सहाराको विश्वास परियोजना पछाडि परेका समुदायको स्वास्थ्य सुधार्दै

0
9

झापा ।

झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाले पछाडि परेका समुदायको स्वास्थ्य सुधार गर्दै आएको छ ।

परियोजनाले तीन जिल्लाका २५ वटा पालिकामा पछाडि परेका समुदायका लागि स्वास्थ्य सुधारका लागि कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको हो । फेयरमेड फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित विश्वास परियोजनाले बुधबार उपेक्षित तथा उष्ण प्रदेशीय रोड, मातृशिशु स्यहार र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सुधारमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेर हालसम्म गरेको कार्य विवरणको जानकारी दिएको हो । दुई वर्षअघि शुरु भएको परियोजनाले तीन वटा जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

चेतनाको कमीले अझै पनि रोगहरु लुकाउने प्रचलन रहेकाले रोगीको संख्या न्यूनीकरण हुन नसकेको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरी बताए । सञ्चारकर्मीले सचेतना अभिबृद्धि गर्ने खालको काम गर्नुपर्नेमा उनले जोड दिए । परियोजनाले सञ्चारकर्मीहरुलाई पनि उक्त परियोजनामा जोडिएर उपेक्षित उष्णप्रदेशीय रोगको उजागर गर्न उनले आग्रह गरे ।

झापाका १० पालिका, मोरङको ७ र सुनसरीका ८ वटा पालिकामा उपेक्षित उष्णप्रदेशीय रोगहरुका विषयमा पछाडि परेका समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दै आएको परियोजनाका संयोजक पवनकुमार राईले जाकारी दिए । उपेक्षित उष्णप्रदेशीय रोगहरुमध्ये कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेंगी र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबिज, लुतो, फिते जुका र खस्रे रोगको क्षेत्रमा परियोजना केन्द्रित रहेको उनले बताए ।

मुख्यरुपमा झापाको बाह्रदशी, झापा गापा, हल्दिबारी, गौरीगञ्ज, कचनवकल, गौरादह, कनकाई, बिर्तामोड, भद्रपुर र मेचीनगरलाई केन्द्रित गरेर परियोजनाले काम गरिरहेको जनाइएको छ । उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम भएको क्षेत्रमा सचेनामूलक कार्यक्रम, स्थानीय स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिहरुको क्षमता अभिबृद्धि, विद्यालयहरुमा सचेतना, मातृशिशु स्वास्थ्य सम्बन्धी काम, स्वाथ्यकर्मीलाई तालिम लगायतका काम गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

परियोजनाले झापाका ४२७ जना स्वास्थ्यकर्मीलाई तालिम, ३५४ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई तालिम, ८ जना स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम, ७ वटा प्रसूती गृह शुद्धीकरण तथा व्यवस्थापनमा सहयोग, डेंगु नियन्त्रण महत्वपूर्ण भूमिका, ६ जना नर्सिङ कर्मचारीलाई तालिम, २० वटा सामुदायिक विद्यालयमा सरसफाइ कर्नर स्थापना, कुष्ठरोगी र हात्तीपाइले प्रभावितहरुलाई सहायक सामग्री र सात जनालाई १२ हजार रुपैयाँका दरले आत्मनिर्भर बन्न वीऊ पुँजी प्रदान लगायतको काम गरेको सहारा नेपालका फोकल पर्सन मात्रिका सुवेदीले जानकारी दिए ।

परियोजनाको प्रतिफल देखिन ४÷५ वर्ष लाग्ने भएकाले क्रमशः प्रतिफल आइरहेको उनको भनाइ छ । मानिसमा सचेतनाको कमी हुँदा उपेक्षित उष्णप्रदेशीय रोग न्यूनीकरणमा समस्या देखिएको उनले बताए । परियोजना सञ्चालनमा आएपछि झापा गाउँपालिकामा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्या बढेको कार्यक्रम संयोजक राईले बताए । उनका अनुसार गतवर्ष ९ जनाले स्वास्थ्य संस्थामा प्रसूति गराएको चालू आवको चार महिनामा ३४ जनाले प्रसूति सेवा लिएका छन् ।

सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा भएको अन्तरक्रियामा औचित्यमाथि सचिव गिरीले प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी लगायतले विभिन्न सुझाव राखेका थिए । कोषाध्यक्ष श्यामकुमार प्रधान लगायतको उपस्थित थियो ।

२०५१ सालमा स्थापना भएको सहारा नेपालले स्वास्थ्य, शिक्षा, कृषि, सशक्तीकरण, ऊर्जा तथा वातावरण लगायतका क्षेत्रमा काम गर्दै आएको संस्थाका सचिव गिरीले बताए । सामाजिक रुपान्तरणका लागि विकास भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले ३५ दातृ निकायबाट ६५ वटा परियोजना सफलता पूर्व सम्पन्न गरिसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here