हलुवागढ सामुदायिक वनको २४ औं सभा सम्पन्न

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको २४औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष देउनारायण राईको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र बस्नेतले गरेका थिए ।

सभामा समूहका अध्यक्ष राईले गत आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष ०८०÷०८१को हालसम्मको प्रगति प्रतिवेदनसहित अनुमानित बजेट, नीति तथा कार्यक्रम तथा सचिव ओम तोलाङ्गीले गत आर्थिक वर्षको महालेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गत आर्थिक वर्षमा १५ लाख ९२ हजार आठ सय ३७ रुपैयाँ ५५ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित दुई करोड १४ लाख ४३ हजार तीन सय ४१ रुपैयाँको बजेट सभामा पेश गरिएको थियो ।

जसअनुसार प्रशासनिक खर्चतर्फ ४२ लाख ८८ हजार छ सय ६८ रुपैयाँ दुई पैसा, वन विकास खर्चतर्फ ५३ लाख ६० हजार आठ सय ३५ रुपैयाँ २५ पैसा, गरिबी न्यूनिकरणतर्फ ७५ लाख २० हजार दुई सय ८५ रुपैयाँ २५ पैसा, सामाजिक विकासतर्फ ४२ लाख ८८ हजार छ सय ६८ रुपैयाँ दुई पैसा विनियोजन गरिएको छ ।

सभामा वडा सदस्य मदन लिमेल मगर, नेकपा एमाले पार्टीका प्रतिनिधि श्रीप्रसाद नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि रंगलाल मिश्र, सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजाल, भीमले आधारभूत विद्यालयका प्रधानाध्यापक डम्बर प्याकुरेल, लेखा समितिका संयोजक टंक बराल, सल्लाहकार समितिका संयोजक लीला आचार्य, पूर्व अध्यक्ष चक्र तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समूहकी उपाध्यक्ष बुद्धकला फूँयेल ढकालले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव तोलाङ्गी र सदस्य युवराज आचार्यले संयुक्तरुपमा गरेका थिए ।

सोही सभाको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनहरुसँगै जंगलमा भएको ढलापडा रुखहरु संकलन गर्ने, उपभोक्ताहरुको काठ माग, सडिएर रहेका काठको मूल्याङ्कन गर्ने, बिक्री आदेश माग गर्ने, चिरान काठ बिक्री वितरण गर्नेलगायतका विषयमा छलफल भएको सचिव तोलाङ्गीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here