पहिलो भेट नै अन्तिम भेट

0
5

२०६१ सालतिरको कुरा हो । त्यतिबेला हामी सबैको हातमा मोबाइल परिसकेको थिएन । ल्याण्ड लाइनबाट फोन गरेर उहाँले मलाई आउनु भनेर बोलाएपछि म उहाँलाई भेट्न भनेर उहाँको घर गएको थिएँ । मलाई उहाँसँग पहिलेदेखि एक पटक भेट्न खुब मन थियो । मौका मिलेपछि एकदिन जाउँला भन्दै थिएँ, मौका मिल्यो । उहाँले चावहिल चोकमा बसबाट ओर्लेर यसरी आउनु यहाँनिर रातो रङको एक तले घर छ । म बस्ने घर त्यही हो भन्नुभयो । म स्नातकोत्तर तहमा अध्ययनरत् थिएँ । थेसीस वर्ष चल्दै थियो । बिहानको १० बजेतिर खाना खाएर किर्तिपुरबाट बाटो लागेँ । बसबाट चावहिल चोकमा ओर्लेर उहाँले दिनुभएको लोकेशन अनुसार हिँडे ।

कता के भयो । हिँड्दाहिँड्दै मैले बाटो बिराएँ । निकैबेर म त्यहीँ उहाँको घर वरिपरिका गल्ली वरपर, यताउता गरिरहे । घर नभेट्टाएपछि अवाक भएर म फर्कन लागेको थिएँ । अलि वर आएर गैरीगाउँको एउटा पत्रिका पसलमा सोधौँ न त अनि पनि पत्ता नलागे फर्कौला भन्ने लाग्यो । त्यहाँ सोध्दा पो पसलेलाई थाहा रहेछ । उनलाई सोध्दा थाहा भयो । म उहाँको घर नजिकै पुगेर फर्केंछु । एक जना लेखक भवानी घिमिरेको घर चाहिँ यहाँनिर छ भनेर उनले देखाइ दिए । यो मेन बाटो नछोडी जानुभयो भने पाँच मिनेटमा ठ्याक्कै तपाइँ भवानी घिमिरे सरको घरैमा पुग्नुहुन्छ । यहीँ अलिकति पर्तिर हो भने । यति बाटो त आएँ अब पाँच मिनेटमा पुगिन्छ भने किन नपुगी फर्कने ? भनेर म फेरि फर्केर उतैतिर लागेँ । ती पसले दाइले भने जसरी पाँच मिनेटपछि त होइन । १० मिनेट जतिमा नभन्दै म उहाँको घर पुगेँ ।

भवानी घिमिरे दाइसँगको यो मेरो पहिलो भेट थियो । मैले सोचेभन्दा फरक उहाँ त बडो मजाको मानिस पो हुनुहुँदोरहेछ । सबै साहित्यकार यस्ता हुँदैनन् । पहिलो भेट मै उहाँले मलाई यति आकर्षित गर्नुभो कि जसको कारण मैले जीवनभरि उहाँलाई भुल्न नसकौँ । उहाँले मेरो कामको बारेमा पनि सोध्नुभयो । मैले थेसीस गर्दैछु । अब थेसीस सँगसँगै काम पनि खोजेर गर्नुपर्ला दाइ । काम नगरी त गाह्रो रहेछ काठमाडौँमा । खोज्दै पनि छु । पाइराखेको छैन भनेपछि उहाँले ल त्यसो भए म पनि एक–दुई ठाउँमा बुझि दिन्छु । काम त खोजेर गर्नुपर्छ । कतै भएन भने मैसँग भए पनि काम गर्नुपर्छ । यस्तै पत्रपत्रिका सम्बन्धी काम । उहाँलाई भन्न मात्र त्यति भनेको हुँ मैले तर म कामको खोजीमा भौतारिइ रहेको थिएँ ।

त्यतिबेला पनि उहाँ भानु मासिक साहित्यिक पत्रिका निकाल्नुहुन्थ्यो । अलि–अलि भए पनि खर्च आउँछ । अन्त काम नपाउन्जेलसम्म मसँगै काम गर्नु भन्नु पनि मेरो विद्यार्थी जीवनका लागि सानो कुरा थिएन । अध्ययनको क्रममा काठमाडौँ बस्दा मलाई यसो भन्ने व्यक्ति डा.वासुदेव त्रिपाठी र भवानी दाइ मात्र हो । उहाँ एक आशावादी र साँच्चो देशभक्ति पूर्ण भावना भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँ मलाई साहित्यमा अघि बढ्न प्रेरणा प्रदान गर्ने एउटा अग्रज व्यक्तित्व पनि हुनुहुन्थ्यो । एकैछिनमा भाउजुले खाजा बनाएर ल्याउनुभयो । दाइले भानुका केही पुराना र नयाँ अङ्क ल्याएर दिनुभयो । मैले तिनलाई समालेँ । निकैबेरको बातचितपछि पुनः आउँदै गर्ने बचनका साथ म विदा भएर किर्तिपुर फर्किएँ ।

