चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनकाे सुस्त चाल , बुटवल–नारायणघाट सडक कहिले बन्ला ?

0
4

बुटवल ।

सम्झौता अनुरूप काम भएको भए, ठेकेदार कम्पनी र आयोजनाका अधिकारीहरूले सही ढङ्गले जिम्मेवारी पुरा गरेको भए अहिले सम्म बुटवल–नारायणघाट सडक ४ लेनको बनिसक्थ्यो। बस्ती क्षेत्रमा फुटपाथ सहितको ६ लेन र जंगल क्षेत्रमा ४ लेनको फराकिलो सडक यात्रा सुविधा सम्पन्न हुने थियो। तर वास्तविकता फरक छ। बुटवल–नारायणघाट ११३ किलोमिटर सडकको दुर्दशाले यात्रु, सवारी चालक र सडक छेउका स्थानीय हैरान छन्।

बुटवलबाट दुई घण्टामा पुगिने नारायणगढका लागि अहिले ५/६ घण्टा लाग्छ। जतासुकै भत्काएर लथालिङ्ग छोडिएको सडकका खाल्डा खुल्डी, निर्माण सामाग्री र धुलोले बुटवल–नारायणगढको यात्रा निकै कष्टकर बनेको छ।

धुलोले सडक छेउका बस्ती २४ सै घण्टा कुहिरीमण्डल देखिन्छन्। सवारी दुर्घटनाका घटना बढेका छन्। सडककै कारण सवारी साधनहरू छिटै थोत्रिने, पार्टपुर्जाहरू बिग्रने, दुई घण्टाको बाटो पार गर्न ६ घण्टा लाग्दा तेल खर्च बढ्ने समस्या भोग्न यातायात व्यवसायी तथा सवारी धनी बाध्य छन्। निर्माणाधीन सडक क्षेत्रमा कुनै संकेत समेत राखिएको छैन। सामान्य सुरक्षा मापदण्ड नअपनाउँदा त्यसको मारमा सवारी चालक तथा यात्रुहरु परिरहेका छन्।

यो आयोजना सुरु भएयता जुन जुन स्थानमा सडक भत्काइएको छ ती कुनैपनि स्थानमा सडकलाई पूर्ण रूप दिइएको छैन। ठाउँ ठाउँमा भत्काइएको सडकमा अधुरो काम गरी छोडिदिने र फेरी अर्को स्थानमा भत्काउने ठेकेदारको कार्यशैलीले दुर्दशा निम्तिएको हो।

बुटवल–नारायणघाट १ सय १३ किलोमिटर सडकलाई ४ लेनमा स्तरोन्नति गर्न २०७५ पौष ४ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससीईसी) सँग ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीले २०७५ को माघ २४ गते देखि काम सुरु गरी २०७९ को साउन २२ गते सडक निर्माण सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख छ। तर साढे तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको सडकको काम पाँच वर्षमा आधा पनि सकिएको छैन।

यो आयोजनामा बुटवल राजमार्ग चौराह देखि दाउन्ने सम्मको ४८.५८ किलोमिटर र दाउन्ने देखि गैँडाकोट (नारायणघाट) सम्मको ६४.४२ किलोमिटरका दुई वटा प्याकेज छन्। दुई वटा प्याकेज मध्ये बुटवल–दाउन्ने पश्चिम खण्डको कार्य प्रगति जम्मा ३९.७२ प्रतिशत छ भने दाउन्ने–नारायणघाट पूर्वी खण्डको भौतिक प्रगति ४३.३५ प्रतिशत छ।

पहिलो सम्झौता अनुरूप निर्धारित समयमा एक चौथाइ पनि काम नभएपछि गत भदौमा एक वर्षको म्याद थप गरिएको छ। थप म्याद अनुरूप सन २०२४ को जुलाईमा अर्थात् २०८१ को साउनमा आयोजना सम्पन्न गर्नु पर्ने छ। तर दोस्रो पटक थपिएको म्यादमा पनि अब जम्मा ७ महिना बाँकी छ। पाँच वर्षमा ४० प्रतिशतको हाराहारीमा काम गर्ने ठेकेदारको कार्यशैली हेर्दा अबको ७ महिनामा ६० प्रतिशत काम सकेर चमत्कार नै गर्ला भनेर आसा गर्ने ठाउँ देखिँदैन।

