युक्रेन युद्धबाट मुनाफा कमाइरहेको चीन अहिले आफ्नो स्वार्थमा

0
5

एजेन्सी ।

रुससँग चीनको व्यापार यस वर्ष दुई सय अर्ब डलर नाघेको छ, कार तथा ट्रक निर्माता सबैभन्दा ठूला विजेता देखिएका छन्

रुसको बर्फिलो सिमानासँग जोडिएको चिनियाँ सहर हेइहेमा एक ट्रक डिलरको गत वर्ष बिक्री दोब्बरले बढ्यो । कारण थियो, दिन–प्रतिदिन बढिरहेका रुसी ग्राहक । अहिले रुसतर्फको चीनको निर्यात यति बलियो बनेको छ कि चिनियाँ घर बनाउने श्रमिकलाई भ्याई–नभ्याई छ । हेइहेमा ग्रीष्मभरमा कैयौँ गोदाम र २० तलेसम्मका कार्यालय टावर निर्माण गरिए । हेइहे खासमा चीनको रुससँग बढ्दो आर्थिक सम्बन्धको एक प्रतिनिधि हो ।

सैन्य प्रदर्शनले ताईवान् को निर्वाचनमा आफ्नो प्रभाव देखाउदै चीन
युक्रेन युद्धपछि चीन–रुसबीचको व्यापार बढेको छ । युद्धपछि रुसले पश्चिमबाट किन्दै आएको कारदेखि कम्प्युटर चिप्ससम्म चीनबाट किन्न सुरु गर्यो । बदलामा रुसले चीनलाई तेल र प्राकृतिक ग्यास बेचिरहेको छ, त्यो पनि छुटमा । रुसी चकलेट, ससेज र अन्य उपभोग्य सामान चिनियाँ सुपरमार्केटमा उलेख्य देखिन थालेका छन् । यो वर्षको पहिलो ११ महिनामा चीन र रुसबीचको व्यापारले २०० अर्ब डलर नाघ्यो ।

युद्ध सुरु हुनुअघि दुई देशले यो परिणामको व्यापार सन् ०२४ सम्म हुने अपेक्षा गरेका थिएनन् । युक्रेनमा रुसी युद्ध सुरु भएपछि चीनमा रुसको छवि सुधारिएको छ । सामाजिक सञ्जालमा रुसप्रतिको समर्थन उच्च देखिन्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विभिन्न अवसरमा उनीहरूका देशबीचको घनिष्टताको प्रदर्शन गरिरहेका छन् । सीले सेप्टेम्बरमा हार्बिनको भ्रमण गरेर हेइलङजियाङलाई चीनको ‘उत्तरको गेट’को संज्ञा दिए । यो वर्षको पहिलो ११ महिनामा चीनले रुसलाई गर्ने निर्यात युक्रेनको आक्रमणअघि सन् २०२१ को सोही अवधिको तुलनामा ६९ प्रतिशतले बढेको छ ।

‘चीन–रुस सम्बन्धको विकास तथा संवद्र्धन दुई पक्षले आफ्ना नागरिकका प्रमुख चाखको आधारमा लिएको रणनीतिक छनोट हो,’ डिसेम्बर २० मा रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तीसँग बेइजिङमा भेटवार्तापछि सीले भने । युक्रेन आक्रमणपछि अधिकांश युरोपेली तथा अमेरिकी कम्पनीले रुससँगको व्यापार तोडेपछि रुसको अत्यावश्यक आवश्यकता चीनले पूरा गरिरहेको छ । चीनले रुससँगको व्यापार गर्दा युरोपेली देशसँगको घनिष्ट आर्थिक सम्बन्ध बिग्रिने जोखिमबीच पनि आपूर्तिलाई निरन्तरता दिएको छ ।

युक्रेन आक्रमणअघि जर्मनी, फ्रान्स र अन्य युरोपेली देशले चीनको मानवअधिकारको मुद्दालाई बेवास्ता गर्दै व्यापारलाई महत्व दिने गर्थे । अब उनीहरूका लागि चीनको रुससँगको घनिष्टता अर्को मुद्दा थपिएको छ । चिनियाँ अधिकारी भने आफूहरूलाई युरोप र रुसमध्ये एउटा चुन्न दबाब दिन नहुने र दुवैसँग व्यापार गर्न स्वतन्त्र हुनुपर्ने जोड दिन्छन् ।

चीन–रुस व्यापार वृद्धिको सबैभन्दा ठूलो विजेता वाहन निर्माता बनेका छन् । हेइहेमा हालै एक साँझ, डिजेलबाट चल्ने ढुवानी ट्रकको लामो लाइन रुस–चीन सिमानाको काम गर्ने अमुर नदीमाथिको पुलमा पालो पर्खिरहेका थियो । पुल नयाँ हो र त्यसमाथिको वाहन पनि नयाँ नै हुन् । ट्रकमा गेनलिओन ब्रान्डको ब्याज लागेका थिए, जुन ब्रान्ड सरकारी स्वामित्वको सांघाई अटोमोटिभ इन्डस्ट्रिज कर्पाेरेसन (एसएआइसी)ले बनाउँछ । एसएआइसी त्यही कम्पनी हो, जसले बेलायती कम्पनीबाट स्वामित्वमा लिएर ‘एमजी’ नामक चर्चित ब्रान्ड बनाउँदै आएको छ । चीनको वाहन उद्योग यही वर्ष जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो कार निर्यातक मुलुक बनेको छ ।