म २०६२ साल बैशाक १ गते इजरायलतिर हानिएँ । यो मेरो बाध्यता र विवशता पनि थियो । त्यसपछि केही समय म गुमनाम जस्तै भएँ । चार वर्षपछि २०६६ सालमा म ४५ दिनको छुट्टी लिएर नेपाल आएँ । त्यतिबेला पनि मलाई उहाँलाई भेटेर मात्र फर्कने मोह जाग्यो । छोटो समयका बाबजुत पनि पुनः म उहाँलाई भेट्न भनेर उहाँको घर गएँ । पहिलो पटक त मेरो आगमनका लागि दाइ आफैँ घरबाट बाहिर निस्कनु भएको थियो । यो पटक भने उहाँ नभई भाउजु बाहिर निस्कनुभयो । म भाउजुलाई देख्ने बित्तिकै छाँगाबाट खसे जस्तो भएँ । यो कुनै भ्रम थिएन । मैले आँखा मिचेँ । मुटुको ढुकढुकी बढ्यो । भाउजु सेतो पहिरनमा हुनुहुन्थ्यो ।

उहाँले आँखाबाट आँशु झार्दै दाजु त बित्नु भयो नि नानी । एक वर्ष पो हुन आँट्यो त भन्नुभयो । म किकर्तव्य विमूढ भएँ । लाग्यो पहिलो भेट नै मेरो उहाँसँगको अन्तिम भेट रहेछ । केही बेरको सन्नाटापछि उहाँले वार्षिकीमा भवानी विषेशाङ्क निकाल्ने कुरा छ । केही लेखेर पठाइदिनु होला भन्दै केही भानुका पुराना तथा नयाँ अङ्क एकजना भाइलाई खोज्न लाएर मेरा हातमा थमाउनु भयो । मेरो व्यस्तताका कारण भनौँ कि बाध्यताका कारण । तत्काल मैले विषेशाङ्कका लागि रचना दिन सकिनँ । म केही दिनमै इजरायल फर्किएँ । जीवनमा असम्भव जस्तो लाग्ने कुरामा पनि सकरात्मक सोचका साथ मानिसले सधैँ आशावादी हुनुपर्छ भन्ने पाठ मैले भवानी घिमिरे दाइबाट सिकेँ । उहाँ कम बोले पनि मानिसलाई सधैँ आशावादी हुन सिकाउने एक स्पष्ट व्यक्ति हुनुहुन्थ्यो । म जीवनका हरेक असम्भव जस्तो लाग्ने कुरामा आशावादी हुनुभन्दा पहिले अझै पनि उहाँलाई सम्झने गर्छु ।

आज उहाँ बितेको ११ वर्षपछि यो कोरोना माहामारीको बेला पनि उहाँको सम्झनाले मलाई घचघच्याइ रहेकोले मैले उहाँको बारेमा केही लेख्ने मौका पाएँ । यो भन्दा अघिदेखि नै मैले उहाँको बारेमा केही लेख्न सोचिरहेको थिएँ । उहाँको साहित्यिक व्यक्तित्व त मैले यहाँ जसरी र जति उल्लेख गरे पनि कमि नै हुन्छ । अभावका हरेक उबड–खाबडका बीच पनि जीवनभरि नै साहित्यमा समर्पित हुनु र भानु साहित्यिक मासिक जस्तो पत्रिकाको सम्पादन र प्रकाशन त्यतिका लामो समयदेखि निरन्तर गरिरहनु सित्तिमित्ति कुरा होइन ।

आफू मात्र नभएर आफू जस्ता पुराना तथा नयाँ सर्जकहरूलाई पनि मञ्च खडा गरिदिनु त्यो बेलाको पनि चानचुने कुरा थिएन । मलाई उहाँको घत लागेको कुरा । उहाँ पहिलो भेटमै हरेकलाई आफ्ना इच्छा र आकांक्षामा सधैँ आशावादी हुन र सकारात्मक सोचका साथ अघि बढ्न सिकाउने, जीवनको एक परिपक्व व्यक्तित्व हुनुहुन्थ्यो । अझ भनौँ भवानी दाइ आर्थिकरूपले कमजोर भए पनि उहाँ सादा जीवन र उच्च विचारको धनी व्यक्तित्व पनि हुनुहुन्थ्यो । विदा भएर फर्कने बेलामा भाउजुले आउँदै गर्नुहोला नानी दाजु बिते पनि हामीले भानुलाई निरन्तरता दिने विचार गरेका छौँ । हेरौँ, कस्तो हुन्छ भन्नुभयो । हुन्छ भनेर म फर्किएँ । कहिले के । कहिले के । त्यसपछि फेरि म फर्केर जान पाएको छैन । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै बन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here