दोस्रो पटक थप गरिएको समयमा बाँकी काम सकिनेमा आयोजनाकै अधिकारीहरु पनि आशावादी छैनन्। बुटवल–नारायणघाट ४ लेन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख शशाङ्क मिश्रले यसअघि निर्माण सामाग्रीको अभाव, पूर्व तयारीमै ढिलाइ, कोभिड, आर्थिक मन्दी आदीले निर्माणमा ढिलाइ भएको बताए।

विशेष गरी निर्माण सामाग्रीको अभाव हुँदा कामले गति लिन नसके पनि पछिल्लो समयमा केही स्थानीय तहहरुले सहज आपूर्तिकालागि पहल भइरहेको उनले जानकारी दिए। ‘यसअघि स्थानीय तहहरुले निर्माण सामाग्री उपलब्ध गराउन आनाकानी गरिदिँदा समस्या सिर्जना भएको थियो तर अहिले केही स्थानीय तहहरुले निर्माण सामाग्री उपलब्ध गराउन थालेका छन्, केहीले आश्वासन दिएका छन् त्यसमा हामीले सहजीकरण गरिरहेका छौं, निर्माण सामाग्रीको पर्याप्त आपूर्ति भयो भने निर्माणले पनि गति लिनेछ’ आयोजना प्रमुख मिश्रले भने।

निर्माण सामाग्रीको सहजताका कारण सडक निर्माणले गति लिए पनि दोस्रो पटक थप गरिएको समय सीमा भित्र आयोजना सम्पन्न हुनेमा भने ढुक्क हुन नसकिने मिश्रले बताए। ‘सुरु देखी नै आयोजनाको काममा यो वा त्यो कारणले ढिलाइ हुँदै आएकाले अबको ७/८ महिनामा मै निर्माण सकिन्छ भनेर किटान गर्न पनि अलि गाह्रो छ’ मिश्रले भने।

आयोजनाको दाउन्ने–नारायणघाट अर्थात् पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले पनि सुरु देखि नै आयोजनाको कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै अबको ७ महिनामा आयोजना पुरा हुनेमा आशङ्का व्यक्त गरे। ‘पछिल्लो कार्य प्रगतिलाई हेर्दा थप समयमा आयोजना पूर्ण रूपमै सम्पन्न हुन्छ भन्न सक्ने स्थिति नरहे पनि सवारी आवागमन सहज हुने गरी दुई लेन कालोपत्रे गर्नु पर्छ भनेर जोड दिइरहेका छौं’ इन्जिनियर खनालले भने।

यो सडक जंगल क्षेत्रमा ४ लेन र बस्ती क्षेत्रमा सर्भिस लेन सहित ६ लेनमा स्तरोन्नति हुनेछ। दाउन्नेको उकालोमा ३ लेन बनाइने छ। एसियाली विकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोडको लागतमा यो सडक निर्माण हुन लागेको हो। यो आयोजना अन्तरगत अहिले सम्म पश्चिम खण्डमा जम्मा १७ किलोमिटर सडक कालोपत्रे भएको छ।

यो खण्डमा अहिले सम्म १६ वटा साना पुल र ३ वटा ठुला पुल तयार भएको आयोजनाका सूचना अधिकारी सुशान श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाल सम्म १६७ वटा कल्भर्ट तयार भएका छन्। ६ वटा ठुला पुल, ४ वटा साना पुल र २४७ वटा कल्भर्ट निर्माणाधीन रहेको श्रेष्ठले बताए।

पूर्व खण्डमा हाल सम्म जम्मा १८ किलोमिटर कालोपत्रे भएको छ। ठुला ३ वटा र साना २१ वटा निर्माण सकिएका छन्, कल्भर्ट १२५ वटा सम्पन्न भएको छ। यो खण्डमा ठुला पुल ९ वटा, साना १ वटा र कल्भर्ट ९० वटा निर्माण गर्न बाँकी नै छन्। बाँकी रहेका पुल र कल्भर्ट अधिकांश निर्माणाधीन रहेको पूर्व खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here