यसमा रुसमा बढेको बिक्रीको पनि योगदान छ । युद्धअघि जर्मनीका कार निर्माता मर्सिडिज–बेन्च र बिएमडब्लूले रुसमा राम्रो परिणाममा कार बेच्थे । युरोप, अमेरिका र उसका साझेदार मुलुकले प्रतिबन्ध लगाएपछि ती कम्पनीको बिक्री रोक्न बाध्य भए । युरोपेली महँगा विलासी कारको व्यापार खुम्चिए पनि रुसमा निम्नमध्यवर्ग र निम्नवर्गका परिवारले किन्न सक्ने सस्तो चिनियाँ कारको खरिद बढेको कार्नेगी रसिया युरेसियाका निर्देशक एलेक्जान्डर गबुएभले भने ।

भूमि जोडिएका चिनियाँ कारहरू सजिलै रेलमार्गबाट रुस पुग्छन् । ग्लोबलडाटा अटोमोटिभको तथ्यांकअनुसार अहिले रुसी बजारको ५५ प्रतिशत हिस्सा चिनियाँ कारनिर्माताले ओगटेका छन् । जबकि सन् २०२१ मा यो हिस्सा आठ प्रतिशत मात्र थियो । ‘इतिहासमा कहिल्यै पनि यति ठूलो बजार हिस्सा यति छिटै एउटै देशको कार निर्माताले ओगटेको देखिएको थिएन,’ सान डियागोका एसिया वाहन कन्सल्ट्यान्ट माइकल ड्युनले भने ।

युक्रेन युद्धमा रुसलाई हातहतियार दिए गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकाले चीनलाई चेतावनी दिएको छ । र, हालसम्म त्यस्तो सहयोगको कुनै प्रमाण अमेरिकाले देखाउन सकेको छैन । तथापि चीनले रुसलाई बेचिरहेको ड्रोन र ट्रकजस्ता नागरिक प्रयोजनका उपकरण सैन्य काममा उपभोग गर्न नसकिने होइन । यसमा अमेरिकाले गुनासो गरेको छैन ।

बेइजिङ र रुसबीचको घनिष्टताले चीनको सुस्ताएको निर्माण क्षेत्रमा केही सहायता प्रदान गरेको छ । चिनियाँ अर्थतन्त्र तीन वर्षसम्म लागू कठोर ‘शून्य कोभिड’ नीतिको असरबाट राम्ररी तंग्रिसकेको छैन । देशभरका घरजग्गा कारोबार संकटमा छन् । ग्राहक नपाएर करोडौँ अपार्टमेन्ट या खाली छन्, या ग्राहक नपाउने डरमा बन्दाबन्दै रोकिएका छन् । निर्माण क्षेत्रको काम सुस्त हँुदा यस क्षेत्रमा संलग्न ठूलो रोजगारी प्रभावित छ ।

घरबार कारोबार सुस्त भएपछि केही बेरोजगार श्रमिकले चार हजार २०९ किमि लामो चीन–रुस सीमाक्षेत्रमा काम पाएका छन् । छोटो समयमै ट्रक जाँचपास केन्द्र, भन्सार प्रोसेसिङ केन्द्र, रेल यार्ड, पाइपलाइन्स र अन्य पूर्वाधार बने । गर्मी महिनामा तीव्र गतिमा बढेको निर्माणको काम जाडोमा अहिले सुस्ताएको छ । पूर्वाधारमध्ये पाइपलाइनले दुई देशबीच हुने व्यापारको सबैभन्दा महत्वपूर्णमध्ये एक ऊर्जालाई ओसारपसार गर्छ ।

पश्चिमले लगाएको कठोर प्रतिबन्धलाई बाइपास गर्दै किनिएको सस्तो रुसी ऊर्जाले विश्वबजारमा चिनियाँ उद्योगलाई प्रतिस्पर्धी बन्न सघाएको छ । विशेषतः जर्मनका उद्योगले पछिल्ला दुई वर्षको उच्च ऊर्जा खर्चका कारण संघर्ष गरिरहँदा ती उद्योगका उत्पादन चिनियाँ प्रतिद्वन्द्वीसँग पछि परेका छन् । रुसबाट चीन इन्धन ल्याउने पाइपलाइन ‘पावर अफ साइबेरिया’बाट रुसले अहिले प्राकृतिक ग्यासको ढुवानी बढाएको छ । युक्रेनयुद्धअघि युरोपतर्फ लाने ग्यास क्षेत्रका उत्पादनलाई चीनतर्फ मोड्ने गरी नयाँ पाइपलाइनको निर्माण सम्बन्धमा छलफल भइरहेको छ ।

युक्रेन युद्ध सुरु हुनुभन्दा करिब तीन हप्ताअघि मात्र चीन र रुसबीच तेस्रो पाइपलाइन निर्माण गर्ने सहमति भएको थियो । बाँकीको तुलनामा केही सानो यो पाइपलाइनले रुसको सुदूरपूर्वी भागबाट चीनको उत्तरपूर्वी भागमा ग्यास ल्याउनेछ । सो परियोजनाको निर्माणकार्य तीव्रतासाथ अघि बढिरहेको छ । नयाँ पाइपलाइन रुसले सन् १८५० को दशकमा चीनबाट कब्जा लिएर कहिल्यै फिर्ता नगरेको क्षेत्र हँुदै अघि बढ्छ । सन् १९६० को दशकसम्म चीन र सोभियत संघ अमुर नदीमा सिमाना विवादलाई लिएर युद्ध नै लडेका थिए । आज रुस र चीन सो नदी पार गर्ने पुल र पाइपलाइन बनाइरहेका छन् ।- न्युयोर्क टाइम्सबाट नयाँ पत्रीकामा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here