ । “करिब आठ वर्ष विदेशमा धेरै हन्डर खाएँ, वर्षको दुई लाख कमाउन पनि मुस्किल थियो, अहिले परिवारसँगै बसेर तीनदेखि साढे तीन लाखसम्म वर्षमा आम्दानी भएको छ”, उहाँले भन्नुभयो ।

लक्ष्य आलेजस्तै पाँच वर्ष विदेश बसेर आउनुभएका बुलिङटार–४ कै दलबहादुर आले पनि अहिले गाउँमै कृषि कर्ममै रमाउनुभएको छ । वैदेशिक रोजगारी छोडेर गाउँकै माटोमा काम गरेर परिवार चलाउन कस्सिनुभएका दलबहादुरलाई बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले विदेश बिर्साइदियो ।

बिहान सबेरै उठेर घरबाट लगभग ३५ मिनेटको पैदल दूरीमा हु¥यान डाँडामा रहेको आफ्नै बाख्रा फार्ममा श्रीमतीसहित पुग्ने दलबहादुर आलेको दैनिकी यतिबेला कृषिकर्मले भरिएको छ । युएइमा वार्षिक तीन लाख बढी कमाउने दलबहादुरले गाउँ फर्किएर बाख्रापालन, आफ्नै सात रोपनी जमिनमा अदुवाखेती, पाखामा अम्रिसो र केही बोट सुन्तला हुर्काउनुभएको छ ।

“बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले आम्दानी दिन सुरु गरेपछि विदेश नै बिर्सिएको छु”, उहाँले भन्नुभयो, “परिवारसँगै साँझ बिहान घरको खाना खाएर गरेको कृषि कर्मबाट आएको आम्दानीले मलाई आत्मसन्तुष्टि मिलेको छ ।”

बाख्रा फार्ममा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट प्राविधिक सहयोग पाउने गरेको उहाँले बताउनुभयो । “फार्ममा आफ्नो काम आफैँ गर्छु, विदेश बस्दा तीन लाख कमाउँथे, यहाँ त्योभन्दा बढी कमाउँछु, परिवारसँगै बस्दा आत्मसन्तुष्टि धेरै छ”, उहाँले भन्नुभयो ।

देउराली बाख्रा फार्म दर्ता गरेर उहाँले सुरु गरेको व्यावसायिक बाख्रापालनबाट अहिले खोरमा ७० वटा बाख्रा पुगेका छन् । बाख्राबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हँुदै आएको र फार्मलाई अझै बिस्तार गर्ने दलबहादुरको योजना रहेको छ । “यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले एक लाखको हाराहारीमा आम्दानी हुने अनुमान गरेको छु”, उहाँले भन्नुभयो, “सुन्तला र अम्रिसो चाहिँ अलि कम उत्पादन हुन्छ, यो दुवैबाट वर्षको रु ५० हजार आउँछ ।”

लक्ष्य र दलबहादुर जस्तै बुलिङटार गाउँपालिका–४ देउरालीका प्रायः सबै परिवारले अदुवा र अम्रिसोको खेती गरेका छन् । यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले हरेक परिवारले औसतमा ७० देखि ८० हजारसम्म अदुवाबाट आम्दानी गरेको बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेले बताउनुभयो ।

“यातायातको सुविधा भएकाले बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाका लागि व्यापारी गाउँमै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “देउरालीका प्रायः प्रत्येक घरबाट एक जना वैदेशिक रोजगारमा गएको भए पनि लक्ष्य र दलबहादुरको कृषिकर्म अरू युवाका लागि उदाहरण बनेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here