श्रीमान युएईमा अलपत्र परेपछि श्रीमतीद्वारा आत्मदाहको प्रयास

0
7

पार्थ मण्डल,
झापा ।

खाडी मुलुक दुबईमा अलपत्र परेका श्रीमान् अकबर अन्सारीको सकुशल उद्धारका लागि श्रीमती अफ्रुज खातुनले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छिन् । भद्रपुर–८ फूलबारी टोल निवासी खातुनले बिहीबार भद्रपुर नगरपालिका पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।

दुई महिनादेखि दुबईमा बन्दीसरह बसिरहेका श्रीमान् अन्सारीको सकुशल उद्धारका लागि खातुन बिहीबार १० बजे नगर प्रमुख गणेश पोखरेललाई भेट्न उनकै कार्यकक्ष गएकी थिइन् ।

खातुनले नगर प्रमुख पोखरेलसँग कुराकानी गर्दागर्दै एक्कासी सलभित्र लुकाएर ल्याएको पेट्रोलको बोतल खोलेर शरीरमा छर्की हालिन् । त्यसपछि सलाई बाल्नै लाग्दा त्यहाँ उपस्थित कर्मचारीहरूले उनलाई रोके । जसका कारण कुनै अप्रिय घटना हुन पाएन ।

उनले श्रीमानको उद्धारका लागि आत्मदाहको प्रयास गरेको बुझिएको छ । त्यसपछि नगर प्रमुख पोखरेलले उनलाई र उनका परिवारका सदस्यलाई सम्झाइबुझाई घर पठाएका थिए । नगर प्रमुख पोखरेलले केही दिनअघि मात्र अन्सारीकी श्रीमती खातुनलाई भेटेर उनकै मोबाइल फोनबाट अन्सारीसँग गफगाफ गरेको बताए । ‘गफगाफको क्रममा अन्सारीलाई नआत्तिनुहोस्, हामी तपाईँको सकुशल उद्धारका लागि पहल गरिरहेका छौं भनी जानकारी गराएको थिएँ’– नगर प्रमुख पोखरेलले भने ।

तर, अन्सारीसँगै अलपत्र परेका अन्य पाँच जनाको त्यहाँबाट उद्धार भएको र अन्सारी एक्लै त्यहाँ रहेको जानकारी घरमा गराएपछि श्रीमती अत्तालिएर नगरपालिका आएर आत्मदाहको प्रयास गरेको बुझ्नमा आएको उनले बताए ।

अन्सारीको उद्धारका लागि संघीय सांसद विश्वप्रकाश शर्मा समेत लागीपरेको बताउँदै उनले भने– ‘मन्त्रालयमार्फत दुबईको राजदूतावाससँग कुराकानी भइरहेको छ, छिट्टै अन्सारीको त्यहाँबाट सकुशल उद्धार गरिन्छ ।’

भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अन्सारी आर्थिक समस्याका कारण काठमाडौँ धुम्वाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालि म्यानपावरबाट गत असोज २८ गते दुबईको जेबेलअली उडेका थिए । सागर म्यानपावरले फ्री भिसा, फ्री टिकटको समेत धज्जी उडाउँदै अन्सारीसँग १ लाख ७५ हजार रुपैयाँ लिएको बताइन्छ ।

म्यानपावरले उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङमा फिनिसिङ कार्पेन्टर (फर्निचरको काम) ११२० दिरहाम (करिब ४० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने शर्त राखेर पठाएको थियो । तर, दुबई जेबेलअली पुगेपछि उनको काम फरक प¥यो । फिनिसिङ कार्पेन्टरमा पठाएका उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङले त्यहाँ बेल्चा हान्न लगायो ।

लेबरको काम गर्दा उनी ९ दिनमै बिरामी परे । त्यसपछि उनकी श्रीमती खातुन उद्धारका लागि सबै समक्ष हारगुहार गर्न थालिन् । म्यानपावरले अन्सारीको उद्धारका लागि प्लेन भाडा माग्न थालेपछि उनका परिवार झन् समस्या परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here